इश्लामावाद– पाकिस्तानको निर्वाचन आयोग (इसिपी)ले हालै सम्पन्न निर्वाचन गतिविधि सञ्चालन गर्न सवै दललाई समान अवसरको प्रत्याभूत गराइएको मङ्गलबार जनाएको छ।
‘यही जुलाई २५ मा भएको निर्वाचनमा हामीले सबै दललाई प्रचारप्रसारका लागि उचित वातावरणको प्रत्याभूत गराइएको थियो,’ इसिपीका सचिव वावर याकूबको भनाइलाई उद्धृत गर्दै जिओ टेलिभिजनले जनाएको छ।
याकूवले भने,‘निर्वाचन स्वतन्त्र र स्वच्छ वातावरणमा सम्पन्न भएका छन्। धाँधली भएका कुनै रिपोर्ट आएका छैनन्।’
राजनीतिक दलले प्रमुख निर्वाचन आयुक्तको राजीनामाका लागि गरेका मागका बारेमा बोल्दै उनले भने,‘यदि कुनै उम्मेदवारले उजुरी दर्ता गर्छ भने तिनीहरूलाई कानूनी रूपमा समाधान गर्न सकिन्छ। कानूनी प्रक्रिया अनुसार निवेदन आउनुपर्छ यसमा छानवीन गरिनेछ। हामी चाहन्छौ निर्वाचनमा पराजीत तथा विजय सवै उम्मेदवारले जनताको जनमतको कदर गर्नेछन् र प्रजातान्त्रिक प्रक्रियालाई मजबुत बनाउनेछन्।’
सवै पाकिस्तानी नागरिकले आफ्नो मताधिकारको स्वतन्त्र रूपमा प्रयोग गरेका बताउँदै निर्वाचनमा ५२ प्रतिशत जनताको सहभागिता भएको जिओको समाचारमा उल्लेख छ।
पाकिस्तानी इतिहासमा पहिलो पटक ठूलो सङ्ख्यामा महिलाहरूले मतदानमा सहभागिता जनाएका याकूबले दावी गरे।
जम्मा २७२ सिटमध्ये २७० सिटको नतिजा घोषणा भइसक्दा पूर्व क्रिकेट स्टार इमरान खानको दल पाकिस्तान तेहरिक ए–इन्साफ (पिटिआई)ले सवैभन्दा धेरै १ सय १६ सिट जितेको छ भने पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन)ले ६४ सीटसहित दोस्रो र पाकिस्तान पिपुल्स पार्टी (पिपिपि)ले ४३ सिटसहित तेस्रो स्थानमा रहेको छ। रासस÷एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।