काठमाडौं– फागुन २५ मा हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यलयले बुधबार मतदाता नामावाली सार्वजनिक गरेको छ। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) तथा ७ वटै प्रदेश सभाका सदस्यहरु मतदाता रहने संवैधानिक व्यवस्था छ। जसअनुसार संघीय संसद्का ३३४ र प्रदेश संसद्का ५५० जना सदस्य मतादाताको रुपमा कायम भएका छन्। प्रतिनिधि र राष्ट्रिय सभामा कायम हुने कुल ३३४ सदस्य संख्यामध्ये ३ जना नाम मतदाताको नामावलीबाट हटेको छ।
जसमा नगरिकता प्रकरणबाट पद मुक्त भएका रवि लामिछाने, भ्रष्टाचार मुद्दाको अभियुक्त भएपछि निलम्बनमा परेका नेपाली कांग्रेसका टेक बहादुर गुरुङ र एक फौजदारी मुद्दाका कारण निलम्बनमा परेका लक्ष्मण चौधरीको नाम मतदाता नामावलीमा छैन। तर चौधरीले भने प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट माफी पाइसकेका छन्।
प्रहरीको फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको भने मतदाता नामावलीमा नाम समावेश भएको छ। कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्। उनीविरुद्ध मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई थुतेर हत्या गरेको आरोप छ।
यता, निर्वाचन आयोगले भने सांसद कोइरी निलम्बनमा नपरेकोले मतदाता नामावालीमा नाम रहेको बताएको छ। संघीय संसद्ले दिएको सूचीअनुसार नामावली सार्वजनिक गरेको आयोगले बताएको छ। त्यसउपर उजुरी आएमा आवश्यक प्रक्रिया अघि बढाइने आयोगका एक अधिकारीले नेपाल लाइभलाई जानकारी दिए।
त्यस्तै, सांसद चौधरीको हकमा संघीय संसद् सचिवालयसँग छलफल भइरहेकोले त्यसमा पनि आवश्यक निर्णय गरिने आयोगले बताएको छ। यस्तै, सांसद लक्ष्मण चौधरीले पनि आफू मतदाता रहेको भनेर दाबी गर्न पाउने भएकोले त्यस्तो निवेदन आएमा त्यसमा पनि उचित निर्णय हुने आयोगले जनाएको छ।
आयोगले सार्वजनिक गरेको मतदाता नामावलीउपर फागुन १२ गते दिउँदोसम्म उजुरी दिन पाउने समयसीमा छ। आयोगले सोही दिन अन्तिम नामालवी सार्वजनिक गर्ने कार्यतालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।