किगाली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मित्र राष्ट्रलाई गाई उपहार दिएर ‘गाई कूटनीति’को अभ्यास गरेका छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले रुवान्डालाई मंगलबार २ सय वटा गाई हस्तान्तरण गरेर यस्तो अभ्यास गरेका हुन्।
राजधानी किगालीबाट दक्षिणतर्फ रहेको रबेरु गाँउका गरीब बासिन्दालाई मोदीले गाई हस्तान्तरण गरेका अधिकारीहरूले बताएका छन्।
हस्तान्तरण गरिएका गाईबाट त्यहाँका बालबालिकाले दूध उपभोग गर्न पाउने अपेक्षा गरिएको जनाइएको छ।

रुवान्डासँगै मोदीले युगान्डाको पनि भ्रमण गरेका छन्। ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ गएका थिए।
शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले चीन, रुस, ब्राजिल र दक्षिण अफ्रिकाका नेताहरूसँग जोहानेसबर्गमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
‘रुवान्डाको ग्रामीण क्षेत्रको अवस्थाले मलाई प्रभावित बनायो, एउटा नमूना गाँउका बासिन्दालाई गाई उपहार दिन पाएकाले मलाई यो भ्रमण स्मरणीय भएको छ,’ प्रधानमन्त्री मोदीले भने।
उनले आफूलाई अमूल्य अवसर दिएको भन्दै रुवाण्डाका राष्ट्रपति पाउल कागामेलाई धन्यवाद पनि दिएका छन्। मोदी र कागामेले विभिन्न सहयोग आदानप्रदान सम्झौतासमेत गरेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।