काठमाडौं– आर्यन फिल्मसको ब्यानरमा बनेको फिल्म ‘कायरा’ प्रदर्शनको तयारीमा छ। फिल्म आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। अभिनेता आर्यन सिग्देलको स्क्रिप्टमा तयार भएको फिल्म ‘कायरा’ नामकै कारण पनि केही पृथक छ।
फिल्मको नामका सम्बन्धमा अभिनेता आर्यनले केही दिनअघिको पत्रकार भेटघाटमा भने, ‘कायरा शब्दको अर्थ फरक–फरक भाषामा फरक–फरक लाग्ने गर्छ। तर, मैले मेरो स्क्रिप्टमा कायरा शब्द ‘ग्रिक’ भाषाबाट राखेको हुँ। जसको अर्थ हुन्छ, जूनजस्तै अटल, निर्दोश अनि प्रिय महिला।’ यही निर्दोश र प्रिय महिलासँगको प्रेम कथामा आधारित फिल्म हो कायरा।
आर्यनको स्क्रिप्टले यस्तै गुण भएकी महिला खोजेको थियो। उक्त गुण साम्राज्ञीमा मात्र पाएको बताउछन् आर्यन। स्क्रिप्ट लेखनको सुरुवातदेखी कायराको अर्थसँग मिल्दो महिला पात्रको खोजी गरिरहेका आर्यनले साम्राज्ञीमा कथाले मागेको भाव र अभिनयकलाको सम्भावना देखेकाले उनैलाई अनुबन्ध गरेको बताए।
साम्रज्ञीले यसअघि अभिनय गरेका फिल्महरु ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ हेरेर प्रभावित बनेका आर्यनले फिल्ममा साम्राज्ञीको विकल्प खोज्नै चाहेनन्। फिल्ममा आर्यन स्वयंले कायरालाई साथ दिन जयको भूमिका निर्वाह गरेका छन्। यद्यपि, आर्यनले दर्शकमाझ अभिनय र उपस्थितिका हिसाबमा कायराको प्रभाव हावी हुने अनुमान गरेका छन्।
फिल्मको शीर्षक र आर्यनको भनाई अनुरुपको ‘क्यारेक्टर’मा अभिनेत्री साम्राज्ञी कतिसम्म सफल हुने हुन् त्यो भने फिल्म प्रदर्शनपछि थाह हुने कुरा भयो। तर, आफ्नो अभिनय र फिल्मको कथाअनुसार दर्शकले कायरालाई मन पराउनेमा विश्वस्त छिन् अभिनेत्री साम्राज्ञी।
भन्छिन्, ‘जति बेला आर्यनबाट मैले फिल्मको स्क्रिप्ट पहिलो पटक सुनें, म रोएकी थिएँ। स्क्रिप्ट सुनिसकेपछि मैले फिल्ममा अभिनय गर्नै पर्छ भन्ने ढानें। फिल्मप्रति मेरो विश्वास बढेको छ।’
फिलिपिन्स र नेपालमा छायांकन गरिएको फिल्ममा साम्राज्ञीको प्रेमी (जय)को रुपमा आर्यन आफैं उपस्थित छन्। पछिल्लो समय आर्यनको चकलेटी अभिनय दर्शकले रुचाइरहेका छैनन्। गत कात्तिकमा प्रदर्शनमा आएको फिल्म ‘रुद्रप्रिया’मा रेखासँग देखिएका आर्यनले खासै सफलता पाउन सकेनन्। त्यसो त ‘आर्यनले आफ्नो स्टारडम जोगाउन नाम चलेकी नायिका साम्राज्ञीलाई अपोजिटमा उभ्याएका हुन्’ भन्ने गसिपसमेत हुँदै आएको छ।
तर, यो आरोपलाई आर्यन स्वीकार गर्दैनन्। ‘मलाई त्यस्तो लाग्दैन कि म असफल छु। र कसैलाई मेरो स्टारडम बचाउन फिल्ममा ल्याउनुपर्छ जस्तो पनि लाग्दैन। म मेरो काम गरिरहेकोछु, म यसअघि जस्तो थिएँ त्यस्तै छु। यसअघि जसरी दर्शकको साथ र माया पाएको थिँए अहिले पनि त्यस्तै पाइरहेको छु,’ आर्यन भन्छन्, ‘संसारका सबै मानिसको जीवनमा उतार–चढाव आउँछ तर यस्ता निराधार विषयलाई ध्यान दिन जरुरी छ जस्तो लाग्दैन।’
उनले कायरामा यसअघिको आफ्नो अभिनय शैलीलाई परिवर्तन गर्ने प्रयास गरेको दाबी गरेका छन्। भन्छन्, ‘तर थाहा छैन भविष्यको कुरा, असफल भइयो भने पनि नेपाली फिल्म उद्योगमा मेरो उपस्थिति यथावत रहनेछ। मेरो अभिनय शैली यही लभस्टोरी बेस नै रहनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।