भक्तपुर– भक्तपुरमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोकमा काठमाडौंबाट तीव्र गतिमा भक्तपुरतर्फ आइरहेको बा३च ८३१७ नम्बरको निजी कार सडक डिभाइडरमा ठोक्किँदा कार चालक सिन्धुली घर भई हाल सूर्यविनायक बस्ने ४७ वर्षीय रमेशराज राउतको मृत्यु भएको छ।
घटनामा गम्भीर घाइते भएका राउतको उपचारका क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका कारमा सवार रमेशराजका छोरा १८ वर्षीय रवीन राउतको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।
सोही समयमा एकै दिशाबाट आइरहेको बा४६प १५५२ नम्बरको मोटरसाइकलले दुर्घटनाग्रस्त कारलाई ठक्कर दिँदा मोटरसाइकल चालक रामेछाप खाँडादेवीका ३१ वर्षीय विष्णुबहादुर श्रेष्ठ र मोटरसाइकलको पछाडि बस्ने रामेछाप घर भएका ३३ वर्षीय राजन श्रेष्ठसमेत घाइते भएका छन्। घाइते दुवैको नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
कार चालक रमेशले मादकपदार्थ सेवन गरी चलाउँदा कार अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएको र कार ठोक्किएर फर्किँदा मोटरसाइकलसमेत कारमा ठोक्किन पुगी दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।