बाह्रबिसे– सिन्धुपाल्चोक स्थायी बसोबास भएकी एक छात्राले आफूले एसइई परीक्षामा उत्कृष्ट नजिता ल्याएको खुसीमा गाउँको विद्यालयलाई ६ सय ५० थान पुस्तक सहयोग गरेकी छन्।
एसइईमा ए प्लस ल्याएकी दीपशिखा बस्नेतले स्थानीय शारदा उच्च माविको पुस्तकालयका लागि पुस्तक हस्तान्तरण गरेकी हुन्। आइतबार विद्यालयमा आयोजित कार्यक्रममा उनले भनिन्, ‘आफूले सुविधा सम्पन्न विद्यालयमा पढे पनि गाउँका विद्यार्थीका लागि थप अध्ययनमा सहयोग पुगोस् भनेर पुस्तक संकलन गरेर हस्तान्तरण गरेकी हुँ।’ उनले आगामी दिनमा पनि आफूले सकेको सहयोग जारी राख्ने बताइन्।
दीपशिखा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहन बस्नेतकी छोरी हुन्।
कार्यक्रममा उनका दाजु दिग्विजय बस्नेतले पुस्तकालयका लागि दराज हस्तान्तरण गरेका थिए। पूर्वमन्त्री बस्नेतकी श्रीमती माण्डवी राणाले शारदा माविमा अध्ययनरत कक्षा १० की कृतिका बस्नेतलाई १ वर्षको अध्ययन खर्च आफूले ब्योहोर्ने घोषणा गरेकी थिइन्। शारदा मावि पूर्वमन्त्री बस्नेतले पढेको विद्यालय हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।