वासिङटन डिसी- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका राष्ट्रपति हसन रुहानीसँग भेट गर्न सकिने बताएका छन्। पछिल्लो समय अमेरिका र इरानबीचको सम्बन्ध तीक्ततापूर्ण अवस्थामा पुगेको बाबजुद ट्रम्पले आफूले बिनाशर्ता रुहानीलाई जुनसुकै बेला भेट्न सक्ने बताएका हुन्।
ह्वाइट हाउसमा सोमबार इटलीका प्रधानमन्त्रीसँग आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले रुहानीसँगको भेटका सम्बन्धमा भने, 'म वातचितमा विश्वास गर्छु, म जोसँग पनि भेट्न सक्छु। यदि उनले चाहन्छन् भने भेट हुन सक्छ।'
इरान परमाणु सन्धिबाट अमेरिका बाहिर निस्किएसँगै दुवै देशबीच विवाद चुलिएको छ। इरानी राष्ट्रपति रुहानीले अमेरिकालाई धम्की दिएका थिए। त्यस लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इरानलाई धम्कीपूर्ण भाषामा चेतावनी दिएका थिए।
सन् २०१५ को सम्झौतामा सहभागी अन्य देशले आपत्ति जनाए पनि अमेरिकाले सम्झौता विपरीत इरानको तेल, विमान निर्यात र बहुमूल्य धातुको व्यापारमा प्रतिबन्ध लगाउँदैछ।
यद्दपि, ट्रम्पले पुरानो परमाणु सम्झौताको ठाउँमा थप प्रभावकारी समाधान निकाल्नका लागि इरानसँग वार्ता गर्न चाहेको जनाएका छन्।
उता, इरानी राष्ट्रपति रुहानीका सल्लाहकार हामिद अबुतलेबीले अमेरिका परमाणु सम्झौतामा प्रतिबद्ध रहे मात्र अगाडिको वार्ताका लागि बाटो खुल्ने जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।