सरकारले आउँदो मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तय गरिसकेको छ। उक्त निर्वाचनमा युवाहरूले समेत उम्मेदवारी घोषणा गरिरहेका छन्। सत्तारुढ गठबन्धनसंग आबद्ध युवाहरू पनि यतिबेला टिकटको लबिइङ गरिरहेका छन्। यसैमध्येका एक हुन् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङ।
दलहरूमा युवा नेताको भूमिका र सम्भावना कस्तो छ? आगामी निर्वाचनमा उनीहरू के अजेण्डा लिएर होमिँदैछन्? यिनै विषयको सेरोफेरोमा रहेर सत्ता गठबन्धनको एउटा घटक माओवादी केन्द्रका केन्द्रीय सदस्य तामाङसँग नेपाल लाइभका लागि भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानी :
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आउनु भएको छ। कस्तो अनुभव भइरहेको छ?
राज्यका निकायहरू, तीनिहरूको काम गर्ने तरिका, जनताको अपेक्षा र सरकारले दिने डेलिभरीका बीचमा के भिन्नता छ? जनताको आवश्यकता, अपेक्षा पूरा भएको छ कि छैन भन्ने विषय मैले गहिरो रुपमा अनुभूति गर्ने मौका पाएको छु। जनताको अपेक्षा जुन उचाइमा छ, सरकारको, राज्यको वा राजनीतिक दलको त्यस अनुरुपको भूमिका वा डेलिभरी छैन। जसका कारण राजनीतिक नेतृत्वप्रति, राजनीतिप्रति, सरकारप्रति सन्तुष्ट हुने ठाउँ एकदम कम छ। त्यसैले राजनीतिक नेतृत्व र राजनीतिक दलहरूप्रतिको विश्वसनियता पनि घट्दै गइरहेको छ। अब परम्परागत राजनीतिले मात्रै हुँदैन।
विगतको पुस्ताले जसरी राजनीतिक परिवर्तनका लागि नेतृत्व गर्यो। अब विकास, समृद्धि वा अहिलेको आवश्यकता परिपूर्ति नयाँ पुस्ताको आवश्यकता रहेको अनुभूति भएको छ। एक ढंगले भन्दा केन्द्रीय राजनीतिमा बस्दा देशका सबै सकारात्मक वा नकारात्मक विषय अनुभूति गर्ने, अनुभव गर्ने एउटा मौका मिले जस्तो भएको छ।
विद्यार्थी राजनीति र केन्द्रीय राजनीतिमा के–के समानता रहेछन्?
विद्यार्थी राजनीतिमा हुँदा पनि मैले विशुद्ध शिक्षा क्षेत्रको मात्रै नभइ समग्र क्षेत्रको अनुभूति गर्ने अवसर पाएको थिएँ। विद्यार्थी राजनीतिको त्यो जगको कारणले गर्दा अहिले पार्टी राजनीतिलाई कसरी व्यवस्थित गर्ने? कसरी बढीभन्दा बढी जनताको आवश्यकतामा केन्द्रित गर्ने? जनताको दिनानुदिनका चाहनाहरूलाई कसरी सम्बोधन गर्ने? भन्ने कुुरामा नीति बनाउने, योजना बनाउने, कार्यक्रम बनाउने, पार्टीमा आफ्ना धारणाहरू राख्ने र पार्टीलाई पनि त्यस अनुरुप रुपान्तरण गर्न भूमिका खेल्ने एउटा अनुभव मलाई प्राप्त भयो।
राजनीतिक परिवर्तनका प्रायः सबै आन्दोलनको नेतृत्व विद्यार्थीहरूले नै गरेको इतिहास छ। बलिदान पनि सबैभन्दा बढी गरेको, त्याग पनि सबैभन्दा बढी गरेको, परिवर्तनका लागि सबैभन्दा बढी संघर्षमा भाग लिएको विद्यार्थी राजनीति देख्छौं। तर, त्यसपछि राजनीतिक परिवर्तनको जुन प्रतिबिम्ब देखिनु पर्ने हो त्यो चाहिँ देखिरहेको छैन। यद्यपि, मलाई विगतका अनुभूतिका आधारमा जनप्रिय कार्यक्रम सुनाउन, जनताका अजेण्डा र मुद्दालाई सम्बोधन गर्न पार्टीलाई केन्द्रित गराउनका लागि धेरै सहयोग पुगिराखेको छ। म त्यही अनुरुप भूमिका खेलिरहेको छु।
माओवादीमा आन्तरिक राजनीति खुम्चिएको छ भनिन्छ। प्रचण्डले प्रश्न गर भन्दा पनि प्रश्न गर्दैनन् भन्छन् नि?
पार्टी निर्माणको हाम्रो आधार के हो? भन्दा हामीले हाम्रो विधानलाई जनवादी केन्द्रियता भन्छौं। जनवादी केन्द्रियता भनेको पार्टी भित्रको लोकतन्त्रलाई बलियो बनाउँदै नीति, सिद्धान्तका आधारबाट, विचारको आधारबाट, रणनीतिका आधारबाट अगाडि जाने हो। त्यसमा हामीले के भन्यौं भने, छलफलमा स्वतन्त्रता, कामकाबारहीमा एकरुपता भन्यौं। यद्यपि, यो कुराले मात्र आज धान्नेवाला छैन। हामी जुन राजनीतिक प्रणालीमा सहभागी भएका छौं, त्यो प्रणालीमा आइपुग्दा हामीलाई नेपाली कांग्रेसको हावाले पनि प्रभाव पारेको छ। नेकपा एमालेको हावाले पनि प्रभाव पारेको छ। हिजोको परम्परागत शक्तिले पनि प्रभाव पारेको छ। राजनीतिक पार्टीको संस्कारले पनि हामीलाई प्रभावित पारेको छ।
हामी निर्वाचनमा गएर आन्तरिक लोकतन्त्रको, जनवादको, प्रजातान्त्रिक अभ्यास गर्न पनि नसक्ने अवस्थामा भयौं। त्यसले पनि हामीलाई ठिक ठाउँमा पुर्याउन सक्दैन भन्ने हाम्रो सैद्धान्तिक बुझाइ रह्यो। तर, व्यावहारिक ढंगले हेर्दा चुनावभन्दा बाहिर सहमतिको विधिमा जाँदा न्यायपूर्ण ढंगले सबै नेता कार्यकर्ताहरूलाई सम्बोधन हुन नसक्ने। त्यसो हुँदा निर्वाचनमा पनि जान नसक्ने, सहमतिको एउटा सर्वमान्य विधि निर्माण गर्न पनि नसक्ने मोडमा चाहिँ हामीले पार्टीलाई नयाँ ठाउँमा, नयाँ विधिमा उठाउनु पर्छ भन्ने भएको छ। आन्तरिक लोकतन्त्र र जनवादको कुरा गर्दा पार्टीभित्र आन्तरिक जनवादको व्याख्या गर्ने कुरा, पार्टीभित्र आन्तरिक अभ्यास गर्ने कुरामा हाम्रो कहिँ न कहिँ समस्या रहेको छ।
किनभने हिजो जनयुद्धको बेलामा हामीले संगठनभित्र अधिकतम केन्द्रियता, नेतृत्वको केन्द्रिकरणको कुरालाई योजना बनाएर गयौं। त्यसभित्र जनवादको कुरा, छलफलको कुरा, बहसको कुरा, विचारको कुरा, कतिपय व्यक्तिगत स्वतन्त्रताको कुरालाई हामीले गौण मान्यौं। पार्टी संगठन राम्रै बनेको थियो। ठीकै बनेको थियो। नेता, नेतृत्व चयन छनोटको कुरा पनि खास धेरै विमति थिएन। असन्तुष्टि थिएन। तर, आजको प्रणालीमा आइसक्दा पनि हिजोकै जनयुद्धको प्रक्रियाबाट वा हिजैकै जनयुद्धको शैलीबाट जाने एउटा ह्याङओभर छ। अर्काे कुरा आजको राजनीतिक प्रणालीमा आइपुग्दा राजनीति प्रणाली चाहिँ कतिपय खुला प्रतिस्पर्धाको माग गरेको छ।
कहिले नेकपा एमालेसँगको एकता, कहिले नेपाली कांग्रेससहितका राजनीतिक दलहरूसँगको कार्यगत एकता जस्ता कुराहरूले त्यसभित्रका शैली, तरिका, संस्कारहरू पनि हामीसँग आयातित रुपमा प्रभावित गरिराखेको छ। त्यसैले आन्तरिक लोकतन्त्रको कुरालाई हामीले व्यवस्थित गर्नुपर्ने आवश्यकता छ।
माओवादी पार्टी खुम्चिनुको कारण पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुनु हो भनिन्छ। तपाईंले महसुस गर्नु भएको छ?
महसुस गरेको छु। यो किन गरेको छु भने, भनिन्छ नि गणेश प्रवृत्ति र कुमार प्रवृत्ति। हामीसँग दुवै प्रवृत्तिका मान्छेहरू छन्। नेतृत्वको वरिपरि घुम्नेहरूको पनि तप्का छ। जसले नेतृत्वलाई विभिन्न ढंगबाट भ्रमित गर्ने, प्रभावित गर्ने काम गरिरहेका छन्।
अर्काेतिर जो जनतासँग जोडिएका छन्। जनताको समस्यासँग जाोडिएका छन्। जनताको दिनानुदिन समस्यासँग पार्टीको नीति, विचार, सिद्धान्तलाई लिएर गएका छन्। पार्टीको विधिलाई पार्टीको सिद्धान्तलाई बोकेर लागिरहेको तप्का छ। तर, संगठन निर्माणमा, पार्टी निर्माणमा दुःख गरेका कुमार प्रवृत्तिका मान्छेहरूको अवमूल्यन हुने र गणेश प्रवृत्तिका मान्छेहरूको बढी मूल्यांकन हुने विकृति छ। जसले आन्तरिक जनवाद, लोकतन्त्र कमजोर भयो भन्ने छ। नेतृत्वलाई आलोचना गरेको, नेतृत्वलाई टिप्पणी गरेर प्रश्न उठाएको नाममा पनि कतिपय साथीहरूलाई पूर्वाग्रह साँधिएको छ। राजनीतिक जीवनमा नै निराशाजनक किसिमले वा निराश हुने ढंगले वातावरण बनेको छ। त्यो कारणले मलाई आन्तरिक जनवादको सन्दर्भ ठीक ढंगले प्रयोग भएको छैन भन्ने महसुस भएको छ। त्यो कुरालाई करेक्सन गर्नका निम्ति हामीले पार्टीभित्र संस्थागत प्रणालीको विकास गरेर जाउँ भन्ने कुरालाई अलि बढी रुपमा उठाएका छौं।
यो कुराको समाधान भनेको चाहिँ पार्टीलाई संस्थागत प्रणालीमा जाने हो। सामूहिकतामा आन्तरिक जनवादलाई मजबुद बनाएरै पाटी निर्माण हुन्छ। पार्टी पुनर्गठन, अथवा पुनर्ताजकी हुन्छ भन्ने अहिलेको आवश्यकता हो। हाम्रो बुझाइ हो। यसका अलवा कतिपय प्रवृत्तिका कारणले मैले पनि अनुभूति गरेको छु र धेरैवटा कमिटीमा पनि यो अनुभूति भइराखेको छ।
उसो भए प्रचण्डलाई प्रतिस्थापन गर्न सक्ने पुस्ता माओवादीमा किन नजन्मिएको?
राजनीतिक आन्दोलनले, राजनीतिको भट्टीबाट, सामाजिक आन्दोलनबाट नयाँ–नयाँ पुस्ताहरूको जन्म गराइहाल्छ। त्यो जन्मिहाल्छ। यो नेपालको राजनीतिक इतिहास वा विश्वको राजनीतिक इतिहासले सिद्ध गरिसकेको कुरा हो। तर, अहिलेको सन्दर्भमा पार्टी अध्यक्ष प्रचण्ड कमरेडको तुलनामा अरु कमरेडहरूले नेतृत्व गरिहाल्ने देखिँदैन। सबैलाई मिलाउन सक्ने त्यसप्रकारको क्षमता, त्यसप्रकारको डाइनामिक नेतृत्व तत्काल अरुमा देखिराखेका छैनौं।
हाम्रो पुस्ताले मात्र हैन। हामी भन्दा अगाडिको पार्टीको सेकेन्ड, थर्ड पुस्ताले पनि यो कुराको अनुभूति गरेको हुनाले उहाँको प्रतिस्थापनको कुरा हुँदैन। अर्काे कुरा भनेको कतिपय इतिहासका युगान्तकारी परिवर्तनमा नेतृत्व गरेका व्यक्तिहरू आफ्नो जीवनको एउटा कालखण्डसम्म अविछिन्न र निर्विरोध नेतृत्वको रुपमा रहने प्रकारको इतिहास हिजो पनि अन्य राजनीतिक दलहरूमा समेत थियो। त्यो हाम्रोमा पनि छ। यत्रो २४० वर्षको राजतन्त्रलाई अन्त्य गरेर, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर समानुपाति, समावेशी, सामाजिक न्यायमा आधारित समाज व्यवस्था जस्ता कुराको नेतृत्व गरेको कमरेड प्रचण्ड अहिले नै हाम्रो पार्टीको नेतृत्वबाट बिदा गर्ने कुरा उपयुक्त होइन।
उहाँले एउटा युगान्तकारी परिवर्तनको नेतृत्व गर्नुभएको थियो। त्यसअर्थमा हामी प्रचण्ड कमरेडलाई एउटा समयसम्म यो राजनीतिक व्यवस्थालाई, यो व्यवस्थालाई संस्थागत गर्ने समयसम्म पार्टीको नेतृत्वमा राख्न चाहन्छौं। र, अहिले त्यो समय आएको छैन। निकट भविष्यमा त्यो समय आउने छ। अहिले तत्काल प्रचण्डको विकल्प खोजिहाल्ने स्थिति छैन। प्रचण्ड कमरेडलाई हामी देशको राजनेताको रुपमा, एउटा युगको नेताको रुपमा सम्मानपूर्वक पार्टीबाट विदा गर्न चाहन्छौं। त्यो हाम्रो पुस्ताको चाहना पनि हो।
निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा तपाईं झापाकेन्द्रित हुनुहुन्छ। तपाईंले टिकट पाउने पक्का हो?
होइन, अहिले नै पक्का छैन। मेरो मात्र होइन कसैको पनि पक्का छैन। तपाईंले नै भन्नु भएजस्तो म विद्यार्थी राजनीतिमा लामो समयसम्म बसें। अहिले पार्टी राजनीतिमा छु। पार्टी राजनीतिमा हुँदा स्वाभाविक रुपले नीति निर्मााणको तहमा जानका लागि हाम्रो प्रणालीले अनिवार्य रुपमा सांसद हुनुपर्ने अवस्था छ। प्रतिनिधि सभा वा प्रदेश सभामा जानु पर्ने कुरा सिद्ध छ।
उमेरका हिसाबले पनि, अनुभवका हिसाबले पनि, अहिलेको आवश्यकताको हिसाबले पनि म एउटा आंकाक्षी चाहिँ हो। मैले पार्टीलाई पनि यो कुरा भनेको छु। विभिन्न तह र गठबन्धनमा पनि यो कुरा मैले राखेको छु। म चाहिँ मेरो गृहजिल्ला भएकाले झापा क्षेत्र नम्बर ५ बाट एक आंकाक्षी हुँ भनेको छु। पार्टीले मलाई टिकट दियो भने र गठबन्धनमा सहमति भयो भने चुनाव लड्छु भनेर भनेको हुँ। त्यसको निम्ती म गाउँमा पनि गएको छु। जनताको कुरा पनि बुझेको छु। सबै गठबन्धनमा आवद्ध नेता र कार्यकर्ताको कुरा पनि सुनेको छु। सुझाव पनि लिएको छु। आजको नयाँ पुस्ता, आजको युवा पुस्ता राजनीतिमा आओस्, नेतृत्वमा आओस् भन्ने आमजनता र युवाको चाहनाको आधारमा मैले आकांक्षा राखेको हुँ। त्यसैले पार्टीले उपयुक्त ठान्यो भने उम्मेद्वार बन्छु भन्ने मेरो कुरा हो।
नेताहरूले सुरक्षित ठाउँ आफूलाई राखेर केपी ओलीसँग तपाईंलाई भिड्न लगाएर तपाईंको राजनीति समाप्त पार्न खोजेका त हैनन्?
मलाई त्यस्तो लाग्दैन। को सुरक्षित, को असुरक्षित? भन्ने कुरा नै छैन। इतिहासको निर्माता जनता हुन् भनेर संविधानले भनेको छ। दिग्गज नेताहरू पराजित हुने र नयाँ जनप्रतिनिधि आउने हाम्रा अनुभव छन्। विगतका निर्वाचनहरूमा पनि भएको थियो। कमरेड प्रचण्डले पनि काठमाडौं–१० बाट निर्वाचन हार्नु भएको हो। केपी ओलीले पनि २०६४ को चुनाव हार्नु भएको हो। रामचन्द्र पौडेलले पनि निर्वाचन हार्नु भएको हो।
तपाईंले देख्नु भयो भने कतिपय हेभीवेट भनिएका नेताहरूलाई पनि जनताले विगतमा पछारेका छन्। पराजित गरेका छन्। यस आधारमा तपाईं नै भन्नुहोस् कि हिजो के उनीहरूको राजनीतिक जीवन समाप्त पार्न खोजिएको थियो त? त्यस्तो होइन। त्यसैले त्यस्तो ठानेको छैन र केपी ओलीसँग चुनाव लड्नका पनि मेरा आफ्नै तर्कहरू छन्। त्यसमा मेरो राजनीति समाप्त हुन्छ भन्ने होइन्। राजनीति बन्छ भन्ने हो। त्यो आधारमा म केपी ओलीसँग लड्न तयार छु भनेको हुँ।
केपी ओलीलाई हराउने तपाईंका अजेण्डा के–के छन्?
अजेण्डाको कुरा गर्दा तपाईंले मतभारको कुरा पनि गर्नुभयो। अहिलेको गठबन्धनको आधारमा हेर्दा चाहिँ ५/६ हजार मतले नेकपा एमाले अगाडि देखिन्छ। ओलीले अहिले सहजतापूर्वक ढंगबाट झापा ५ बाट लड्ने कि नलड्ने भन्ने घोषणा गर्न सकिरहनु भएको छैन। उहाँ पनि हिचकिचाई रहनु भएको छ।
मेरो अजेण्डाको कुरा गर्नुहुन्छ भने यसअघि केपी ओलीलाई देशको प्रधानमन्त्री बनाउनका लागि 'म्यान अफ दि इलेक्सन' बनाउन भनेर म भाषण गर्दै हिँडेको व्यक्ति हुँ। उहाँ प्रधानमन्त्री पनि बन्नु भयो। साढे तीन वर्ष प्रधानमन्त्री बन्दा हामीले अनेकौं प्रश्न उठाएका थियौं। समाजवादको कुरा उठाएका थियौं। कम्युनिस्टहरूको अलाइन्सले समाजवादको यात्रा सुनिश्चित गर्छ भनेका थिएनौं। तर, हामीले समाजवादको यात्रा सुनिश्चित गर्न सकेनौं। राष्ट्रियता व्यवस्थित हुन्छ भनेका थियौं। व्यवस्थित हुन सकेन। हामीले जनजीविकामा ठूलो रुपान्तरण आउँछ भनेका थियौं त्यस्तो हुन सकेन।
शिक्षा, स्वास्थ्य, रोजगारजस्ता मौलिक हकहरूको ग्यारेन्टी हुन्छ। ऐन, कानुनहरू बन्छन्। संघीयता व्यवस्थित हुन्छ। गणतन्त्र संस्थागत हुन्छ। धर्मनिरपेक्षता लगायत परिवर्तनका सबै अजेण्डा संस्थागत हुन्छन् भनेका थियौं। त्यो कहिँ पनि केही भएन। त्यसैले उहाँलाई भनिएको के हो भने तेस्रो पटक प्रधानमन्त्री बन्नका लागि उहाँले निर्वाचन लडिराख्नु पर्ने कुनै जरुरी छैन। दुई पटकसम्म प्रधानमन्त्रीको अवसर पाइसक्दा पनि उहाँबाट अपेक्षाकृत परिणाम आउन सकेन। उहाँलाई ह्याट्रिक गर्नेगरि प्रधानमन्त्री बनाउनुपर्ने कुनै तर्क छैन। उहाँ फगत तेस्रोपटक प्रधानमन्त्री बन्नका लागि निर्वाचन लड्न कुनै आवश्यकता छैन। त्यसका लागि उहाँले प्रत्यक्ष निर्वाचन लडिरहनु आवश्यकता पनि छैन।
किनभने प्रत्यक्ष निर्वाचन लड्ने व्यक्ति जनताको हरेक सुख, दुःखमा पुग्नु पर्ने हुन्छ। त्यो जन्ती बन्नका लागि पनि पुग्नु पर्छ। मलामी बन्न पनि पुग्नुपर्छ। उहाँ आफैंलाई दुई जना सहयोगीले बोकेर हिँड्नु पर्ने स्थितिमा, भत्ता खाने बेलामा उहाँले फेरि सत्ताको रहर गर्ने? कुरा बिल्कुल वाञ्छनीय छैन। फुटबलमा पो तेस्रो गोल गर्दा ह्याट्रिक हुन्छ र एउटा खेलाडीको मान प्रतिष्ठा बढ्छ। नेपालको राजनीतिमा तपाईं तेस्रो चोटी प्रधानमन्त्री हुँदा छुट्टै सेवा सुविधा, मान सम्मान बढ्ने कुरा त हुँदैन। त्यसैले गर्दा म युवा छु। हरेक ठाउँमा, हरेक जनताको सुख, दुःखमा म पुग्न सक्छु। म गतिशील छु। म उहाँभन्दा सम्पूर्ण कुराले गतिशील कुरामा खट्न सक्छु। आफ्नो विषय र विचार राख्न सक्छु।
झापा क्षेत्र नम्बर ५ का जनताको आवश्यकताहरूलाई मैले बोकेर हिँड्न सक्छु। त्यसले गर्दा मेरो अजेण्डा त्यो हो। मैले उहाँलाई के भनेको हो भने, मेरो बुबाको उमेर र उहाँको उमेर उस्ताउस्तै हो। मेरो बुबालाई मैले अहिले एक हल राँगा किन्दिएर बुबा तपाईं यो जग्गा जोत्नु पर्यो। खेतिपाती गर्नु पर्यो भनेर भन्ने हो भने मेरो बुबालाई सजाय दिए जस्तो हुन्छ। त्यसैले के भन्छु भने यो उमेरमा सत्ताको दौडधुपको सक्रियता, क्रियाशीलता नभई उहाँलाई आराम चाहिएको छ। उहाँलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने, सांसद बनाउने भन्ने कुरा उहाँलाई बोझिलो हुन्छ। उहाँलाई आराम दिने हो। उहाँले गरेका राम्रा कामलाई बोकेर हामी हिँड्ने हो। उहाँले गरेका राम्रा कामलाई भत्काएर त्यसको श्रेय लिने कुरा हामी गर्दैनौं। मेरो अजेण्डा भनेको यही हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।