रसुवा– रसुवाको गोसाईकुण्ड गाउँपालिका–५, याङयाङ खोलामा मंगलबार भएको कन्टेनर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोसाईकुण्ड गाउँपालिका–६, धुन्चेका ३२ वर्षीय माइते तामाङ, ३५ वर्षीय साङ्गे लामा र रामे बिक रहेका जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले बताए।
दुर्घटनामा गम्भीर घाइते भएका धुन्चेका २७ वर्षीय नरेश मल्लको जिल्ला अस्पताल धुन्चेमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ। प्रतिकुल मौसमका कारण हेलिकोप्टरमार्फत काठमाडौं पठाउन समस्या भएकोले एम्बुलेन्समार्फत नै पठाइएको प्रहरी नायब उपरिक्षक तामाङले बताए।
धुन्चेबाट रसुवागढीतर्फ जाँदै गरेको ना६ख ४९२९ नम्बरको कन्टेनर मंगलबार दिउँसो १ बजे गोसाईकुण्ड गाउँपालिका–५, याङयाङ खोलामा दुर्घटना भएको थियो। कन्टेनरमा रहेका चारै जना जिल्लाको स्याफ्रुमा रहेको तातोपानीमा नुहाउन जान लागेका थिए।
दुर्घटनामा परि ज्यान गुमाएका मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धुन्चेमा ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।