ब्रसेल्स– क्याटलोनियाका पूर्वप्रमुख नेता काल्र्स पुज्डमोन जर्मनीबाट रिहा भई बेल्जियम पुगे लगत्तै आफूले ‘क्याटलोनियाली जनताको न्यायको पक्षमा सङ्घर्ष गरिरहने’ बताएका छन्।
स्पेनी केन्द्र सरकारको अनुरोधमा जर्मनीमा चार महिनासम्म जेल जीवन विताएका क्याटोलोनियाली पूर्व नेताले शनिबार क्याटलोनियाली प्रतिनिधिमण्डलसँगको कुराकानीमा भने,‘यो मेरो सङ्घर्षको अन्त्य होइन। म मेरो महादेशको अन्तिम छेउसम्म क्याटलोनियाली जनताको न्यायको आवाज बोकेर अनवरत सङ्घर्ष गरिरहनेछु।’
स्पेनी अदालतले पुज्डमोनमाथि लगाएको यूरोपेली पक्राउ आदेशलाई खारेज गरिदिएपछि यसै हप्ता ब्रसेल्स पुगेको बताउँदै क्याटलोनियाली पूर्व नेताले भने, ‘मेरो राजनीतिक गतिविधि बेल्जियममा केन्द्रित रहनेछ र पक्कै पनि मेरो लक्ष्य भनेको क्याटलोनियाली जनताद्वारा गतवर्ष जनमतसङ्ग्रहबाट दिएको क्याटलोनियाको स्वतन्त्रताका लागि जनमतलाई पूरा गर्नमा केन्द्रित हुनेछ।’
नेता पुज्डमोन क्याटलोनियाका आफ्ना उत्तराधिकारी क्वीम टोराले आयोजना गरेको पत्रकार सम्मेलनमा अझै पनि आफू क्याटलोनिया क्षेत्रको वैध सरकार प्रमुख भएको दावी गरे।
पुज्डमोनले प्रसिद्ध फ्रेन्च शासक नेपोलियनलाई यूरोपेली शक्तिहरूको एकताका कारण सन् १८१५ मा पराजित गरिएको स्थान वाटरलुमा शनिबार अपरान्ह् पुगेर क्याटलोनियाली जनताको मुक्तिका लागि प्रतिवद्धतासमेत व्यक्त गरेका छन्।
वाटरलुमा पुगेर ५५ वर्षीय क्याटलोनियाली पूर्व नेता पुज्डमोनले गणतान्त्रिक परिषद्को गठन पनि गरेका छन्। परिषद्लाई क्याटलोनियाको स्वतन्त्रताको लागि सङ्घर्ष गर्ने मोर्चाका रूपमा अघि बढाउने उनले बताए।
उनले स्थानीय अधिकारी रहेको एउटा सभाको गठन गरी क्याटलोनियाली क्षेत्रीय सरकारको समानान्तर शक्तिका रूपमा काम गर्ने पनि सम्मेलनमा घोषणा गरे। गत वर्षको अक्टोबरमा क्याटलोनियालाई स्पेनबाट पृथक बनाउने असफल प्रयास गरेको भन्दै केन्द्र सरकारको निर्देशनमा क्याटलोनियाली सरकार प्रमुखबाट बर्खास्त गरिएका पुज्डमोन आफ्ना केही सहयोगीसहित बर्खास्त भएको केही दिनभित्र ब्रसेल्स पुगेका थिए।
उनलाई पछि फिनल्याण्डबाट ब्रसेल्स पर्किने क्रममा जर्मनीमा पक्राउ गरिएको थियो। तर स्पेनले भनेजस्तो राजद्रोहको अभियोग लगाउन जर्मनीको अदालतले नमानेको र सामान्य भ्रष्टाचार आरोपमा सुपुदर्गी गर्ने बताएको थियो।
उनीमाथिको अन्तर्राष्ट्रिय पक्राउ आदेशलाई स्पेनी अदालतद्वारा खारेज गरेपछि उनको रिहाई भएको र हाल ब्रसेल्स पुगेका हुन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।