काठमाडौं– विपक्षी दलहरुले एजेन्डा नपाएर मार्सी चामलको विज्ञापन गरिरहेको आरोप प्रधानमन्त्रीले लगाएका छन्। मेडिकल सञ्चालकको घरमा मार्सी चामलको भात खाएर सम्बन्धन दिन लागेको आलोचना भएपछि प्रधानमन्त्रीले त्यस्तो जवाफ दिएका हुन्।
‘दुर्गा प्रसाईका जानु गलत हो भने गलत हो, फेसबुकमा फोटो हाल्नु गलत होइन,’ पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले भने। बि एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईको घरमा मार्सी चामलको भात खाएको फोटो सार्वजनिक भएपछि मार्सी चामललाई प्रतिबिम्ब बनाएर आलोचना भइरहेको छ।
नेकपा निकट पत्रकार संगठनहरु प्रेस चौतारी नेपाल तथा प्रेस सेन्टर नेपालले सरकारले सुझाव दिन आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका छन्।
कार्यक्रममा उनले कुनै समय टाउकोको मोल तोकेको र कालकोठरीमा राखेको मान्छे शासन गर्ने तहमा पुगेकोप्रति डाह र रिसले नेपाली काँग्रेसले सहन नसकेको भन्दै ब्यंग्य समेत गरेका छन्।
काँग्रेसमा लोकतान्त्रिक शैली नभएको र यती छिटै बस्त्र उतारेर नाङ्गो भएको आरोप लगाए।
‘झोलामा टाउको ल्याउनु भनेको मान्छे ठूलो पार्टीको अध्यक्ष छ, काल कोठरीमा राखेको मान्छे प्रधानमन्त्री छ’ ओलीले भने ‘यो उनीहरुको टाउको दुखाई हो, यसैका कारण अनेक आन्दोलन भइरहेका छन्।’
काँग्रेसले बुर्काभित्र राजनीति गरिरहेको आरोप प्रधानमन्त्रीको छ। अनूहार देखाउन नसक्ने भएकाले बुर्काभित्र वसेर आन्दोलन गरेको उनले बताए।
प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु एक भएर दुई तिहाई बहुमतसहितको सरकार निर्माण भएकोमा प्रतिक्रियावादीसँग मिलेर बस्त्र उतारेर विधिको शासन विरुद्ध कांग्रेस उत्रेको आरोप समेत लगाए।
धेरै किन वोल्ने भनेर आफुले नबोलेको भन्दै प्रधानमन्त्री ओलीले सरकार अपदस्त गर्छौ भनेर चेतावनी दिनु भन्दा विधी र प्रक्रियामा आउन सुझाव दिए। विगतमा आफुले नेपाली काँग्रेसको सरकारलाई अपदस्त गरेको सम्झना गर्न आग्रह गर्दै ओलीले काँग्रेसको घाँटी प्रतिक्रियावादीसँग जोडिएको आरोप लगाए।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीले खेलेको टिप्पणी गरे। पार्टी एकिकरण हुन नदिने कम्युनिस्टको सरकार नचाहने देश विदेशबाट शक्तिले खेलिरहेको टिप्पणी दाहालले गरे।
अस्थिरता सिर्जना गर्ने र स्थायी सरकारलाई काम गर्न नदिने वातावरण निर्माण गर्ने खेल भईरहेको आरोप दाहालले लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।