रसुवा– रसुवामा दुई यातायात व्यवसायी संंघ खारेज भएको छ। खारेज हुनेमा गोसाईकुण्ड यातायात व्यवसायी समिति र पासाङल्हामु मिनी ट्रक तथा ट्रक कन्टेनर व्यवसायी संघ रहेका छन्।
संस्था दर्ता ऐन, २०३४ बमोजिम यातायात व्यवसायीहरुको हकहीत र संरक्षण गर्ने उद्देश्यले दर्ता भएको यातायात व्यवसायी संघसंस्था कम्पनीमा दर्ता नभएकाले गृहमन्त्रालयद्वारा यहि साउन ४ गते प्राप्त पत्र अनुसार साउन एक गतेबाट दुई यातायात व्यवसायी संंघ खारेज भएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। उनले भने, 'उहाँहरुको गाडि जिल्लामा चल्न पाउछ तर संस्था ऐन अन्तर्गत दर्ता भएको संस्थाले चलाउन पाउदैन, त्यसैले उहाँहरुले कम्पनीमा दर्ता गराउनु भए मात्र चलाउन पाउनुहुनेछ।'
त्यस्तै उक्त संघ तथा समितिमा सवारी दुर्घटनामा घाईते भएकाहरुको भुक्तानी पाउन बाँकी उपचार खर्च, संस्थामा कार्यरत कर्मचारीको तलब, विद्युत महसुल, पानी लगायतका महशुल लगायत बाँकी रहेमा ३५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गरे।
त्यस्तै प्रशासनमा आएका निवेदनको क्षतिपुर्तिका लागि संघ तथा समितिबाट भराउने र सम्बन्धीत संस्थाले भराउन नसके आवश्यक क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा पत्राचार गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।