इस्लामावाद- हिंसात्मक घटनाहरूका बीच पाकिस्तानमा संसदीय निर्वाचन बुधबार सम्पन्न भएको छ।
नयाँ संसद् र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरि भएका विभिन्न हिंसात्मक घटनामा कम्तिमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
स्थानीय समय अनुसार बिहान ८ बजे शुरु भएको मतदान बेलुका ६ बजे अन्त्य भएको घोषणा गरिएको थियो। निर्वाचनको मतपरिणाम भने २४ घन्टाभित्र सार्वजनिक हुनसक्ने बताइएको छ।
राष्ट्रियसभा, संसद्को तल्लो सदन र चार वटा प्रान्तीय विधानसभाका लागि बुधबार मतदान भएको हो।
पाकिस्तानमा प्रतिनिधिसभा अर्थात् संसद्को तल्लो सदन ३ सय ४२ सदस्यीय छ भने त्यसमध्ये २ सय ७२ स्थान प्रत्यक्ष निर्वाचित, ६० स्थान महिला आरक्षित र १० स्थान धार्मिक अल्पसंख्यकका लागि छुट्याइएको छ। प्रतिनिधिसभाका लागि ३ हजार ४ सय ५९ जना उम्मेदवार छन्।
यसैगरी, खैबर पाख्तुनख्वा, पञ्जाव, बलुचिस्तान र सिन्ध प्रान्तको प्रान्तीयसभाका लागि ५ सय ७७ सिटमा ८ हजार ३ सय ९६ उम्मेदवार प्रतिस्पर्धामा छन्।
निर्वाचन आयोगमा करिब १० करोड ६० लाख मतदाताले आफ्नो नाम दर्ता गराएकोमा त्यसमा करिब ६ करोड पुरुष रहेको जनाइएको छ।
जनसंख्याका हिसाबले दक्षिण एसियाको दोस्रो ठूलो देशका रूपमा रहेको पाकिस्तानको यस पटकको निर्वाचनलाई महत्वका साथ हेरिएको छ।
निर्वाचनको पूर्वसन्ध्यामा सत्तारुढ दल नेसनल मुस्लिम लिगका नेता एवं पूर्वप्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारको अभियोगमा जेल सजाय सुनाइएको थियो।
निर्वाचनको मुखैमा आएर उनलाई १० वर्षको जेल सजाय सुनाइएपछि यहाँको निर्वाचनमा प्रजातान्त्रिक दलहरूको सहभागिता र स्वस्थ एवं निष्पक्ष निर्वाचनका विषयमा आशङ्का उत्पन्न भएको छ। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।