काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल– भारतबीचको समझदारी कार्यान्वयनमा दुई पक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन्।
अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि दुई मुलुकबीचमा गरिएको समझदारी कार्यान्वयनको कामले गति लिन थालेको बताए। उनले नेपाल–भारतबीचको सम्बन्ध खुला र प्रगतिशिल मानसिकताका साथ साझा स्वार्थका लागि अघि बढाउने प्रयत्न भइरहेको दावी गरे।
मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत थिंक ट्यांक समिट’ को उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपालको समृद्धि भारतको पनि स्वार्थको विषय भएको स्पष्ट पार्दै समान सार्वभौमसत्ता र समान स्वार्थमा आधारित रहेर आपसी सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे। उनले भारतसँगको सहमति अनुसार रेल र जलमार्गमा जोड दिएर आर्थिक समृद्धिको यात्रालाई अघि बढाउने नेपालको योजना पनि अघि सारे।
अध्यक्ष दाहालले दुई मुलुकका प्रधानमन्त्रीबीचको ताजा विश्वासिलो सम्बन्धलाई आधार मानेर अझै गाढा बढाउँदै लैजानुपर्नेमा पनि जोड दिए।
कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले दुई मुलुकबीचको सम्बन्धलाई अझै उचाइमा पु¥याउन सम्वद्ध सबै पक्षलाई पहल गर्न आग्रह गरे। उनले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि दुई मुलुकबीचको सम्बन्ध राम्रो भएको पनि स्मरण गराए। मन्त्री यादवले नेपालले भारतसँगको सम्बन्धलाई स्वाभिमानका साथ अघि बढाउन चाहेको पनि स्पष्ट पारे।
नेपालका लागि भारतीय राजदुत मन्जिव सिंह पुरीले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास व्यक्त गरे। उनले अरुण–३ जलविद्युत आयोजना र वीरगञ्जमा क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्ने पछिल्ला सम्झदारीले दुई मुलुकबीचको आर्थिक साझेदारी अभिवृद्धि हुँदै जाने विश्वास दिलाएको धारणा राखे।
कार्यक्रममा दुवै मुलुकका राजनीतिक, बुद्धिजीवि र व्यवसायीबीच दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विविध आयामका विषयमा पनि अन्तरक्रिया गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।