काठमाडौं– ब्रिटिश महारानी एलिजाबेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको छ। उनको निधनमा संसारभरिबाट शोक तथा श्रदाञ्जली व्यक्त भइरहेका छन्।
उनको निधनपछि उनको उत्तराधिकारी राजकुमार चाल्र्सले राजगद्दी सम्हालेका छन्। महारानी एलिजाबेथलाई बुझ्न एजेन्सीहरुको सहयोगबाट तयार पारिएका १० वटा बुँदा पढ्नुहोस्।
१. एलिजाबेथको जन्म सन् १९२६ अप्रिल २१ मा लण्डनमा भएको थियो। उनको पुरा नाम एलिजाबेथ एलेक्जान्ड्रा मेरी विन्ड्सन हो।
२. सन् १९३६ मा बेलायतको राजपरिवारमा नाटकीय परिवर्तन आएपछि उनका पिता राजकुमार अल्बर्टलाई राजाको उपाधि मिलेको थियो। तत्कालीन राजा एड्वर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि गद्दी त्याग गरेपछि उनका पितालाई राजा बनाइएको थियो। त्यसपछि एलिजाबेथ राजसंस्थाकी उत्तराधिकारी बनेकी थिइन्।
३. उनको विवाह सन् १९४७ नोभेम्बर २० मा राजकुमार फिलिपसँग भएको थियो। फिलिपको सन् २०२१ मा ९९ सय वर्षको उमेरमा निधन भयो । उनीहरूबाट ४ सन्तानको जन्म भएको छ। १९४८ मा पहिलो सन्तानको रुपमा प्रिन्स चाल्र्स, १९५० मा प्रिन्सेस एन, १९६० मा प्रिन्स एन्ड्रू र १९६४ मा प्रिन्स एड्वर्डको जन्म भएको थियो। उनका ८ नातिनातिना र १२ पनाति पनातिना रहेका छन्।
४. एलिजाबेथले उनको पिताको निधनपछि १९५३ जुन २ मा राज्यारोहण गरेकी थिइन्। गद्दी सम्हाल्दा उनी २७ वर्षकी थिइन्।
५. एलिजाबेथले २०औंं शताब्दीको मध्येबाट एककाइसौं शताब्दीको पहिलो दुई दशक शासन गरेकी छन्। उनको शासन अवधि कूल ७१ वर्षको रह्यो । उनी बेलायतसहित कमनवेल्थका १४ वटा देशकी महारानी हुन्।
६. एलिजाबेथको शासनकालमा बेलायतमा १५ जना प्रधानमन्त्री बनेका छन्। उनले राज्यारोहण गर्दा बेलायतमा विन्स्टन चर्चील प्रधानमन्त्री थिए भने उनको निधन हुँदा भर्खरै मात्र लिज ट्रस प्रधानमन्त्री बनेकी छन्। उनले अमेरिकाका करिब १५ जना राष्ट्रपति र ५ जना पोपसँग भेट गरेकी थिइन्।
७. एलिजाबेथको शासनकालको सबैभन्दा संकटपूर्ण स्थिति भनेको १९९७ अगस्टमा पेरिसमा राजकुमारी डायना (राजकुमार चालर्सकी श्रीमती)को शंकास्पद कार दुर्घटनामा मृत्यु भएपछिको समयलाई मानिन्छ। डायनाको शोकसभामा मानिसहरुको असाधारण उपस्थिति रहेको थियो। यसपछि महारानीका विरुद्ध आवाजहरू पनि उठेका थिए।
८. एलिजावेथको शासनकालमा विश्वमा प्रविधिमा ठूलोे परिवर्तन भएको छ। मानिसहरू चन्द्रमा पुगेका छन्। सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय उपलब्धि भएका छन्।
९. नेपालको पहिलो दैत्य सम्बन्ध स्थापना भएको मुलुक हो बेलायत। सन् १८१६ मा भएको सुगौली सन्धिपछि नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
१०. एलिजाबेथ सन् १९६१ (२०१७ मा वीपी कोइरालाको सरकार अपदस्थ भएलगत्तै) र सन् १९८६ (पञ्चायत शासनको उत्तरार्द्ध)मा नेपाल भ्रमण गरेकी थिइन्। महारानीसँग नेपालको तर्फबाट औपचारिकरुपमा अन्तिम संवाद भने लण्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गत चैतमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्दा भिडियोमार्फत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।