जनकपुर– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकको समृद्धिका लागि अल्लाहसँग कामना गर्न हजयात्रीहरुलाई आग्रह गरेका छन्।
धनुषाबाट हजयात्रामा जाने ३२ जना मुस्लिम श्रद्धालुलाई आज बिदाइ गर्दै मुख्यमन्त्री राउतले प्रदेश तथा मुलुकको समृद्धिका लागि कामना गर्न आग्रह गरे।
हज कमिटीका कारण विगतमा हज–यात्रीहरुले भोग्नु परेको समस्या स्मरण गर्दै उनले हज कमिटीलाई राजनीतिबाट मुक्त बनाउनु पर्नेमा जोड दिए। हज यात्राको प्रक्रियाबारे जानकारी नहुँदा यात्रीले साउदीमा समस्या भोग्नु परेको विषलाई मध्यनजर गरी प्रदेश सरकारले प्रशिक्षणको व्यवस्था समेत गर्न लागेको जानकारी दिए।

प्रदेश सरकारले सबै जात, धर्म र वर्गको समृद्धिका लागि काम गरिरहेको बताउँदै मदरसा शिक्षालाई व्यवस्थित गर्दै मुलुकको मूलधारमा ल्याउने उद्देश्यका साथ मदरसा शिक्षा बोर्ड सम्बन्धी कानुन केही दिन भित्रै ल्याउने तयारी भइरहेको पनि उनले जानकारी दिए।
शिक्षा नै समृद्धिको मूल आधार रहेकाले बालबालिकाको शिक्षामा जोड दिन मुख्यमन्त्री राउतले धर्मगुरु र अगुवाहरुलाई आग्रह समेत गरे।
यस वर्ष धनुषाबाट १२ महिला सहित ३२ जना श्रद्धालुहरु हज यात्रामा सहभागी हुँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।