दाङ– यहाँ अहिले डेंगुका बिरामी उपचारका लागि जाने क्रम बढ्न थालेको छ । केही समयअघि बुटवल, नारायणघाटबाट आएकाहरुमा डेंगु पुष्टी भएको थियो । एक्कासि टाउको दुख्ने र वान्ता हुन थालेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षणका लागि पुगेका ती व्यक्तिमा डेंगु पुष्टी भएको थियो ।
उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी बेस्सरी दुख्ने, आँखा र टाउको दुख्ने लक्षण देखिएका बिरामी बढ्न थालेपछि शंका लागेर रगत परीक्षण गर्दा डेंगु पहिचान भएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले दैनिक १५ देखि २० जना बिरामी उपचारार्थ पुग्ने गरेका छन् । जसमध्ये सबैभन्दा धेरै घोराही १४ स्थित अटो टाउन भिलेजमा कार्यरत रहेका छन् । अस्पतालमा आउनेमध्ये अटो भिलेजका बिरामीमा डेंगु देखिने गरेको प्रतिष्ठानका फिजिसियन रमेश कँडेलले बताए।
डेंगुको प्रकोप घोराही उपमहानगरपालिकामा बढ्दो क्रममा रहेको घोराही उपमहानगपालिका स्वास्थ्य शाखाका प्रमुख नारायणप्रसाद घर्ती बताए । उनका अनुसार पालिकाको अटोभिलेज टाउनमा बढी प्रकोप देखा परेको छ । अहिले अटोभिलेजमा हप्ता दिनमै २० जनाभन्दा बढी डेंगुका बिरामी फेला परेका छन् । यसले गर्दा डेंगुको संक्रमण दर अझ बढ्न सक्ने अनुमान गरिएको उनले बताए।
‘डेंगु लामखुट्टेको टोकाईबाट सर्ने हुँदा संक्रमित मान्छे धेरै ठाउँमा डुल्दा त्यसको प्रभाव फैलिने सम्भावना हुन्छ,’ घर्तीले भने, ‘हामीले सचेतना फैलाउँदै नियन्त्रणको प्रयास शुरु गरिसकेका छौं ।’
स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले पनि डेंगु नियन्त्रणका लागि काम थालनी भएको जानकारी दिए । बाहिरी जिल्लाबाट आएका केहीमा डेंगु संक्रमण देखिएकोमा अहिले अटोभिलेजमा रहेका धेरैमा समस्या देखिएका उनले बताए । यसमा गम्भीर बन्न उनले आग्रह गरे।
हाल घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र केही नीजि स्वास्थ्य संस्थामा डेंगु रोग परीक्षण हुने गरेकोमा परीक्षणका दायरा बढाउने तयारी भएको छ । परीक्षणका लागि जिल्लामा कीट अभाव भएको शाहीको भनाई छ ।
‘अहिलेको अवस्थामा डेंगुको संक्रमण देखा परेकाले सतर्क हुने बेला आएको छ, कसलाई कतिबेला सर्छ थाहा हुँदैन, हामीसँग परीक्षण गर्न किट अभाव छ, रोग नियन्त्रण महाशाखामा जानकारी गराएका छौं,’ उनले भने । डेंगु रोग परिक्षणसँगै सरसफाई र सचेतना फैलाउनु पर्ने भएकाले स्थानीय सरकार, वडा कार्यालय र टोलविकास संस्थाहरुलाई विशेष ध्यान दिन सचेत गराइएको उनले बताए।
डेंगुकै संक्रमण भएको मानिसको रगत चुसेको लामखुट्टेले अर्को मानिसलाई टोक्दा संक्रमण भइहाल्ने उनको भनाई छ । डेंगुले सामान्यतया मानिसमा हुनुपर्ने १० देखि १५ हजार प्लेटलेट्स घटाउने र रगत नै चढाउनुपर्ने स्थिति बनाइदिने उनले बताए ।
वडा नम्बर १४ का वडा अध्यक्ष भानसिंह बुढाको नेतृत्वमा स्वास्थ्य कार्यालयका ल्याब टेक्निसयन, वडा प्रहरी, अटोभिलेज समितिका पदाधिकारीबीच डेंगु नियन्त्रणसम्बन्धी अन्तरक्रियापश्चात शुक्रबारबाटै नियन्त्रणको काम शुरु भएको छ ।
प्रत्येक हप्ता टोल सफाई गर्ने, पानी जम्न सक्ने वस्तुको व्यस्थापन गर्ने, झुल प्रयोग गर्ने, धुप प्रयोग गर्ने, ज्वरो आएका बिरामीलाई अस्पताल पुर्याउने, जथाभावी औषधि प्रयोग नगर्ने तथा सचेतना फैलाउने काम सुरु भएको घोराहीका स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए ।
रोग फैलिन नदिन स्थानीय बासिन्दा, सरोकारवालासँग आपत्कालीन बैठक गरेर औषधि छर्कने, बिरामीलाई उपचारका लागि अस्पताल पठाउने तथा रोगविरुद्ध जनचेतनामूलक कार्यक्रम अघि सारिएको उनले बताए । यसलाई पालिकाका सम्भावित ठाउँमा अभियानका रुपमा लैजाने उनको भनाइ छ ।
संक्रमण भएका व्यक्तिले अधिकतम झोल पदार्थ पिउनुपर्ने चिकित्सकको सुझाव छ । बाहिर हिंड्दा पूरा शरीर ढाक्ने लुगा लगाउने, घर आसपास पानी जम्ने स्थान पुर्न सुझाव दिएका छन्।
जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवालालाई लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमै लार्भा नष्ट गर्ने उद्देश्यले गरिएको कार्यक्रमलाई निरन्तरता दिने गरी अघि बढेको पालिकाले जनाएको छ ।
कुनै ठाउँमा सफा पानी दुई दिनदेखि तीन दिनसम्म रहे डेंगु फैलाउने एजिप्टाई लामखुट्टेले फुल पार्न सक्ने र त्यसबाट जन्मने सबै लामखुट्टेमा भाइरस हुने स्वास्थ्य कार्यालयको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।