अन्ततः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन्। मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गर्नुअघि तामाङले आफूले चार महिनामा गरेका केही कामको चर्चा गरेका थिए।
साउन ४ गते प्राक्सिस इन्टरनेसनल एकेडेमीमा एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई गरिएको सम्बोधनमा उनले बंगलादेश पढ्न गएका छात्राहरुले आफूलाई सुम्पिनुपर्ने अभिव्यक्ति दिएका थिए। 'बंगलादेशमा हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ। तर डाक्टरको सर्टिफिकेट लिनको लागि मैले सुन्या छु, उसले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ। हाम्रा छोरी चेलीहरूलाई पढ्नलाई विदेशमा पठाउँछौँ तर उसले आफूलाई त्यहाँ नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन।’
उनले ६ गते प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो बचाउ गर्ने प्रयत्न गरे। उनले आफ्नो अभिव्यक्तिले चोट पुर्याएकोमा क्षमा मागे तर आफ्नो तथ्यको बचाउ नै गरे।
त्यसपछि उनलाई राजीनामा दिनका लागि विभिन्न संगठन तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले निरन्तर दबाब दिए। तामाङ पदमै रहँदा प्रधानमन्त्री केपी ओलीको समेत आलोचना हुनथालेको थियो। फलस्वरुप तामाङ झनै दबाबमा परे र राजीनामा दिए।
बलियो र स्थायी भनिएको सरकारका मन्त्रीहरुले पदीय मर्यादा नराखी आफू अनुकूल बोल्दै हिँड्ने क्रम बढेको थियो। त्यसकै निरन्तरता थिए, तामाङको अभिव्यक्ति। जस्तासुकै कार्यक्रममा पनि जाने र हौसिएर तथ्य बिना बोल्ने, जिम्मेवारीभन्दा बाहिरका र आफैं स्पष्ट नभएका विषयमा बोल्ने, कानुनी प्रावधान नहेरीकन प्रतिवद्धता जनाउने लगायतका कामहरु बढिरहेका थिए।
तामाङको राजीनामासँगै अब लगामहीन अभिव्यक्तिको अन्त्य हुने अपेक्षा गर्न सकिन्छ। उनको राजीनामा अन्य मन्त्रीका निम्ति पनि पाठ हो। बलियो र पाँच वर्षे सरकार हो भन्दैमा हरेक अभिव्यक्ति पाच्य नहुने यो राजीनामाले पुष्टि गर्छ। यसबाट खास विभागीय मन्त्रीहरु मात्रै होइन, 'बढी बोल्ने' भनिएका प्रधानमन्त्रीले समेतले सिक्न जरुरी छ।
निश्चय नै शक्तिले जिम्मेवार र लचक बनाउनुपर्छ। त्यो नहुँदा त्यही शक्ति अभिशाप बन्न सक्छ। मन्त्री हुँदा र नहुँदाका स्वनियन्त्रण फरक हुन्छन्। तर, हाम्रो राजनीतिज्ञमा यस्तो व्यवहार निकै कममात्रै पाइन्छ। उनीहरु मन्त्री पदको उचाइ र जिम्मेवारीबोधलाई ख्याल नगरेको प्रशस्तै उदाहरण छन्।
राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा तामाङले आफू महिलाप्रति अति संवेदनशील व्यक्ति भएको र छोरीको अंश, वंश र आमाको नामबाट नागरिकता दिने विषयमा लड्दै आएको बताएका छन्।
उनले भनेको सही नै हुनसक्छ। तर, उनको प्रष्टिकरण र राजीनामा प्रकरणलाई एकै ठाउँमा राखेर हेर्दा विषय त्यही सहज होइन। अहिलेका मन्त्रिपरिषद्मा थरिथरिका विगत भएका मन्त्रीहरु छन्। युद्ध लडेका समेत छन्। आजको लोकतन्त्र, गणतन्त्र र संविधान ल्याउन धेरै मन्त्रीहरुको भूमिका छ। तर व्यक्तिको मूल्यांकन इतिहासको कर्ममा मात्रै हुने दिन अब छैन। प्रत्येक कदममा प्रश्न उठ्छ र जवाफदेही हुनुपर्छ। जिम्मेवार हुनुपर्छ। 'बाजेले खाएको घ्यु' वाला नीति मन्त्रीको हकमा लागुहुनुपर्छ भन्ने छैन। भएन पनि। महिलाप्रति संवेदनशील भएको भन्दैमा तामाङले पनि छुट पाएनन्। विगतमा केके गरियो भनेर गौरवबोध गर्ने तर वर्तमानमा जनताको चाह विपरित उभिइराख्ने जोकसैले तामाङ प्रकरणबाट सिक्नु जरुरी छ।
आफ्नै र मन्त्रीहरुका अभिव्यक्तिका कारण पछिल्लो समय विवादमा परेका प्रधानमन्त्रीले तामाङको वहिर्गमनमा सकारात्मक भूमिका खेलेका छन्। उनले आवश्यक नठानेको भए तामाङ मन्त्री नै भइराख्ने थिए। यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनै पर्छ। यो अन्य मन्त्रीको हकमा पनि घाँटीमाथि झुण्ड्याइएको तरबारको नजिर बन्ने अपेक्षा गर्न सकिन्छ।
तामाङले मन्त्री पदबाट दिएको राजीनामाले हाम्रो लोकतन्त्रको सौन्दर्य वृद्धिमा भने सघाउ हुने अपेक्षा गर्न सकिन्छ। हो, उनले मन्त्रीको हैसियतमा बोलेका कुरा अपाच्य थिए। र, विज्ञप्ति जारी गरेर आफ्नो बचाउ गर्ने हठ पनि देखाएका थिए। तर, गल्ती भइरहने र त्यसले दण्डित हुने लोकतन्त्रको आधारभूत चरित्र हो। लोकतन्त्रले पद चिन्दैन, कर्म चिन्छ। यो कुरा सबैले मनन गर्नु जरुरी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।