क्यालिफोर्निया– अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘कार फायर’ नाम दिइएको डढेलोका कारण दुई अग्नि नियन्त्रकले ज्यान गुमाएका छन् भने हजारौँ मानिस विस्थापित बनेका छन्।
डढेलोले पाँच सयभन्दा बढी संरचना ध्वस्त बनाएको छ। हजारौँ घरहरू जोखिममा परेका छन्।
वेगसाथ चलेको हावाहुरीका कारण त्यहाँ आगोका लप्काहरू आँधीजस्तो फैलिएको बताइएको छ।

शास्टा क्षेत्रमा फैलिएको आगोलाई उच्च वेगको हावाले आँधीको स्वरूप दिएको छ, जसले रुख तथा गाडीहरूलाई सडक किनारामा लडाइदिएको छ।
आगलागी नियन्त्रणका लागि अग्निनियन्त्रकहरू अनवरत खटिरहेका भएपनि आगोको प्रभाव खासै नियन्त्रणमा ल्याउन सकिएको छैन।
सोमबार सुरु भएको डढेलो सानफ्रान्सिस्को शहरको क्षेत्रफल बराबर अर्थात् ४८ हजार एकड क्षेत्रफलमा फैलिएको छ। रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।