टोकियो– विश्वकै सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको १ सय १७ वर्षको उमेरमा निधन भएको छ।
जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो।
सन् १९०१ को मे २ तारिखमा जन्मिएका मिया गत अप्रिलदेखि जापानको सबैभन्दा ज्येष्ठ नागरिक थिइन्।
गत अप्रिलमा १ सय १७ वर्षकै उमेरमा नावि ताजिमाको निधन भएको थियो।
आइतबार निधन भएकी मियाको संसारकै सबैभन्दा ज्येष्ठ नागरिक भएकोसमेत बताइएको छ। उनको निधनअघि गिनिज बुक अफ वल्र्ड रेकड्र्सले उनलाई संसारकै सबैभन्दा जेष्ठ नागरिकको रुपमा प्रमाणपत्र प्रदान गरेको थियो।
उनको निधनपछि जापानमा अब सबैभन्दा ज्येष्ठ नागरिक काने तानाका बनेकी मन्त्रालयले जनाएको छ।
तानाकाको जन्म सन् १९०३ जनवरी २ तारिखमा भएको थियो। उनको उमेर हाल १ सय १५ वर्ष छ।
जापानकै सबैभन्दा ज्येष्ठ पुरुष भने १ सय १३ वर्षका मासाजो नोनाका हुन्। उनलाई विश्वकै सबैभन्दा ज्येष्ठ पुरुष मानिन्छ। उनको नाम गिनिज बुकमा पनि विश्वकै सबैभन्दा ज्येष्ठ पुरुषको रुपमा रहेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।