रोल्पा– मापदण्डबपना खनिएका जिल्लाका विभिन्न सडकमा सवारी दुर्घटना बढेको छ। त्यस्ता सडकमा अधिकांश ट्याक्टरका कारण दुर्घटना हुने गरेको छ पाइएको छ। मापदण्डबिना स्थानीय उपभोक्ताले आफूखुसी सडक निर्माण गर्दा दुर्घटना बढेको हो।
जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा २० वटा दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका थिए भने १२ जना गम्भीर तथा २२ जना सामान्य घाइते भएका थिए। आव २०७३/७४ मा ३६ वटा सडक दुर्घटनामा परी ५ जनाको मृत्यु भएको थियो भने २७ गम्भीर र २७ जना समान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार दिवाकर वलीले जानकारी दिए।
यस्तै, आव २०७४/७५ मा ३० वटा सडक दुर्घटना भएका छन्। जसमा १४ जनाको मृत्यु, १८ गम्भीर र २९ जना सामान्य घाइते भएका थिए। ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढी रहेको वलीले बताए। भौगोलिक बनावट अनुसार मापदण्डबिना जथाभावी सडक खनिएका कारण सवारी दुर्घटना बढेको वलीले जनाए।
साँघुरा सडकका मोडमा दुर्घटना बढी हुने गरेको पाइएको छ। भर्खर ट्र्याक खोलिएका सडकमा अत्यधिक भारसहितका ट्याक्टर चलाउँदा दुर्घटना निम्तिने गरेको वली बताउँछन्। 'शिकारु चालकका कारण पनि दुर्घटना हुने गरेको पाइएको छ,' उनले भने।
दुर्घटना न्यूनीकरणका लागि सवारी साधनका धनी, चालक र परिचालकलाई समय-समयमा सचेत गराउने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सामान ढुवानी गर्ने ट्याक्टरमा यात्रु बोक्नमा कडाइ गरिएको वलीले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।