नेपालमा आउने सम्भावना भन्दा कारण के भन्ने जान्नुपर्छ। नेपाल यस्तो ठाउँमा छ, जसको मुनि दुईटा प्लेट आपसमा ठोक्किरहेका छन्। हरेक वर्ष इन्डियन प्लेट तिब्बतियन प्लेट मुनि घुसिरहेको हुन्छ। त्यसरी घुस्ने क्रममा जुन शक्ति सञ्चय हुन्छ, त्यो बाहिर आउने प्रक्रिया भूकम्प हो। यदि हाम्रो जमिमुनिको चट्टानको समूह, भौगोलिक अवस्था स्थिर हुन्थ्यो भने भूकम्प आउँदैन थियो।
नेपाल यस्तो ठाउँमा छ, जुन ठाउँमा इन्डियन र तिब्बतियन प्लेको घर्षण धेरै समयदेखि भइरहेको छ। नियमित रुपमा दुई प्लेट एक अर्कोमा घर्सिरहेका छन्। त्यो घर्षण हुँदै गर्दा जुन शक्ति सञ्चय हुन्छ, त्यो बाहिर निस्किने प्रक्रियामा भूकम्प आउँछ।
नेपालमा पनि पश्चिम किन भूकम्पको जोखिममा छ? नेपाल हिमालय रेञ्जमा परेको देश हो। जम्मा २५ सय किलोमिटरको रेन्जमा ८ सय नेपालमा पर्छ। हिमालय रेन्जमा भूकम्प जान सक्छन्।
बिगतमा गएका भूकम्पका अध्ययन, अहिले प्राप्त र उपलब्ध तथ्याङ्कका आधारमा बोल्नुपर्दा नेपालको केन्द्र अर्थात् काठमाडौं वरपर नियमित रुपमा भूकम्प गइरहेका छन्। २०७२ सालमा यो क्षेत्रमा दुईटा भूकम्प गए। पूर्वी नेपालमा १९९० सालमा ठूलो भूकम्प गएको थियो। बिहार-नेपाल भूकम्पका रुपमा चिनिने उक्त भूकम्पमा परी १० हजार जनाको मृत्यु भयो।
नेपालको बारपाक (गोरखा) पश्चिम लाग्दा नियमित रुपमा जाने स-साना भूकम्पको संख्या कम छ। पश्चिम नेपालमा आजभन्दा ५०० वर्ष पहिले सन् १५०५ मा मुस्ताङ वरीपरी केन्द्रबिन्दू बनाएर भूकम्प गएको पाइन्छ। उक्त भूकम्बाट तिब्बतका राजा मरेको केही लेख पाइन्छन्।
५०० वर्ष पहिले ठूलो भूकम्प गएपछि अर्को ठूलो भूकम्प गएको रेकर्ड पाइँदैन। बारपाक पश्चिम अर्थात् त्यहाँदेखि सुदूरपश्चिमसम्मको क्षेत्रमा ठूलो भूकम्प पाएका छैनौं। प्रश्न हुन सक्छ- भूकम्प किन पाउनुपर्ने?
आमजनका आँखामा भूकम्प नजानु राम्रै हो। तर, भूकम्प विज्ञानमा चाहिँ गइरहँदा शक्ति सञ्चय घट्ने हुन्छ। इन्डियन प्लेट हरेक वर्ष २ सेन्टिमिटर तिब्बतियन प्लेटमा घुस्छ। इन्डिय प्लेट हरेक वर्ष २ सेन्टिमिटर घुसेको हिसाबले ५०० वर्षमा १० मिटर जमिन तलबाट माथि सिफ्ट भइसकेको छ। अर्थात् इन्डियन प्लेट तिब्बतियन प्लेटमा घुसिसकेको छ। त्यति जमिन सिफ्ट हुँदा जुन ऊर्जा सञ्चय भएको छ, त्यसले ८.५ भन्दा ठूलो भूकम्प ल्याउने भनाइ छ। त्यसैले भूकम्प लामो समय नजाँदा जोखिम बढी हुन्छ। गइरहँदा भने धेरै ऊर्जा सञ्चय हुन पाउँदैन र ठूलो भूकम्प गएर क्षति हुने सम्भावना कम हुन्छ।
बारपाकभन्दा पश्चिममा भूकम्प जाँदा क्षति पनि बढी हुने सम्भावना देखिन्छ। किनभने चेतनाका हिसाबले पश्चिम कमजोर छ। ४ म्याग्निच्यूड गयो भने पूर्वमा जुन रेस्पोन्स हुन्छ, पश्चिममा भने त्यसरी भएको देखिँदैन। पूर्वकाहरुले यसबारे जानकारी पाएर अमेरिका र युरोपका प्रणालीमा समेत रिपोर्ट गरेको पाइन्छ। अझ सुदूरपश्चिममा भूकम्पबारे चेतना कम छ। त्यहाँ ठूलो क्षति हुने सम्भावना बढी छ।
उदाहरणका लागि केही समयअघि डोटीमा ५.६ रेक्टर स्केलको भूकम्प गयो, त्यसले घर भत्किए। केहीको मृत्यु नै भयो। तर, जापानमा त्यतिको भूकम्प जाँदा कुनै क्षति हुँदैन। प्राकृतिक प्रकोप हामीले मात्रै बेहोर्ने होइन। हामी आफैं त्यसका लागि तयार छैनौं, त्यसैले जोखिममा छौं।
क्षति कम हुन भूकम्पबारे पहिल्यै जानकारी पाउने प्रणाली पनि चाहिन्छ। तर, भूकम्पबारे भविष्यवाणी सम्भव छैन। हालसम्म वैज्ञानिकले त्यसमा सफलता हासिल गरेका छैनन्। जापान, स्विट्जरल्यान्ड र मेक्सिको जस्ता देशमा रहेका प्रणाली भविष्यवाणी जस्तै देखिन्छन्। किनभने मोबाइलमा १ मिनेट वा ३० सेकेन्ड वा १५ सेकेन्डमा सूचना दिएको देखिन्छ।
हाल प्रचलनमा आएका त्यस्ता प्रणालीहरूले निश्चित ठाउँमा भूकम्प गइसकेपछि त्यसका शक्तिशाली तरंगहरू अन्य ठाउँमा नपुग्दै त्यसबारे सन्देश पठाउने मात्र गर्छन्। यदि कुनै देशमा आधुनिक भूकम्पीय उपकरणहरू बाक्लै जडान गरिएका छन् र उत्कृष्ट सञ्चारमार्फत् भूकम्पका तरंगहरू अध्ययन केन्द्रमा प्रसारण गरिएका छन् भने कुनै एउटा तरंग अध्ययन गरेर भूकम्पबारे सन्देश पठाउन केही सेकेन्ड लाग्छ।
केन्द्रविन्दु आफू बसेको ठाउँनजिक छ भने पूर्वसूचना भूकम्पको पहिलो कम्पनभन्दा केही सेकेन्ड अगाडि मात्र पाउन सकिन्छ, तर केन्द्रविन्दु टाढा छ भने पूर्वसूचना पहिलो कम्पनभन्दा केही मिनेट अगाडि पनि प्राप्त गर्न सकिन्छ। त्यसले धेरै ज्यान जोगाउन सकिन्छ।
(भूकम्पविद् सुवेदीसँग गरिएको कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।