भिटामिन बी१२ के हो?
हामीले मासु, माछा, अण्डा र दूधबाट भिटामिन बी१२ लिन्छौँ। यो हाम्रो कलेजोमा गएर बस्छ। यसले शरीरको पाचन प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छ। प्रोटिन बनाउनमा पनि यसको भूमिका हुन्छ। कार्बोहाइड्रेट र फ्याट पचाउनमा पनि यो भिटामिनको आवश्यकता हुन्छ। यी सँगसँगै न्युरो मस्कुलरलाई चुस्त र दुरुस्त राख्नमा पनि भिटामिन बी१२ को आवश्यक हुन्छ।
कस्ता लक्षण देखिएमा यसको जाँच गर्ने?
-छिटो थकाई लाग्ने
-जाँगर नआउने
-अलिकति हिडें पनि धेरै स्वाँस्वाँ हुने
-साँझ टाउको दुख्ने
-मान्छे भेट्दा झर्को लाग्ने
-सानो कुरामा रिस उठ्ने
-मुटुको ढुकढुकी बढे जस्तो हुने
-खान मन नलाग्ने
-तौल घट्ने
-मुखको वरिपरि या जिब्रोमा घाउ आई रहने
-आँखाको पावर बढ्दै जाने
-डिप्रेसन/एन्जाइटी
-कुराहरु सम्झिन नसक्ने
यो टेस्ट गराउँदा के-के कुरामा ध्यान दिने?
१० देखी १२ घण्टा खाली पेट हुनै पर्छ।
१२ घण्टा यता ट्याब्लेटमा पाइने भिटामिन ‘सी’ र मद्यपान सेवन गर्नु हुदैंन।
ल्याबमा आएपछि रगतको जाँच हुन्छ। रिपोर्ट आई सके पछि यदि तपाईँमा भिटामिन बी१२ कमी रहेछ भने खाने औषधि पनि हुन्छ र इन्जेक्सन पनि हुन्छ।
भिटामिन बी१२ के कारणले बढ्छ?
हुन् त शरीरमा भिटामिनहरू धेरै भए पनि केही बिगार गर्दैन भनिन्छ। तर कुनै पनि कुरा धेरै भएको राम्रो पनि होईन्। विदेशमा परिवारका सदस्य हुनेहरूले विदेशबाट भिटामिनहरू ल्याएर खाने चलन छ, त्यसले गर्दा भिटामिन बी१२ बढेको पाइन्छ। यदि विदेशबाट ल्याएको भिटामिनहरू नियमित खाई रहनु भएको छ भने कम्तीमा वर्षमा एक पटक भिटामिन बी१२ को जाँच गराउनु पर्छ।
भिटामिन बी१२ कुन समयमा घट्छ?
-कलेजोमा समस्या भएमा
-पाचन प्रकियामा समस्या भएमा
-किड्नी/ मिर्गौलामा समस्या भएमा
-गर्भवतीहरुमा
-पेरनीसियस एनिमिया भन्ने (पेटकै समस्याले गर्दा हुने अवस्था) भएकाहरूमा
-धेरै मद्यपान सेवन गर्नेहरूमा
-सानो आन्द्राको समस्या भएकाहरूमा
धेरै मानिसहरूमा भिटामिन बी१२को कमी शाकाहारीहरुमा मात्रै हुन्छ भन्ने भ्रम छ। शाकाहारीहरुमा मात्रै होइन अन्य धेरै रोगहरूमा यो भिटामिन कम हुन सक्छ। तर शाकाहारीहरुले भने कम्तीमा वर्षमा एक पटक यसको टेस्ट गराउनु पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।