बेरुत- सिरियाको दक्षिणी भागमा पर्ने स्वेदा प्रान्तमा आतङ्ककारी समूह इस्लामिक स्टेट्स (आइएस) ले महिला र बालबालिका गरी ३६ जना अपहरण गरेको छ। मानव अधिकारवादी समूहले सोमबार सो जानकारी दिएको हो।
केही दिनअघि मात्र इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी स्वेदा प्रान्तमा २ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ। यी आक्रमणमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएको अब्जरभेटरी प्रमुख रामी अब्देल रहमानले बताएका छन्।
सरकारको बलियो प्रभाव रहेको सिरियाको दक्षिणी भागमा पर्ने स्वेदा प्रान्तमा केही दिनदेखि आत्मघाती आक्रमण, गोलाबारी र अपहरणजस्ता घटना जारी छन्।
सिरियामा सन् २०११ को मार्चदेखि शुरु भएको रक्तपातपूर्ण गृहयुद्धबाट ३ लाख ५० हजारको मृत्यु भइसकेको छ। तर, तुलनात्मकरूपमा शान्त देखिएको स्वेदा प्रान्तमा पहिलोपटक भीषण आक्रमण भएको हो।
सिरियाली राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएको थियो।
विश्वका महाशक्ति राष्ट्र अमेरिका र रुस तथा युरोपेली युनियन आबद्ध मुलुकहरू र अरब मुलुकको राजनीतिक, आर्थिक, सामरिक तथा हातहतियारको प्रत्यक्ष, अप्रत्यक्ष सहयोगका कारण यहाँको गृहयुद्धबाट ठूलो मानवीय क्षति पुगेको हो।
गृहयुद्धको चपेटामा परेर लाखौँको सङ्ख्यामा मानिस घाइते हुनाका साथै लाखौं सर्वसाधारण देश बाहिर शरणार्थी बन्न बाध्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।