काठमाडौं– परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बदलिँदो परिवेश अनुसार मुलुकको परराष्ट्र नीतिलाई पुनर्परिभाषित गर्दै लगिएको दावी गरेका छन्।
परराष्ट्रमन्त्री ज्ञवालीले मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा अघि बढेकाले सोही अनुसारको परराष्ट्र नीति तय गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे। राष्ट्रहित परराष्ट्रनीतिको मूल चुरो रहेको स्मरण गराउँदै उनले सरकारले सोही अनुसारको नीति लिएको पनि स्पष्ट पारे।
मन्त्री ज्ञवालीले परराष्ट्र नीतिलाई समसामयिक बनाउन पूर्व राजदुतहरुलाई आवश्यक सुझाव दिन पनि आग्रह गरे। पूर्व राजदुतहरु मुलुकको परराष्ट्र नीति निर्माणमा सरकारको सल्लाहकारको रुपमा रहनुपर्नेमा परराष्ट्रमन्त्री ज्ञवालीको जोड थियो।
पूर्व राजदुतहरुले स्थापना गरेको ‘एसोसिएसन अफ फर्मर नेपाली एमबास्डोर्स’ को आइतबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री ज्ञवालीले संविधानको परिधि भित्र रहेर नेपालले परराष्ट्र नीति अवलम्बन गर्ने पनि स्मरण गराए।
परराष्ट्रमन्त्री ज्ञवालीले गरिबी हटाउने, नेपाललाई विकसित राष्ट्रको दाँजोमा अघि बढाउन तीव्र गतिका साथ काम गर्नेलगायतका परराष्ट्र नीतिका विषयमा सबै राजनीतिक दलहरुबीच साझा धारणा रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागि परेको दावी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।