काठमाडौं- छायांकनको तयारीमा रहेको फिल्म ‘गोपी’मा नायिकाका रुपमा वर्षा सिवाकोटी अनुबन्ध भएकी छिन्। फिल्ममा मुख्य अभिनेता खगेन्द्र लामिछाने दुई अभिनेत्री वर्षा र सुरक्षा पन्तसँग देखिनेछन्।
‘गोपी’को पटकथाले अन्तिम रुप लिएसँगै वर्षालाई कास्ट गरिएको निर्देशक दीपेन्द्र लामाले बताए। फिल्मको घोषणा हुँदा खगेन्द्र र सुरक्षा मात्र अनुबन्धित भएका थिए। निर्देशक दीपेन्द्रका अनुसार पटकथालाई सुहाउने भएकाले वर्षालाई लिइएको हो। दुई नायिका भए पनि यो त्रिकोणात्मक प्रेमकथा भने नरहेको उनले बताए।
खगेन्द्रले यसअघि वर्षासँग ‘पशुपति प्रसाद’ र सुरक्षासँग ‘धनपति’मा अभिनय गरिसकेका छन्। आफ्ना अघिल्ला नायिकाहरुसँग फेरि एकसाथ एउटै फिल्ममा काम गर्न पाउँदा खुसी लागेको खगेन्द्रले बताएका छन्। ‘यो रमाइलो संयोग हुनपुग्यो, वर्षा र सुरक्षा दुवैसँग पहिला काम गर्दा राम्रो अनुभव थियो, यसपालि पनि पक्कै राम्रो हुनेछ,’ खगेन्द्रले भने।
वर्षा र सुरक्षाले भर्खरै रिलिज भएको फिल्म ‘भैरे’मा सँगै काम गरेका थिए। ‘पशुपति प्रसादमा खगेन्द्र दाइसँग काम गरे पनि खासै स्क्रिन सेयर गर्न पाएकी थिइनँ, तर गोपीमा दर्शकले उहाँ र मेरो केमिस्ट्री अलि बढी नै हेर्न पाउनुहुनेछ,’ वर्षाले भनिन्।
वर्षाको आगमनले फिल्ममा ग्ल्यामर थपिएको सुरक्षाको बुझाइ छ। उनले भनिन्, ‘पछिल्लो समयका सुन्दर अभिनेत्रीमध्ये पर्छिन् वर्षा, उनी पनि गोपीमा जोडिएको खबरले म उत्साही छु।’
आरोही केसी निर्माता, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको ‘गोपी’को छायांकन आगामी भदौ १ देखि काठमाडौंमा सुरु हुँदैछ। फिल्ममा निर्देशक लामाको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ।
न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने फिल्मका गीतहरु विप्लव प्रतीक र बुद्धिसागरले लेखेका छन्। कल्याणको संगीत रहेको गीत शिव परियारले गाएका छन् भने अरु दुई गीतका गायकगायिका टुंगो लाग्न बाँकी रहेको निर्देशक लामाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।