जेनेभा– आन्तरिक द्वन्द्वका कारण विस्थापित बनेका करिब २३ हजार निकारागुवाली नागरिकले शरण खोज्दै छिमेकी मुलुक कोस्टारिका पुगेका संयुक्त राष्ट्रसंघ शरणार्थी मामिला हेर्ने निकायले मङ्गलबार जनाएको छ।
निकारागुवाका राष्ट्रपति डेनियल ओर्टेगाको शासनविरुद्ध विगत तीन महिनादेखि आन्दोलन चलेको र आन्दोलनमा सुरक्षाकर्मी तथा अर्धसैनिक समूहहरूको बर्बरतापूर्ण कारबाहीबाट आतङ्कित बनेपछि उनीहरूको ठूलो सङ्ख्या छिमेकी मुलुक पुगेको हो।
आन्दोलनका क्रममा सुरक्षाकर्मीको कारबाहीमा परी करिब ३ सय नागरिकको ज्यान गइसकेको विभिन्न मानव अधिकारवादी समूहले जनाएका छन्।
शरण खोज्दै राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय समन्वयकारी संघसंगठनमा प्राप्त भएका निवेदन अत्यधिक भइसकेको र यसले उनीहरूको व्यवस्थापनमा चासो बढाइएको यूएनएचसीआरका प्रवक्ता विलियम स्पिन्डलरले जेनेभामा सञ्चारकर्मीसँगको कुराकानीमा बताए।
कोष्टारिकाका अधिकारीले भने गत अप्रिलदेखि अहिलेसम्ममा दर्ता भएका शरणार्थीको सङ्ख्या ८ हजार पुगेको र आगामी दिनमा १५ हजार जनालाई शरण लिने प्रतिवद्धता जनाएका छन्। उनीहरूले प्रक्रिया पुर्याएर शरण दिनु पर्ने भएकाले विस्थापित निकारागुवाली जनतालाई समस्या परेको जनाएका स्पिन्डलरले बताए।
यूएनएचसीआरले कोस्टारिकाको उत्तरी सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुत पारेको र हजारौँ निकारागुवाली शरणार्थीको सहयोगका लागि काम गरिरहेको उनको भनाइ छ।
निकारागुवामा देखिएको राजनैतिक अस्थिरताले संयुक्त राज्य अमेरिका, पानामा, मेक्सिको लगायतका मुलुकहरूमा पनि शरणार्थी पुग्ने क्रम निकै बढेको यूएनएचसीआरले बताएको छ।
शीतयुद्धको समयमा वामपन्थी सान्दिनिस्ता सरकारको नेतृत्व गरेका ७२ वर्षीय ओर्टेगा सन् २००७ पछि पुनः सत्तामा आएका थिए।
आन्दोलनकारीले राष्ट्रपति र ओर्टेगाकी पत्नीसमेत रहेकी उपराष्ट्रपति रोजारिल्लो मुरिल्लोको राजिनामाको माग गर्दै आन्दोलन चर्काइरहेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।