काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्ष दल नेपाली कांग्रेसमा आक्रोश पोखेका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४०औं स्मृति दिवसमा आयोजित सभामा बोल्दै अध्यक्षद्वयले कांग्रेसको राजनीति सकिएको दाबी गरे।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कांग्रेस उठ्न नसक्ने वृद्ध भएको बताउँदै उडिरहेको चरा समात्ने दुष्प्रयास गरिरहेको आरोप लगाए। उनले प्रतिक्रियावादी शक्तिहरु छिटै हड्बडाएको बताए। देशै खाने काम कांग्रेसले गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले संसद्मा विधेयक पेश नगरी पास भएको कांग्रेसको इतिहास रहेको बताए।
कांग्रेसको इतिहास कोट्याउँदै ओलीले २०१५ र २०४८ सालमा पनि कांग्रेसले कुनै राम्रो काम गर्न नसकेको दाबी गरे। ओलीले २०१५ मा पुष्पलालले राखेको संसद् पुनःस्थापनाको मागलाई कांग्रेसले वास्ता नगरेको बताए। २०४८ पछि ३० हजार कार्यकर्तालाई कांग्रेसले मुद्दा लगाएको ओलीको आरोप थियो। ‘कांग्रेसको लोकतन्त्र त्यस्तो थियो। कर्मचारी, शिक्षक निष्कासित गर्यो ,’ उनले भने।
ओलीले चुनावको समयमा पनि कांग्रेस एजेन्डा विहीन भएको बताउँदै अधिनायकवादको मुद्दा उचालेको आरोप लगाए।
ओलीले वर्तमान सरकारले निषेधित क्षेत्र घोषणा गरेकोमा कांग्रेसको विरोधप्रति संधकेत गर्दै विगतमा वसन्तपुर, रत्नपार्क र न्युरोडमा प्रदर्शन गर्न कांग्रेसले रोक्ने गरेको बताए।
कांग्रेस सभापति शेरबहादुर देउवाले समेत डा गोविन्द केसीको अनसनको विषयमा गम्भिरता नदेखाएको बताए। 'देउवा एकोहोरो निषेधित क्षेत्र किन घोषणा गरेको? भन्ने प्रश्नमा केन्द्रित भएको बताउँदै ओलीले भने, ‘कांग्रेसले जिम्मेवारी महसुस गर्दैन। कांग्रेसको माया पनि लाग्छ। जुरुक्क उठ्न सक्दैन, तर उडेको चरा समात्ने प्रयास गरेको छ।’
कांग्रेसप्रति आक्रोशित देखिएका प्रचण्डले कांग्रेस अब सकिएको दाबी गरे। उनले भने, ‘अबको बाटो कांग्रेसका लागि छैन। कांग्रेस इतिहासको विषय बन्न धेरै समय बाँकी छैन।’
निर्वाचनपछि आफूहरुलाई कांग्रेसकै कारण सरकार बनाउन फलामका च्युरा चपाउनु सरह भएको प्रचण्डले सम्झिए। ‘ऐनका व्यवधान देखाइयो। लोकतान्त्रिक दलले अलोतान्त्रिक तरिका देखायो,’ उनले भने।
प्रचण्डले जीवन रक्षाका लागि जुम्ला हेलिकोप्टर पठाइएकोमा विपक्षी दलको उल्टो रवैया भएको बताए। कांग्रेसले केसीको जीवनप्रति चासो नराखेको भन्दै प्रचण्डले भने, ‘कुन तरिका हो? कांग्रेसले खोजेको के हो? कांग्रेस किन यति एजेन्डा विहीन हो? निम्छरो हो?’
डा केसीका 'जेनुइन' मुद्दामा लचक हुने बताउँदै प्रचण्डले सानातिना समस्यामा विचलित नहुने बताए। ‘सजिलै यताउता गर्न सकिन्छ भन्ने सोचेका छन् भने आफूले खनेको खाल्डोमा आफैं पर्छन्,’ उनले भने, ‘बहुमत सरकारलाई कम्तिमा ३ वर्ष कुनै झमेला निकालिँदैन, तर यहाँ चार महिना नहुँदै यस्तो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।