जनकपुरधाम- धनुषाको नगराईन नगरपालिकास्थित जटही पिपरौनको दशगजा क्षेत्रमा भारतीय पक्षले नेपाली भूमीतर्फ कस्टम कार्यालय बनेको भन्दै विवादित बनेपछि नेपालले नापीको काम सुरु भएको छ।
करिब एक महिनाअघि भारतीय पक्षले जटही पुल नजिकै दशगजा क्षेत्रमा सुरु गरेको कस्टम कार्यालय निर्माण कार्यलाई सशस्त्र प्रहरी बल नगराइनले रोकेको थियो। सशस्त्रले निर्माण कार्य रोकिदिएपछि विवाद उत्पन्न भएको थियो।
त्यसपछि बिहीबार नेपाल सरकारका तर्फबाट नापी विभागका उपसचिव रमेश ज्ञवालीसहित परराष्ट्र र गृह मन्त्रालयका प्रतिनिध सम्मिलित टोलीले नापीको काम सुरु गरेको हो। ज्ञवालीले भने, ‘भारतीय पक्षबाट कन्सट्रक्सनको काम गर्न सुरु गर्दा सो काम दशगजाभित्र पर्योा कि परेन भनी नाक्सा बमोजिक स्थलगत काम सुरु गरेको छु।’ उनले १० दिनभित्र नापी सकेर निचोड निकाल्ने जानकारी दिए।
त्यस्तै, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका अन्तर्गत बेला गाउँमा रहेको खोलामा पुल निर्माणको कामलाई भारतीय पक्षले रोक लगाएपछि त्यसको समेत अनुगमन गरिएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा उपसचिव ज्ञवाली, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलिया, सशस्त्र प्रहरी उपरीक्षक राजु पाण्डे, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रतिनिधि लगायतको टोलीले अनुगमन तथा नापीको काम गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।