काठमाडौं– डा गोविन्द केसीसँग गरिएको सम्झौता अक्षरस कार्यान्वयन गर्न सरकारलाई शनिबारबाट दबाव दिन सुरु गरिएको छ।
नागरिक समाजका अगुवाहरुले डा केसीको माग सम्बोधन हुनेगरी ९ बुँदे सम्झौता गरेकोमा धन्यवाद दिँदै अक्षरस कार्यान्वयन गर्न सरकारलाई दबाव दिन सुरु गरेका हुन्।
शनिबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएका उनीहरुले डा केसीको माग सम्बोधन गर्न साथ दिने सबैप्रति पनि आभार व्यक्त गरेका छन्। अब सरकारले सो सम्झौतालाई अक्षरस पालना गर्ने विश्वास समेत आफूहरुले लिएको नागरिक समाजका अगुवाहरुले बताएका छन्। उनीहरुले डा केसीसँगको सम्झौता अनुसार कानुन निर्माणमा पनि ढिलाई नहुने विश्वास व्यक्त गरे।
दबाव अभियानमा सहभागी भएकाहरुले ‘गोविन्द केसीसँग भएका सम्झौता अक्षरस पालना होस्’ भन्ने कामनासहितको प्लेकार्ड प्रर्दशन गरेका थिए। सरकारले बिहीबार डा केसीसँग ९ बुँदे सम्झौंता गरेपछि त्यसको सबै क्षेत्रबाट स्वागत गरिएको थियो।
सरकारले सोही सम्झौता बमोजिम शुक्रबार संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।