रसुवा– चीनसँग जोड्ने नेपालको एकमात्र अन्तर्राष्ट्रिय नाका रसुवागढीमा टिमुरे घट्टेखोलाको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।
सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार रसुवागढी–गल्छी राजमार्गअन्तर्गत घट्टेखोलामा रहेको पक्की पुलको पिल्लर वर्षाको कारण पानीको बहाव बढ्न गई बगाएर क्षति पुर्याएकाले जोखिम न्यूनीकरण गर्न मालवाहक ठूला सवारीसाधन आवातजावतमा शुक्रबार अपराह्नदेखि रोक लगाइएको हो।
हल्का सवारीसाधनलाई भने आवातजावतमा खुला गरिएको छ। दैनिक १ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन हुने नेपालको उत्तरी नाकाबाट सामान आयात–निर्यात हुने पुल जोखिममा परेपछि केरुङतर्फ गएका दर्जनौँ ट्रक तथा कन्टेनर केरुङमा अलपत्र परेका छन्।
उता चर्को पार्किङ शुल्कले व्यवसायीलाई मर्का परेको कन्टेनर संघले जनाएको छ। दायाँबायाँबाट वैकल्पिक सडक खोल्ने स्थानसमेत नभएको प्रहरीले जनाएको छ।
यसैबीच, बुधबार गएको पहिराले अवरुद्ध टिमुरे नजीकको राजमार्ग भने शुक्रबारदेखि सञ्चालनमा आएको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।