लमजुङ- घर छोडेर सम्पर्कविहीन भएको ४७ वर्षपछि एक वृद्ध घर फर्किएका छन्।
बेँशीशहर नगरपालिका–२ भकुण्डेका प्रेमबहादुर खड्का ४७ वर्षपछि घर फर्किएका हुन्। करीब पाँच दशकसम्म घर परिवारसँग सम्पर्कविहीन खड्का बुढ्यौलीसँगै अशक्त अवस्थामा पुगेपछि सोधखोज गर्दै गाउँसम्म आई पुगेका छन्। खड्कालाई गाउँ आउँदा बूढापाकाले मात्र चिन्न सकेका थिए। उनले पनि थोरै मात्र बूढापाकालाई चिन्न सकेको बताए।
खड्काले यतिका वर्ष भारतको मेघालयको एउटा गाउँ नजिकै जंगलमा गाई फारममा काम गर्दै आएको बताएका छन्। 'बाँचेर गाउँ फर्कन्छु भन्ने सोचेको थिइनँ, जन्मथलो आएँ। सबैसँग भेटघाट भयो, खुशी लागेको छ, खड्काले भने।
प्रेमबहादुरको उमेर ७० वर्ष नाघे पनि अहिलेसम्म नेपाली नागरिकता छैन। 'मेरो बुबा/आमाले पनि नागरिकता बनाएको मलाई थाहा छैन' उनले भने, '७० वर्ष पुगेपछि यहाँ वृद्ध भत्ता पाइँदो रहेछ, नागरिकता बनाउन पाए सजिलो हुने थियो।'
२००४ साल वैशाख १४ आफ्नो जन्ममिति बताउने खड्का बाल्यकालदेखि नै कामको सिलसिलामा भारतमा रहे पनि २०२८ सालमा बुबा चन्द्रबहादुर बित्दा जम्मा १४ दिन काजकिरियाका लागि घर आएका थिए। त्यसपछि पुनः भारत भासिएका उनी ४७ वर्षपछि गाउँ आएका हुन्।
बुबा बितेपछि आमा पनि अन्यत्र विवाह गरेर गएको बताउने खड्का अहिले सौतेनी आमापट्टिका छोरा अर्थात् भाइ तिलकबहादुर खड्काको परिवारसँग बसेका छन्। खड्काले आफू अहिलेसम्म अविवाहित रहेको बताए।
धेरै वर्षपछि घर फर्कने क्रममा भारतकै मेघालयमा आफू लुटिएको उनले सुनाए। भने, 'सात जनाको समूहले कुटपिट गरे अनि साथमा रहेको २३ हजार भारतीय रुपियाँसमेत लुटे।'
कुटपिट गरेर जंगलमा फालिएका प्रेमबहादुरलाई मेघालयका स्थानीयले फेला पारेर बचाएका थिए। बेवारिसे अवस्थामा पुगेका प्रेमबहादुरलाई लमजुङ धमिलिकुवाका एकजना गुरुङ थरका व्यक्तिले खर्च हालेर घर पठाएका हुन्। आफूलाई घर ल्याइदिने व्यक्तिले आफ्नो घर धमिलिकुवा भने पनि नाम थाहा नभएको उनी बताउँछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।