काठमाडौं- प्रतिनिधि सभाका ३२ र प्रदेश सभाका ६४ सिट रहेको मधेस प्रदेशको चुनावी मतगणनाको प्रारम्भिक विवरण रोचक देखिएको छ। २०७४ को निर्वाचनमा संघ र प्रदेश दुवैमा बहुमत ल्याएका महन्थ ठाकुर र उपेन्द्र यादव नेतृत्वका दलहरु कमजोर देखिएका छन्।
ती दल मात्रै होइन, ती दलका नेतृत्व पनि कमजोर देखिएका छन्। अध्यक्षहरुसहित शीर्ष नेताहरु प्रारम्भिक मतगणनामा फराकिलो मतले पछि देखिएका छन्। जसले मधेसको मतगणना रोचक बन्न पुगेको छ।
जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सीके राउतसँग दोब्बर मतले पछि देखिएका छन्। लोसपा अध्यक्ष महन्थ ठाकुर स्वतन्त्र उम्मेदवार राम आधार कापरसँग पछाडि परेका छन्।
सप्तरी- २ मा राउतले १७ हजार मत ल्याउँदै गर्दा यादवले ८ हजार हाराहारीमा मात्रै मत पाएका छन्। यता ठाकुरले १५ सयको हाराहारीमा मत ल्याउँदै गर्दा स्वतन्त्र उममेदवार कापरले ३ हजारको हाराहारीमा मत पाएका छन्।
सीके राउतले नेतृत्व गरिरहेको सप्तरी- २ का दुवै प्रदेश सभामा उनी नेतृत्वको जनमत पार्टीका उम्मेदवारहरु विजयी भइसकेका छन्।
पर्सामा कांग्रेस पनि एउटा प्रदेश सभामा विजयी भएको छ।
शीर्ष नेताहरु नै पछाडि
जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित उक्त पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारणी सदस्यहरु लक्ष्मणलाल कर्ण र अनिल झा पनि पछि देखिएका छन्।
जसपाका नेता राजकिशोर यादव पनि काग्रेस नेतृ चित्रलेखा यादवसँग प्रतिस्पर्धामा छन्। जसपाका नेता तथा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र साह त जनमत पार्टीसँग पराजित नै भएका छन्। यसैगरी जसपा र लोसपाका अधिकांश नेताहरु 'रेडजोन'मा देखिएका छन्।
कहाँ को अगाडि?
प्रतिनिधि सभाका ३२ क्षेत्रमध्ये सप्तरी- १ मा जसपा, सप्तरी- २ मा जनमत पार्टी, सप्तरी- ३ मा कांग्रेस र सप्तरी- ४ मा कांग्रेस अगाडि छन्।
सिरहा- १ मा एमाले, सिरहा- २ मा जसपा, सिरहा- ३ मा एमाले र सिरहा- ४ मा एकीकृत समाजवादीले अग्रता लिएका छन्।
धनुषा- १ मा जसपा र बाँकी तीन वटै क्षेत्रमा एमाले अगाडि छ।
महोत्तरी- १ मा एमाले, महोत्तरी- २ मा लोसपा, महोत्तरी- ३ मा स्वतन्त्र र महोत्तरी- ४ मा कांग्रेस अगाडि छ।
यसैगरी, सर्लाही- १ मा स्वतन्त्र, सर्लाही- २ मा नेसपा (माओवादीको चुनाव चिह्न), सर्लाही- ३ मा माओवादी केन्द्र र सर्लाही- ४ मा स्वतन्त्र अगाडि छन्।
रौतहत- १ मा एकीकृत समाजवादी, रौतहट- २ मा स्वतन्त्र, रौतहट- ३ मा स्वतन्त्र र रौतहट- ४ मा कांग्रेस अगाडि छन्।
बारा- १ मा एमाले, बारा- २ मा स्वतन्त्र, बारा- ३ मा जसपा र बारा- ४ मा एकीकृत समाजवादी अगाडि छन्।
पर्सा- १ मा जसपा, पर्सा- २, ३ र ४ मा कांग्रेस अगाडि छन्।
मधेस प्रदेशको कति सिटमा कुन दल अगाडि?
एमाले- ७ सिट
कांग्रेस- ७ सिट
जसपा- ५ सिट
स्वतन्त्र- ६ सिट
माओवादी केन्द्र/नेसपा- २ सिट
एकीकृत समाजवादी- ३ सिट
लोसपा- १ सिट
जनमत- १ सिट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।