चितवन– चितवनको खैरहनी नगरपालिका–३ स्थित लदरी खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
साेमबार पौडी खेल्ने क्रममा डुबेर एकैघरका दुई जना बालिकाको मृत्यु भएको हो। खोलामा डुबेर खैरहनी–३ बस्ने १३ वर्षीया करुणा विश्वकर्मा र १० वर्षीया रिया विश्वकर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय, खैरहनीका प्रमुख प्रहरी निरिक्षक कैलाश सिंह बिष्टले जानकारी दिए।
उनीहरुसँगै खोलामा डुबेकी ललितपुर–४, इमाडोल बस्ने १५ वर्षीया अस्मीता गौतमलाई भने स्थानीयले उद्धार गरेका थिए। उनको अहिले उपचार भइरहेको छ।
लदरी खोलाबाट अबैध रुपमा एक्साभेटर प्रयोग गरि ग्राबेल उत्खनन गरिएको र सोही खाल्डोमा परि बालिकाहरुको ज्यान गएको मृतक बालिकाकी आफन्त मनकुमारी सुनारले बताइन्।
यसैबीच, स्थानीयहरुले खोलामा जथाभावी ढुंगा, गिटी, बालुवा उत्खनन गर्ने ठेकदारलाई कारबाहीको माग समेत गरेका छन्। उक्त खोलामा साविकको जिल्ला विकास समिति चितवनले ठेक्का खुलाएर हातेऔजारको प्रयोग गरेर खोलाजन्य पदार्थ निकाल्न स्वीकृति दिएको थियो। तर ठेकदारहरुले एक्साभेटरको प्रयोग गरेर उत्खनन गरेका थिए।
त्यसरी अबैध रुपमा एक्साभेटरको प्रयोग गरेर उत्खनन गर्दा समेत अनुगमन गर्ने जिल्ला समन्वय समिति मौन बसेको थियो। खैरहनी नगरपालिकका मेयर लालमणि चौधरीले खोलामा भएका ठूलाठूला खाल्डाहरु पुर्ने र ठेकदारलाई झिकाउने प्रतिबद्धता व्यक्त गरे।
चितवनका अधिकांश खोलाहरुमा हातेऔजारले खोलाजन्य वस्तु निकाल्ने भनियतापनि ठेकदारहरुले एक्साभेटर नै प्रयोग गर्ने गरेका छन्। सोही खोलामा एक्साभेटरले खनेको खाल्डोमा परेर यसअघि पनि एक जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।