काठमाडौं– हामी महिला लामो लडाइँपश्चात् आधारभूत मानवअधिकार प्रयोग गर्ने अवस्थामा छौं। कैयौं पुस्तादेखिको संघर्षको परिणाम हो यो।
अधिकार बिनाको दैनिकी र जीवन हाम्रा लागि कल्पना बाहिरको कुरा हो। तथापि, समान हैसियत र अधिकार अझै पनि विश्वका धेरै स्थानमा कानुनी रुपमासमेत उपलब्ध छैनन्। कानुनी रुपमा उपलब्ध अधिकारको व्यावहारिक प्रयोग र लागू धेरै अवस्थामा आज पनि लडाइँकै विषय हो।
संविधानमा व्यवस्था गरिएका मौलिक हक र मानवअधिकार प्रयोग गरिरहेको अहिलेकै अवस्थामा कल्पना गरौं- 'काम गरिरहेको समयमा अकस्मात् सबै महिलाहरु कामबाट १० मिनेटको समयभित्र काम छोडेर निस्किनू' भन्ने आदेश आयो।
आफ्नो नाममा सम्पत्ति राख्न नपाउने भनियो। कानुनी रुपमा स्वीकार गरिएको समलैङ्गिक विवाह एक्कासी गैरकानुनी करार गरियो। सम्बन्ध बिच्छेदपश्चातको विवाहसमेत स्वीकार गरिएन र जन्मिएको सन्तानलगायत परिवार नै छुट्टाछुट्टै कब्जामा लिइयो। महिलाको सबै प्रकारको निर्णय लिन पाउने अधिकार खोसियो। बाहिर सार्वजनिक ठाउँमा हिँडडुल गर्न रोक लगाई दासीको रुपमा कब्जामा राखियो।
रोजगार गर्ने, पढ्ने लगायत तपाईंको सम्पूर्ण परिचय नै खोसियो। यहाँसम्म कि तपाईंको आफ्नो नामसमेत रहेन। नयाँ सत्ता लागू गरियो। सो सत्ताका पुरुष कमान्डरको सन्तान उत्पादन गर्न नसक्ने श्रीमतीको सट्टा सन्तान जन्माइदिनको लागि उनीहरुको घरमा थुनियो। कमान्डरको नामको अगाडि 'अफ' जोडिएर नाम राखियो, जस्तै- 'फ्रेड' नामको कमान्डरकोमा 'अफफ्रेड'।
कमान्डरको श्रीमतीले हात समाएर कमान्डरबाट हरेक महिना गर्भवती हुने धेरै सम्भावना भएको समयमा उनीहरुबाट बलात्कृत 'सेरेमोनी' हुन बाध्य पारियो। बलात्कारबाट जन्मिएका बच्चा कमान्डरको हुने व्यवस्था गरियो। एक कमान्डरको घरमा बच्चा जन्माएलगत्तै अर्को कमान्डरकोमा फेरि सोही कार्यका लागि 'पोष्टिङ' हुन बाध्य पारियो।
यी सबै कार्यमा कुनै किसिमको प्रतिवाद गरेको खण्डमा झुन्ड्याएर मारिने लगायतको अवस्था तपाईंलाई अहिलेको समयमा महिला भएकै कारण आइपर्छ भने त्यो कति भयङ्कर होला?
यस्तै डरलाग्दो काल्पनिक भविष्य बताउने, जुन धेरै हदसम्म हाम्रो वर्तमान समेत हो, 'दी ह्यान्डमेड्स टेल' एउटा भयङ्कर, डरलाग्दो यात्रा रह्यो मेरा लागि।
'क्यानेडियन' लेखक मार्ग्रेट एटउडले सन् १९८५ मा प्रकाशित गरेको काल्पनिक डिस्टोपियन उपन्यासमा आधारित रहेर 'हुलु' द्वारा 'बेव सिरिज' को रुपमा प्रस्तुत गरिएको छ।
एटउड आफ्नो उक्त पुस्तक लेखनमा सो समय वरिपरि भइरहेका विश्वघटना र परिवेशले भूमिका खेलेको बताउँछिन्। रोमानी शासक 'निकोलाइ चौसेस्को'ले देशमा जनसंख्या वृद्धिको लागि गर्भपतन र गर्भनिरोधक साधनको प्रयोगलाई गैरकानुनी करार गरेको घटनासमेत जोडिन्छ।
साथै, सैनिक शासक 'जुन्ता'ले सन् १९७६ मा अर्जेन्टिनामा शासन सत्ता हत्याएपछि गर्भवती महिलाहरुलाई नियन्त्रणमा लिएर बन्दी बनाउँछ र बच्चा जन्मिएपछि ती महिलाहरुलाई मारेर फालिदिन्छ। त्यसरी जन्मिएका बच्चाबच्ची उक्त सत्ताले गायब बनाउँछ र शासकहरुलाई सुम्पिदिन्छ।
तल्लो वर्गका महिलाहरुको सन्तान शासकलाई सुम्पिने प्रवृत्ति अर्जेन्टिनामा सुरु भयो। लामो संघर्षपश्चात् प्राप्त अधिकारमाथि धावा बोलिरहेको विश्व परिवेशमा लेखिएको उक्त पुस्तकले केही हदसम्म सो समयलाई चित्रण गर्छ।
नेपाली समाजमा हिन्दु धर्म र विश्वमा अन्य धर्मले महिलामाथि गरेको धार्मिक राजनीतिबारे सुन्नु, हेर्नु र पढ्नु हाम्रा लागि त्यति नौलो होइन। धर्मले गर्ने महिलाको यौनिकता, मोबिलिटी र शरीरमाथि पूर्ण नियन्त्रणको राजनीति गज्जबको छ।
धर्मको माध्यमबाट विषाक्त पुरुषत्वले भरिएका बलात्कारी पुरुषलाई महान सृष्टिकर्ता, उद्धारकर्ता मानेर बलात्कार लगायतका घटनालाई सामान्यीकरण मात्र गरिँदैन, अनुयायीहरुलाई सोही बाटोमा हिँड्न प्रेरित समेत गरिन्छ।
त्यसरी नै बाइबलमा भनिए बमोजिम, 'ज्यकोब' र 'रेचल' बाट सन्तान जन्मिएको हुँदैन। 'रेचल'ले सन्तान चाहियो भनेपछि 'ज्याकोब'बाट सन्तान जन्माउनको लागि दासीको प्रयोग गरिन्छ। यसरी दासीलाई बलात्कार गरेर जन्मिएको सन्तान उनीहरुको हुन्छ। सन्तान उत्पादनको लागि बाइबलको यही कुरालाई ठूलो उत्प्रेरणा र उचित बाटो मानेर सन्तान उत्पादनको लागि एक धार्मिक सत्ताले यसैगरी दासीहरु राख्ने गरेको कुरा 'दी ह्यान्डमेड्स टेल'मा देखाइएको छ।
'सन्स अफ ज्याकोब'द्वारा अमेरिकी कङ्ग्रेसमा आक्रमण गरी सम्पूर्ण सत्ता कब्जामा लिई त्यहाँको संविधानसमेत फालिन्छ र गिलियाड शासन लागू गरिन्छ। 'गणतान्त्रिक गिलियाड' नाम गरेको क्रिश्चियन दक्षिणपन्थी धार्मिक सत्तामा महिलाहरुले विशेषगरी 'ह्यान्डमेडस् (घरेलु यौन दास)' को रुपमा भोग्न बाध्य पारिएको बर्बर दमन र शोषण सिरिजमा प्रस्तुत गरिएको छ।
उक्त सिरिजमा 'जुन असवर्न' मुख्य पात्र हुन्छे। 'जुन' गिलियाड शासनपूर्व रोजगार गरिरहेको, एक सन्तान र श्रीमान् सहितको सामान्य मध्यमवर्गीय अमेरिकी नागरिक हुन्छे। गिलियाड शासनमा उसको परिचय लगायत सबै खोसिन्छ र दुई खुट्टा भएको पाठेघरको रुपमा उक्त सत्ताको सन्तानोत्पादक मात्र मानिन्छे। उक्त शासनमा सैन्यलगायत शासकीय अधिकार पुरुषमा निहित गरिन्छ भने महिलाहरु घर भित्र सीमित पारिन्छन्।
'जुन' लगायत अन्य पात्रहरुको गिलियाड शासनभन्दा अगाडिको जीवन र गिलियाड शासनको समयको जीवनलाई समानान्तर रुपमा उक्त सिरिजमा देखाइएको छ। जसबाट धार्मिक राज्यसत्ता, दक्षिणपन्थी शासन व्यवस्था र पितृसत्ताले सुरुमै आक्रमण गर्ने भनेको महिला शरीर र स्वतन्त्रता हो भन्ने कुरा उक्त सिरिजले स्पष्ट पारेको छ।
उक्त गिलियाड शासनमा महिलाहरुले सबैलाई शंका गर्नुपर्ने सत्रुताको स्थितिमा श्वास मात्र फेर्नसम्म समेत कुन तहको संघर्ष गर्नुपर्छ भन्नेबारे देखाइएको छ। वातवरणीय क्षति र जन्मदरमा भएको भारी गिरावटलाई कारण बनाउँदै उक्त क्रिश्चियन दक्षिणपन्थी धार्मिक सत्ता 'परम्परागत मान्यतामा फर्कौं' नारामा महिलामाथि शासन गर्न थाल्छ र आफ्ना सबै शासकीय गतिविधिलाई क्रिश्चियन धार्मिक ग्रन्थ र मान्यताको आधारमा पुष्टि गर्न खोज्छ।
महिलामाथि हुने उत्पीडनको तह/इन्टरसेक्सनालिटी
उक्त सिरिजमा देखाइएको गणतान्त्रिक गिलियाडमा महिलालाई ६ तहमा बाँडिएको छ।
(क) ‘कमान्डरको श्रीमती’, जो तुलनात्मक रुपमा धेरै अधिकार भोग गर्दछन् र अन्य तहका महिलामाथि शासन र शोषण गर्ने हैसियतमासमेत हुन्छन्।
(ख) ‘आन्टस्’, रेड सेन्टरमा बच्चा जन्माउन राखिएका दासीहरुलाई गिलियाड शासनको कानुन सिकाउने, लागू गराउने र उल्लङ्घनमा चरम यातना दिने र शोषण गर्ने गरी सत्ताद्वारा अधिकार प्रत्यायोजित महिलाहरु।
(ग) ‘ह्यान्डमेडस् (दासी)’, बच्चा जन्माउन सक्षम महिलाहरु जो विशुद्ध सत्ता (कमान्डर) का लागि चुपचाप बच्चा उत्पादन गर्न बाध्य पारिन्छन्।
(घ) ‘इकोनोवाइभ्स’, जो कमान्डरभन्दा तल्लो हैसियतमा भएका गरिब पुरुषहरुका श्रीमती हुन्छन्।
(ङ) ‘मार्था’, बच्चा जन्माउन असक्षम, उमेर ढल्केका महिला जो कमान्डरका घरमा काम गर्न राखिन्छन्।
(च) ‘अनवुमन’, सत्ताका मान्यता र कानुनको विरुद्ध बोल्नेहरु जसलाई ‘क्लोनी’ मा त्यहाँ भएको फोहोर र विषादीले मर्नको लागि पठाइन्छ।
यी सबै तहका महिलाको पहिचानको लागि बेग्लै ड्रेस कोर्ड हुन्छ। सबैले बेग्लै खालको तहगत हैसियत राख्छन्। यिनीहरुमा साझा के हुन्छ भने, सबैको लागि पढ्न बर्जित छ र स्वतन्त्रता समेत खोसिएको छ।
गिलियाडको सुरुआती शासन भएको कारण महिलाहरु डाक्टर, प्रोफेसर, सम्पादकसमेत भएका हुन्छन्। भन्नुको अर्थ सबै पढ्न सक्षम हुन्छन् तर पढ्ने कुनै अधिकार उक्त शासनमा उनीहरुलाई हुँदैन। ठाउँहरु समेत संकेतमा देखाइन्छ ताकि महिलाहरु नपढून्। पढेकै आधारमा तुलनात्मक रुपमा माथिल्लो हैसियतमा भएका कमान्डरका श्रीमतीको समेत हात काटिन्छ।
'दी ह्यान्डमेड्स टेल' मा देखाइएको यो व्यवस्थाले हाम्रो समाजमा समेत महिलाहरु त्यसैगरी तहगत रुपमा विभाजित गरिएको, सबैले समान हैसियत समेत भोग नगर्ने र उत्पीडनको तह समेत फरक हुने गरेको यथार्थसँग मेल खान्छ।
यो तहगत विभाजन भए तापनि हरेक तहका महिला अहिलेको शासन व्यवस्थाबाट प्रताडित रहेको र सबै महिलाको कर्तव्य भनेकै पुरुषको सेवा गर्नु मात्रै रहेको भन्ने सामाजिक, सांस्कृतिक र धार्मिक मान्यतालाई यस सिरिजले उदाङ्गो पारिदिन्छ।
महिलाहरु जन्मिँदैनन्, बनाइन्छन
'महिलाहरु जन्मिँदैनन्, बनाइन्छन्' भन्ने सिमोन दी बोउवारको भनाइलाई 'दी ह्यान्डमेड्स टेल' को माध्यमबाट अझै स्पष्ट रुपमा बुझ्न सकिन्छ। महिलाहरु समान हैसियतका मानिस नभएको भन्ने कुरालाई स्वीकार गर्ने अवस्थामा कसरी पुर्याइन्छन् भन्ने कुरा सिरिजबाट थाहा पाउन सकिन्छ। साथै, समाज र धर्मले महिला भएपछि विशिष्ट खालको लैङ्गिक कर्तव्य पूरा गर्न मनोवैज्ञानिक रुपमा तयार पार्ने कुरा, विवाह गर्ने, बच्चा जन्माउने, पुरुषको सेवक र आज्ञाकारी दासी बन्नु नै पूर्णता हो भन्नेमा कसरी महिलालाई 'कन्भिन्स्ड' गरिन्छ भन्ने कुरा त्यहाँ पाइनेछ।
महिलाहरुको उक्त मानसिकता र स्वीकारोक्तिको लागि धार्मिक, राजनीतिक, पारिवारिक सत्ताले कसरी भूमिका खेल्छ भन्ने कुरा 'इड' लगायतको पात्रबाट सिरिजले बुझाउनेछ। श्रीमानले गर्ने भनी समाज र शास्त्रले तोकेका निश्चित प्रकारका व्यवहार जस्तै: नियन्त्रण, शंका र शासन लगायतको व्यवहार श्रीमानले आफूमाथि नगरेपछि श्रीमानले आफूलाई प्रेम नगरेको भन्ने बुझाइमा 'इडन' पुगेको कुराबाट 'पुरुष प्रेम' भनेकै नियन्त्रण र शासन हो भन्ने आम मानसिकतालाई बुझ्न सघाउँछ।
धार्मिक राज्यसत्ताले कलिला बच्चीहरुलाई निपूर्ण गुलाम बन्न र आफू पूर्ण मान्छे नभएको भनी स्वीकार्न बाध्यकारी वातावरण सिर्जना गर्ने कुरा सिरिजले देखाउँछ।
बाल अवस्थामा रहँदादेखि नै हिन्दु धर्म लगायतका धार्मिक, सांस्कृतिक मान्यताले हामी महिलाले आफूलाई दासको रुपमा स्वीकार्न बाध्य बनाइने नेपाली सामाजिक यथार्थता र सोबाट बन्ने मनोविज्ञान समेत अन्तरसम्बन्धित गरी हेर्न सकिन्छ।
धार्मिक राज्यसत्ता, धार्मिक पितृसत्ता र महिला
'ह्यान्डमेडस् टेल' को अर्को महत्वपूर्ण कुरा भनेको कसरी धार्मिक राज्यसत्ता र धार्मिक पितृसत्ताले महिलामाथि चरम दमन र शासन गर्छ भन्ने हो। उक्त सिरिजमा धर्म र भगवानको नाममा महिलामाथि हुने गरेको बर्बर दमन देखेपछि विगतमा महिलाको अवस्था धेरै नै दर्दनाक भएको भान हुन्छ र अझै पनि धार्मिक राज्सत्ता र पितृसत्ताले महिलामाथि क्रुर शासन गर्ने गरेको यथार्थसँग समेत जोड्न सकिन्छ।
हाम्रो समाज हिन्दु धर्म र तिनका शास्त्र लगायतले हरेक महिलालाई मान्छे हुन नदिएको भुक्तभोगी भइरहँदा क्रिश्चियन धर्मले गर्ने शोषण र दमनको स्वरुप थाहा पाउन सिरिजले मद्दत गर्छ। विशेष गरी कुनै पनि धर्मले महिलालाई मानिस हुन दिँदैनन् र धर्मको त्याग बिना महिलाहरु शोषणबाट पूर्ण रुपमा मुक्त हुन सक्दैनन् भन्ने कुरा सिरिज हेरिरहँदा जबरजस्त रुपमा महसुस हुन्छ।
आफू बसेको देशको सीमाभन्दा बाहिर हुने घटना र दमनबारे बोल्नै पर्ने
प्राय:गरी हामीलाई नेपाल बाहिर हुने राजनीतिक परिवर्तन र घटनाबारे बोल्नु हाँस्यास्पद लाग्छ। नेपालमा भएका घटनाबारे बोल्नु छैन, नेपाल बाहिरका सरोकार नै नभएका विषयमा बोल्ने भनेर कति 'मिम' पनि बनाइन्छ।
यो सिरिज हेर्दा मैले धेरै महसुस गरेको अर्को कुरा, आफू बसेको देशको सीमाभन्दा बाहिर हुने घटनाबारे बोल्नु अति आवश्यक छ भन्ने हो। कतिपय अवस्थामा उक्त भूगोल भित्रका व्यक्तिहरु बोल्न नसक्ने अवस्थामा हुन्छन् वा बोल्यो भने पनि उक्त सत्ताले कुल्चिने अवस्था हुन्छ।
यस्तोमा बाहिरी सीमाबाट आउने आवाज र दबाबले स्वेच्छाचारी, दमनकारी शासन सत्तालाई बलियो असर पुर्याउने रहेछ। जुन सीमा भित्र बसे पनि अन्य मुलुकमा हुने घटनाबारे बोल्ने दायित्व सबैको हुन्छ भन्ने बलियो महसुस यस सिरिजले गराउँछ।
जति धेरै प्रजनन् अधिकार त्यति धेरै स्वतन्त्रता
जब महिलाको प्रजनन अधिकार खोसिन्छ तब महिलाहरु स्वतन्त्र हुन सक्दैनन। महिला शरीर र पाठेघरमाथि जब सत्ताले नियन्त्रणको राजनीति सुरु गर्छ तब महिलाको स्वतन्त्र मानिस बन्ने अधिकार समेत खोसिन्छ। महिलाको प्रजननमाथिको विना सर्त अधिकारले महिला मात्र होइन पुरुष र समाज समेत स्वतन्त्र हुन्छ भन्ने कुरा सिरिजले महसुस गराउँछ।
दी ह्यान्डमेड्स टेलमा देखाइएको महिलामाथिको दमन, बर्बर यातना र शोषणका दृश्य कतिपय अवस्थामा त हेर्न समेत सकिँदैन। काल्पनिक भनिए पनि यथार्थमा यो हाम्रो वास्तविकता हो।
महिलाहरुले बाँचेको विगत र बाँचिरहेको वर्तमान निस्सासिँदो छ। महिलामाथिका उत्पीडन, दमन र शोषण सामान्यीकरण गरिसकेको छौँ। दासी हुनु नै महिलाको पूर्णता हो भन्ने अवस्थामा पुगेको देश र समाजमा हामीलाई महिला सामान्य जीवन बाँचेको लाग्छ। कतिपयलाई त अधिक अधिकार उपयोग गरेको लाग्न सक्ला तर महिलाहरु बाँचिरहेको यथार्थ कहालिलाग्दो छ।
ह्यान्डमेड्स टेलमा देखाइएको यथार्थ लगभग उस्तै रुपमा पृथ्वीको कतै, कुनै भेगमा महिलाहरु बाँचिरहेका नै छन्। नेपाली समाजमा महिलाको भोगाइ पनि स्वरुपमा फरक हुन सक्ला तर धेरै विषयमा उस्तै घनत्वको छ।
वर्तमान दुनियाँमा आफूलाई अधिक प्रजातान्त्रिक भन्ने देशहरु महिलाका राजनीतिक अधिकारमा बारम्बार धाबा बोल्ने गरेको यथार्थले महिला अधिकारमा विश्वको पश्चगमनको यात्रालाई संकेत गर्छ।
केही समयअघि मात्रै अमेरिकी अदालतले गर्भपतन गर्न पाउने अधिकारमा अंकुश लगाउने कुरा होस् या समय-समयमा भारत, नेपालका अदालतले बोल्ने कुरा होस्। दी ह्यान्डमेड्स टेल कल्पना मात्र हैन, हामी बाँचेको वर्तमान समेत हो।
नेपालको राज्य सत्ताले महिलालाई कानुनी रुपमै दोस्रो दर्जाको घोषित गरेको छ। नागरिकता विधेयकमा गरिएको व्यवस्था र मुलुकी देवानी संहिता लगायतमा गरिएका व्यवस्था हेर्ने हो भने हामीहरु समान हैसियतका नागरिक नभएको स्पष्ट देखिन्छ।
विभिन्न पालिकाले समय-समयमा महिलाको मोबिलिटीमा बन्देज लगाउने गरी बनाउने गरेका कानुन र राज्यले महिला आप्रवासीहरुको मौलिक अधिकारमाथि नै अंकुश लगाउँदै समय-समयमा लाद्ने गरेको विभेदकारी कानुन हाम्रो वर्तमान हो।
ह्यान्डमेड्स टेलमा देखाइएको गिलियाड शासनमा सेलिब्रेट गरिने एक मात्र कुरा भनेकै महिलाको प्रजनन क्षमता र सन्तान उत्पादन हो। गर्भवती भएको समयमा उसले 'जे गरे पनि सहन गर्ने' गरी गर्ने व्यवहारलाई हाम्रो समाजमा महिलाको सन्तानोत्पादन क्षमता, उसले घर समाजमा पाउने स्थान र स्वयं उसको महत्व निर्धारक तत्व भएको वर्तमान यथार्थसँग जोडेर हेर्न सकिन्छ।
प्रजनन क्षमता नभएका महिलालाई महिला नै नस्वीकार्ने उक्त शासन व्यवस्था हाम्रो सामाजिक यथार्थता हो। साथै प्रजनन क्षमता नभएका, उमेर ढल्केका महिलाहरु उक्त सत्ताका पुरुष र उक्त शासन व्यवस्थाको नजरमा समेत पर्दैनन् र घरेलु काम गर्ने दासीको हैसियतमा मात्र राखिन्छ। त्यो यथार्थ ती उमेर समूहका महिलालाई नेपाली घर-समाजले बोझ र महत्वविहीन व्यक्तिको रुपमा गर्ने गरेको व्यवहारसँग जोड्न सकिन्छ।
स्थापित सत्ताको बोली बोल्ने महिलालाई राज्यसत्ताले काखी च्याप्ने गरेको, महिला नै महिलाको सत्रु हो भन्ने भाष्य समाजमा स्थापित गराउन भूमिका खेल्ने गरेको कुरा समेत हाम्रो वर्तमान हो।
ट्रम्प जस्ता अधिनायकवादी शासक र उसको उपराष्ट्रपति जो समलैङ्गिक विवाह, गर्भपतन लगायतका अधिकारको विपक्षमा हुन्छन्, जस्ता शासकको उदय भइरहेको वर्तमान परिवेशमा विश्वभरि नै महिला अधिकारमा प्रहार गरिँदै आएको छ। महिलामाथि आक्रमणको लहर चलिरहेको वर्तमान समयमा विस्तारै गर्दै खोसिँदै गएका हाम्रा अधिकारले अन्तत: हामीलाई गिलियाड शासनको झल्को दिन थालेका छन्। यी प्रवृति विरुद्ध सचेत हुन ह्यान्ड मेड्स टेलले हामीलाई घच्घचाउँछ।
ह्यान्डमेड्स टेल अलि 'इन्टेन्स' नै छ। धेरैका लागि हेर्न मुस्किल हुन सक्छ। हर्दाहेर्दै बीचमै हेर्न छोडेको, हेर्न नै नसकेको धेरैको अनुभव छ। यस्तै अनुभवको बीचमा मैले पनि मुस्किलले हेर्न सकेको हो।
चार वटा सिजन, प्रत्येक सिजनमा १२/१४ वटा एपिसोडले गर्दा सिरिज धेरै नै लामो लाग्न सक्छ। अन्तिम सिजनको रुपमा हुलुले पाँचौं सिजनको भर्खर मात्र ट्रेलर सार्वजनिक गरेको छ। पाँचौं सिजनको लागि प्रतिक्षारत छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।