यतिबेला बार्दलीमा बसेर
कयौँ जीवित प्राणीहरू
घामको उघ्राइ पर्खिरहेका छन्।
र खोजिरहेका छन्,
घामको उघ्रतासँगै
आफ्नो जीवनको उघ्रता पनि
पर्खिनुहरूको पीडा घामले के बुझ्थ्यो!
ऊ पनि घुर्की लगाउँछ घरीघरी
घरी उदाउँछ र घरी अस्ताउँछ
पल पल देखाइरहन्छ दम्भ,
प्रदर्शन गरिन्छ आफ्नो बलको घमण्ड।
जस्तो कि,
बर्सौदेखि तिमीलाई पर्खिरहेकी उनीसँग
लगाइरहन्छौ घुर्की!
र देखाइरहन्छौ उनीबाट टाढिने बहाना।
प्रिय,
घामको उघ्रता पर्खिरहेका कयौँ प्राणी
यो चिसोले कठ्याङ्ग्रिएर अस्ताएझैँ
तिम्रो उघ्रता पर्खिएकी उनी पनि
तिम्रो न्यास्रोले कठ्याङ्ग्रिएर अस्ताइन् भने?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।