पाेखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्षेत्र डुबाएर भारतले आफ्नो क्षेत्रमा सिँचाइ गर्न नमिल्ने बताएका छन्। गण्डकी प्रदेशसभाको संसदलाई सम्वोधन गर्दै ओलीले दुई छिमेकीसँग समानताका आधारमा सम्वन्ध विस्तार गरेकाे बताए।
यस वर्ष ८ प्रतिशत वृद्धिदरको लक्ष्य राखेकाे बताउँदै अर्को आर्थिक वर्षमा वृद्धिदर थपिने दावी गरे। नयाँ युगमा प्रवेश गरेको बताएका ओलीले भने, ‘नयाँ विकासका आयोजना सुरु गर्ने तयारीमा छाैँ। नेपालले उत्पादन मात्रै गर्न सके हुन्छ। चीनले सामान बेच्न आग्रह गरेको छ।’
केही समयमा उद्योगलाई चाहे जति विद्यत् प्रवाह गर्ने उनले दावी गरे। उनले तीन वर्ष भित्र तीव्र आर्थिक विकास भएको देशमा नेपाललाई पुर्याउने दावी गरे।
के-के भने ओलीले?
–अन्यत्रको विशेषता हामीकहाँ मिल्दैन। शान्ति प्रक्रियामा हाम्रै विशेषता छन्।
–शान्ति प्रक्रियाका लागि सत्य निरुपण तथा मेलमिलाप आयोगले काम सकेपछि प्रक्रिया टुंगिन्छ।
–विकासका लागि सुशासन अपरिहार्य छ। एकताविना सुशासन र विकास हुन सक्दैन। चौतर्फी विकासका काम अगाडि बढाउनुपर्छ।
–गण्डकी प्रदेश एेतिहासिक र धार्मिक प्रदेश हो। उर्जा उत्पादनको हिसाबले असाधारण सम्भावना छ।
–पर्यटकीय थलोका रुपमा गण्डकी प्रदेश चिनिन्छ। अनुपम प्राकृतिक सम्पदाले भरिएको गण्डकीले विकास खोजेको छ।
–विकासका याेजनालाई नयाँ ढंगले अगाडि लान्छौं। निरपेक्ष गरिवीको रेखामुनि जनता रहुन्जेल विकास हुनै सक्दैन।
–जिडिपी मात्रै हेरेर हुँदैन। जनताले खान पाए नपाएको मुख्य हो।
–विद्यार्थी भर्ना अभियानमा बाँकी रहेका विद्यार्थी अर्को वर्ष भर्ना हुन्छन्।
–नेपाल तुइनमुक्त हुन्छ। तुइन विस्थापन गरि पुल वा केवलकार राखिन्छ। 'तुइनहरु थिए रे' भनिने अवस्था आउँछ।
–नेपालको आवश्यकता अनूरुप दक्ष जनशक्ति कति चाहिन्छ, त्यसअनुरुप विज्ञ उत्पादन गरिन्छन्।
–रोजगारी उपलब्ध गराउन नेपालमा गाह्राे छैन। रोजगारी उपलब्ध हुने क्षेत्र चिन्न सकेका छैनौँ।
–हाम्रा कुराहरु सवै असाधारण छन्। प्रयोग गर्न जानेनौं।
–प्रदेश र केन्द्रको अधिकार समुचित तरिकाले बाढिन्छ।
–रेलको कुरा गर्दा अचम्म मान्छन्। दुनियाँले चलाउन हुने, हामीले चलाउन नहुने?
–पूर्व-पश्चिम रेलले विकासको नयाँ ढाँचा ल्याउँछ।
–आधा शताब्दी लोकतन्त्रका लागि लडेको छु। प्रधानमन्त्री बन्छु भनेर लडेको थिइन।
–लोकतन्त्रका लागि लडेको व्यक्तिले लोकतन्त्र मास्न सक्दैन।
–सामाजीक न्यायको आधारमा समृद्धि हुनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।