२०७८ सालमा देशका सबै ठूला दलले महाधिवेशन गरे। ती महाधिवेशनबाट पार्टीको केन्द्रीय समिति वा कमिटीमा युवा अनुहार प्रशस्त पुगेका छन्। नयाँ जोशसहित पार्टीलाई जीवन्त बनाउने आकांक्षासहित उनीहरू आइपुगेका हुन्। पार्टीसँगै आफ्नो भविष्य समेत उज्ज्वल बनाउने 'पार्टी केन्द्र' मा पुगेका नयाँ केन्द्रीय सदस्यहरूका अनुभूति र विचारमाथि नेपाल लाइभले निरन्तर संवाद गर्नेछ।
यो संवाद शृंखलामा यसपल्ट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीसँग कुराकानी गरिएको छ। लामो समय पत्रकारिता र पत्रकारिताबाटै राजनीति गरेका उनी १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। पार्टी राजनीतितर्फ लागेपछिको उनको अनुभूति र विचारबारे नेपाल लाइभकर्मी भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानी :
पार्टी राजनीतिको सुरुवाती अनुभव कस्तो रह्यो?
नेपाली कांग्रेसको १४औं महाधिवेशनपछिको ८ महिना बिताइसक्यौं। यो करिब ९ महिनाको बीचमा केही केन्द्रीय कमिटीका बैठकहरू भएका छन्। यही ९ महिनाको बीचमा हामीले स्थानीय निर्वाचन 'फेस' गर्यौं। स्थानीय तहको निर्वाचन अघि पार्टीले खटाएको विभिन्न जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि भएर पनि गयौं। त्यहाँको रिपोर्ट ल्याएर बुझायौं। त्यहाँको रिपोर्टका आधारमा पार्टीको निर्णय प्रक्रियामा सहजता सिर्जना भयो।
सँगैसँगै अहिले स्थानीय तहको चुनावपछि फेरि केन्द्रीय कार्यसमितिको समीक्षा बैठक बस्यो। त्यो बैठकले बृहत समीक्षा पनि गरेको छ र अब संघ र प्रदेशको चुनाव एकैपटक मंसिर ४ गते तोकेको छ। संघ र प्रदेशको चुनावअघि केन्द्रीय समितिमार्फत् पार्टीपंतिलाई परिचलान गर्नेगरी एउटा अभियान नै चलाउने तयारी पार्टीले गरिरहेको छ।
म पहिला मिडियामा रहेर काम गरिरहेको मात्रै नभइ मिडियामा रहेर राजनीति क्षेत्रमा काम गरेको मान्छे हुँ। एउटा ठूलो-फराकिलो प्लेटफर्ममा पुगेको महसुस गरेको छु। हिजो जुन जिम्मेवारीमा थिएँ, सीमित दायराभित्र रहेर काम गर्नुपरेको थियो। आज त्यो कामको दायरा फराकिलो भएको छ। र, फराकिलो दायराभित्रका सीमितता पनि छन्। आफ्ना सीमितता पनि हुन्छन्।
अहिले केन्द्रीय सदस्यलाई पूर्ण रुपमा काम दिइएको छैन। हामीले छोटो अवधिका जिम्मेवारी पाएका छौं। केन्द्रीय सदस्यका रुपमा गणनाबाहेक केही नभएको जस्तो देखिन्छ। त्यसैले पार्टीको विभाग गठनका लागि हामीले जोड दिइरहेका छौं। विभागमा रहेपछि पूर्ण रुपमा केन्द्रित भएर काम गर्न पाइन्छ।
त्यसैले हामीले ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने माग राखेका हौं। ६ महिनाभित्र विभाग गठन गरेर पार्टी जीवनसँग आफूलाई जोड्न पायौं भने काम देखाउन पाइन्छ। कामले नै हो पहिचान बनाउने। त्यहीअनुसार हामीले त्यहाँ पार्टी पंक्तिमा लबिङ गरिरहेका छौं।
म अहिले जहाँ पुगें, त्यतिमै सन्तुष्ट भएर बस्ने होइन। आगामी दिनमा खुट्किला उक्लिन सक्ने एउटा प्लेटफर्म वा अवस्था पनि बनाउने हो। त्यसका लागि काम गर्न पाउनुपर्छ। कामका लागि विधानमा जिम्मेवारी दिन मिल्ने ठाउँहरू छन्। तर, हामीले जिम्मेवारी पाउन सकेनौं। त्यसका लागि दबाब सिर्जना गरिरहेका छौं। पार्टीले चाँडै विभाग गठन गर्ने भनेको छ। विभागमा जिम्मेवारी पाइयो भने अहिलेको भन्दा कयौं गुणा क्रियाशील हुने अवसर पाइन्छ भन्ने विश्वास छ।
तपाईं प्रश्न गर्ने र पाएका सूचना सकेसम्म सार्वजनिक गर्ने कामबाट उत्तर दिनुपर्ने र लुकाउन खोज्ने राजनीतिज्ञ बन्नुभएको छ। के-के कुरामा असहज हुँदो रहेछ?
पत्रकारितामा रहँदै गर्दा हामीले बढीभन्दा बढी सूचना सार्वजनिक गर्ने, सूचनाहरू आमनागरिकहरूका बीचमा लिएर जाने काम हामीले गर्ने हो। राजनीति जीवनमा हुँदै गर्दा, फरक पोजसिनमा हुँदा कतिपय कुराहरू त्यसभित्रको निर्णयहरू तुरुन्तै सार्वजनिक गर्न नहुने, निर्णयहरू केही राख्नपर्ने, त्यसभित्रको केही भित्री कुराहरू सकेसम्म बाहिर तुरुन्तै सार्वजनिक गर्न नमिल्ने हुन्छ। रणनीतिक महत्त्वको विषय हुने हुनाले त्यसमा गर्न नहुने खालका केही कुरा पनि हामीले देखिरहेका हुन्छौं। यद्यपि, त्यसभित्रको पारदर्शिता, निर्णय प्रक्रियाको पारदर्शिता सँगसँगै हामीबाट अपेक्षित हुन्छ।
दुईवटै कुरालाई सामञ्जस्यता गर्ने काम चुनौतीपूर्ण पनि छ। तर, त्यो चुनौतीलाई समन्वय गर्दै सामञ्जस्यता अपनाउँदै क्रियाशील हुनुपर्ने बाध्यता रहन्छ। यी दुवटै कुरालाई समन्वय गर्ने कुरामा पनि मेरो कहीँ न कहीँ भूमिका हुन्छ। यद्यपि, हाम्रो पार्टीभित्रको ब्युटी भनेको के हो भने केन्द्रीय कार्यसमितिमा बोलिएका कुरा पाँच मिनेट नपुग्दै सञ्चारमाध्यममा आइपुग्छ।
कसले पुर्याउँछ, कसरी जान्छ भन्नेमा जान चाहन्नँ। तर, सञ्चारमाध्यमको पहुँच देख्छु। हाम्रो केन्द्रीय समिति बैठक मिडियाले लाइभ नगरेको मात्रै हो। प्राय: सबै कुरा आउँछन्। यस विषयमा कुरा उठेको पनि देख्छु। तर, यो पार्टी अहितमा वा देशविरुद्ध हुने खालका गतिविधि नभएकाले थाहा पाउन जरुरी छ। केन्द्रीय समितिमै भएका कतिपय महत्त्वपूर्ण कुराहरू कति गोपनीय पनि होलान्। तर, त्यस्तै कुराहरू पनि पारदर्शी रुपमा बाहिर गएका छन्। धेरै लुकाउने, छिपाउने कुराहरू पार्टीभित्र भएजस्तो लाग्दैन। कतिपय सन्दर्भमा अन्तरपार्टी कुराहरू, रणनीतिगत कुराहरू, निर्णयहरू अलि ढिलो गरि सुनायो भने पनि फरक पर्दैनन्। त्यस्ता कुरामा गोपनीयता कायम राख्नुपर्छ। पार्टी नै पारदर्शी भएकाले मलाई धेरै अप्ठ्यारो परेको छैन।
तपाईंले पत्रकारितामा रहेर केही समाचार लेख्नुभयो। जसले चर्चित हुनुभयो। पुरस्कृत हुनुभयो। राजनीतिमा पुगेर केन्द्रीय समितिको भीडमा हराउने डर छ कि छैन?
मिडियाबाट आफूलाई अलग्याएर पार्टी राजनीतिमा लाग्दै गर्दा मैले भनेको थिएँ- म हिजो एउटा मिडियामा सीमित थिएँ। तर, आज त्यो दायरा ठूलो र फराकिलो भएको छ। मसँग हिजो एउटा मिडिया थियो, आज धेरै मिडियाहरू मसँग जोडिनु भएको छ। त्यसैले आज म तपाईंसँग कुरा गरिरहेको छु। हिजो तपाईंसँग कुरा गर्न सम्भव थिएन।
अहिले मैले केही सूचना पाएँ भने अरु मिडियाका साथीहरूलाई पनि स्रोतका रुपमा उपलब्ध गराउन सक्छु। हिजो एउटामा मात्रै मैले प्रस्तुत गर्थें। त्यसैले म मिडियामा छैन भनेर खुम्चिनुपर्ने अवस्था छैन। त्यसैले थप अझ बढी काम गर्न सकिन्छ। मेरो भूमिका बढेको महसुस भएको छ।
यसअघि पत्रकारका रूपमा र अहिले नेताकै रूपमा नेताहरूसँग काम गर्दा व्यवहार कस्तो पाउनुहुन्छ। उस्तै-उस्तै कि केही फरक?
म पत्रकारका रुपमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको सुरुवाती रिपोर्टिङ गर्दैगर्दा केन्द्रीय कार्यालय टेकुमा थियो। केन्द्रीय समितिको रिपोर्टिङ गर्न जाँदै त्यहाँ फोटो खिच्थ्यौं र फर्किन्थ्यौं। त्यहाँ पत्रकारका लागि व्यवस्था भए बमोजिम खाजा खान्थ्यौं। त्यसपछि बैठक सकिएपछि बाइट लिन्थ्यौं। कुराकानी गर्दथ्यौं। समाचार लेखेका आधारमा मत हुन्थे, राय हुन्थे। सुझावहरू हुन्थे। तर, त्यही रिपोर्टिङ गर्न गएको केन्द्रीय समितिको बैठकमा स्वयम् उपस्थित हुँदै गर्दा सुरुमा आफूलाई पनि रिपोर्टिङ कि बैठक जस्तो महसुस हुन्थ्यो।
राजनीति गर्ने भनेको त कहीँ न कहीँ जनताबाट अनुमोदन हुन अघि बढ्नु पनि हो। आगामी निर्वाचनमा पनि कहिँकतैबाट टिकटका लागि लबिङ थाल्नुभयो?
म जुन जिल्लाबाट प्रतिनिधित्व गर्छु, त्यो जिल्लाबाट तीनजना केन्द्रीय सदस्य छौं। टिकटको आकांक्षीको हिसाबले हामी तीनैजना योग्य छौं र हकदार पनि हौं। त्यो हुँदै गर्दाखेरि अहिले गठबन्धन पनि छ। त्यसमाथि हाम्रो जस्तो जिल्लाहरूमा कम्तिमा नेपाली कांग्रेस, माओवादी र समाजवादीहरूको एलाइन्स छ। स्थानीय तहको चुनावमा तीनवटा दलको एलाइन्स भएको थियो। अबको दिनमा पनि तीनवटा दलबीचका एलाइन्स हुँदै गर्दा कांग्रेस संघमा वा प्रदेशमा कसरी भूमिका पाउँछ?
हाम्रो जिल्लामा मात्रै हेरेर भएन। हाम्रो जिल्लाका छिमेकी जिल्ला पनि केन्द्रमा बसेर मिलाउँदै गर्दा, सिट बाँडफाँड मिलाउँदै गर्दा दायाँबायाँका जिल्ला पनि मिलाउनु पर्ने हुनसक्ला। हामी सँगसँगै त्यो बेलामा दोलखासँग रामेछापको सेटिङ मिलाउनु पर्ने होला। सिन्धुलीको रामेछापसँग मिलाउन पर्ला। यस्तो अवस्थामा संघमा हामीले पायौं भने प्रदेशमा माओवादी केन्द्र र समाजवादीले दाबी गरिरहेको हुन्छ। संघमा अरू कसैले पायो भने प्रदेशका दुईटामा हाम्रो दाबी रहला।
समीकरणअनुसार केन्द्रीय समितिमा भएको नाताले पपुलर भोट ल्याएका नाताले, महाधिवेशन, केन्द्रीय सदस्य र जिल्लामा समेत जितेकाले मलाई दाबेदारकै रुपमा हेरिएको होला। पार्टीको युवा साथीहरूले पनि यसअघि टेस्टेड भन्दा पनि नयाँ आउनुपर्छ भनिरहनुभएको छ। पार्टीको तल्लो तप्काको चाहनालाई नेतृत्वले सुन्यो भने मंसिर ४ गतेको चुनावमा प्रतिनिधि सभाका लागि प्रत्यासी बन्ने योजना बनाएको छु। उम्मेदवार बनाउने कुरामा पार्टीको निर्णय अन्तिम निर्णय हो। त्यो पार्टीको निर्णयविरूद्ध जाने कुरा हुँदैन।
काम गर्ने जाँगर भएको तर, युवा अनुहारलाई पार्टीले विश्वास गर्दैन भनिन्छ। तपाईंको अनुभव कस्तो रह्यो?
पार्टी भनेको अजिव खालको कुरा होइन। हामीहरू जस्तै लामो समयसम्म काम गरिरहनु भएका अग्रजहरूले क्षमता हेरेर जिम्मेवारी दिने गर्नुभएको छ। त्यहीअनुसार जिम्मेवारी पाएका छौं। यो स्थानीय चुनाव अगाडि हामी विभिन्न जिल्लामा गयौं। र, खटाएको कार्य क्षेत्रमा गएर काम गर्यौं। पार्टीको पोजिसन यस्तो छ भन्ने कुराहरू बतायौं। त्यसैले त्यो पटके काम भयो तर, अब त्यस्तो चाहिँ होइन। पार्टीलाई चलायमान बनाउने विभिन्न विभागहरू हुन्छन्। विभागले पार्टीले लिएका नीतिहरूको तल्लो तहसम्म पुर्याउने र जोड्ने पनि हो।
अहिले ६ महिनाभित्र विभागहरू गठन गर्नुपर्ने हुन्छ। ढिलो भइरहेको छ। सम्भवत: यो साउन महिनाभित्र विभाग गठन भयो भने युवा उमेरका जाँगरिला साथीहरूले जिम्मेवारी पाउनुहुनेछ। नेतृत्वले दिनेछ भन्ने विश्वास छ।
पार्टीको विभाग गठनलगायतका निर्णयमा ढिलाइ हुँदा तपाईंहरू किन दबाब बढाउनुहुन्न?
हामीले पटक-पटक उठायौं। पार्टीका आन्तरिक फोरमहरूमा पनि उठायौं। बाहिर पनि बोल्यौं। जसरी राज्य सञ्चालनको विषयमा संविधान बमोजिम चल्नुपर्छ। त्यसैगरी पार्टी सञ्चालन पनि विधान बमोजिम हुनुपर्छ। वैधानिक व्यवस्था नैतिक बन्धन हो। त्यो नैतिक बन्धनमा बाँधिनुपर्छ। केही समयअघि सम्पन्न केन्द्रीय समितिको बैठकमा पार्टी नेतृत्वले यस विषयमा ध्यानाकर्षण भएको बताएको छ। यो साउन महिनाभित्र विभागहरू गठन गर्ने र सँगसँगै अरू शुभेच्छुक संस्थाहरूको पनि विस्तार गर्ने भनिएको छ। यसअघिको कार्यकाल विभागहरूको गठन नभएरै सकिएको थियो। संसदीय दल पनि पूर्ण नभएर कार्यकाल टुंगिएको थियो। अहिले पनि कोषाध्यक्ष नियुक्त गरिएकको छैन। विभाग गठन छैन। हामीले तीन महिनामा गरिसक्नुपर्ने काम किन ७ महिनासम्म नसकिएको भनेर प्रश्न गरिरहेकै छौं।
कांग्रेसमा युवाको उपस्थिति अहिले लोभलाग्दो छ। तर, उनीहरूलाई चलायमान राख्न नेतृत्व किन हिच्किचाइरहेको जस्तो देखिन्छ?
पार्टी सभापतिले नै उहाँको कलमले चोबेर गर्नुपर्ने निर्णयहरू जुन छन्, ती बाहेकका विषयमा महामन्त्री, सहमहामन्त्रीहरूले जिम्मेवारी पाउनुपर्छ। त्यसो गर्दा पार्टी सक्रिय देखिन्छ। अहिले काम गर्ने कुरामा ढिलो जस्तो देखिएको छ। जस्तो महामन्त्रीहरू हुनुहुन्छ, काम गर्ने जोश पनि छ। तर, उहाँहरूलाई पनि काम गर्न पार्टी सभापतिले अख्तियारी दिनुपर्ने हुने रहेछ।
विभागहरू गठन गर्नुपर्ने कुरामा पनि अख्तियारी दिएको भए हामी गर्थ्यौं भनेर उहाँहरूले बैठकमै भन्नुभयो। साथीहरूले काम गर्न खोजिरहनु भएको छ। यही तवरले भूमिकाविहीन हुँदै जाँदा विस्तारै निराश हुने अवस्था पनि देखिन्छ। निराश हुन नदिन पार्टी नेतृत्वले जिम्मेवारी दिएर भारी बोकाउनु पर्छ। त्यसरी जिम्मेवारीको भारी बोकाएमा अहिलेको असन्तुष्टि पनि हल हुनसक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।