नेपालगन्ज– मनसुन सुरु भएपछि बाँकेको राप्ती नदी किनारका बासिन्दाका दुःख र कष्टका दिन सुरु हुन्छन्। उनीहरु कहिले राप्तीमा बाढी आउला र गाउँ डुबाउला भन्ने चिन्ताले बर्खाभरि ढुक्कले सुत्न पनि सक्दैनन्।
राप्ती किनारका करिब १ लाख जनतालाई बाढी र डुबानको चपेटाबाट बचाउन भन्दै २०६० सालदेखि सुरु गरिएको पक्की तटबन्ध निर्माणको काम भने अझै अधुरै छ।
नेपाल सरकारले जनताको तटबन्ध कार्यालय मार्फत राप्ती नदीमा तटबन्ध निर्माणको काम गर्दै आए पनि स–साना खुद्रे आयोजनाहरु बाढीले भत्काउने गरेका कारण राप्ती नदी किनारका बस्तीहरु बर्सेनि डुबानमा पर्छन्।
बाढी र डुबानको चपेटाबाट गाउलाई जोगाउन बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ को कार्यालयले आफ्नै बजेटबाट करिब ३० लाखको लागतमा नदीको कटानबाट उच्च जोखिममा रहेको सिधनियामा ८४ मिटर लामो पक्की तटबन्ध निर्माण गरेको छ।
नदी कटानको उच्च जोखिमबाट गाउँलाई जोगाउन वडा कार्यालयमा आएको बिकास बजेटबाट करिब ३० लाखको लागतमा तटबन्ध निर्माण गरिएको हो।

हरेक वर्ष अविरल वर्षापछि राप्ती नदीमा उर्लिएर आउने बाढीले नदी किनारका खेतबारीसँगै बस्तीहरु कटान गर्ने र बस्ती डुबाउने गरेको छ।
बाढीबाट खेतबाली र घरगोठ क्षतिग्रस्त हुँदा घरमा भन्डारण गरेर राखेको खाद्यान्न समेत नोक्सान भई स्थानीय बासिन्दा बिच्चलीमा पर्ने गरेका छन्।
राप्तीको कटानबाट सयौं स्थानीय बासिन्दा सुकुम्बासी बनेका छन्।
सिधनियामा तटबन्ध निर्माण गरेपछि भने त्यहाँका स्थानीय बासिन्दाले केही राहत महसुस गरेका छन्।
राप्ती नदीको कटानबाट उच्च जोखिममा हरेको होलिया क्षेत्रमा पक्की तटबन्ध निर्माणका लागि स्थानीय बासिन्दाले लामो समयदेखि सरकार समक्ष माग गर्दै आए पनि त्यस क्षेत्रमा तटबन्ध निर्माणको काम पूरा भएको छैन।
तटबन्ध नहुँदा नदीको कटानबाट हरेक वर्ष केही न केही खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ। बस्तीमा बाढी बसेर बर्सेनि करोडौको क्षति हुँदै आएको स्थानीय बासिन्दा रामसिंह थारुले बताए।
बाढी र डुबानको चपेटाबाट गाउँलाई जोगाउने उद्देश्यले वडा कार्यालयमा आएको बजेटबाटै तटबन्ध निर्माणको काम सुरु गरिएको र आगामी वर्ष पनि तटबन्ध निर्माणको कामलाई निरन्तरता दिइने राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष जनक थारुले बताए।
वडा नम्बर ६ लाई बाढीबाट जोगाउन करिब ६ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्नुपर्ने अध्यक्ष थारुले जनाए। उनले भने, ‘तर, वडामा आउने बजेटले मात्रै सबै ठाउँमा तटबन्ध निर्माण सम्भव छैन। केन्द्र सरकारले गुरुयोजना बनाएर राप्ती नदीको दुवैतर्फ पक्की तटबन्ध गरेपछि मात्रै गाउँबस्तीलाई जोगाउन सकिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।