अरुबेला बिहान तीन पटक अलार्म बज्नुपर्थ्यो, अनि मात्रै उसको ज्यान ओछ्यानमा चलमलाउँथ्यो। दुई–चार पटक हाइ काढ्थ्यो। बल्ल बिस्तरा छाड्थ्यो। तर, आज अचम्मै भयो, पहिलो घन्टीमै जुरुक्क उठ्यो।
आज उसलाई ज्यान त्यसैत्यसै चंगा भएको महसुस भयो। आफ्नो ज्यानमा बढेको जाँगरदेखि ऊ चकित परेको छ। यसो हुनुको कारण छ– एक जुगमा एक दिन आउँछ भन्थे, उसका लागि पनि त्यो दिन आयो।
उसले हिजोदेखि सरकारबाट ऐतिहासिक जिम्मेवारी पाएको छ। उसका श्रद्धेय अध्यक्ष तथा देशका कार्यकारी प्रमुखले ठूलो जिम्मेवारी सुम्पेका छन्– प्रतिरक्षा गर्ने। इतिहासकै शक्तिशाली जननिर्वाचित सरकारको प्रतिरक्षा गर्ने जिम्मेवारी कम ऐतिहासिक होइन। सरकारको रक्षाका लागि त्यत्रा सेना छन्, त्यत्रा दुईथरी प्रहरी छन्। तर, तिनीहरुलाई छोडेर ऊ जस्तालाई दिइएको छ जिम्मेवारी। त्यसैत्यसै उज्यालियो ऊ।
इतिहासले कहिलेकाहीँ महान् जिम्मेवारी सुम्पन्छ भन्ने कतै पढेको कुरा उसलाई हो जस्तै लाग्यो।
भोट उसले धेरै पटक हाल्यो। अझ यही पार्टीका लागि उसले दुई–चार पटक प्रहरी र प्रतिपक्षी पार्टीको भाटा खेपेको हो। निधारमा एउटा खत अझै छ। ४ वर्षकी छोरीले बेला–बेला सम्झाइदिन्छे।
आज पनि सम्झाई– ‘बाबाको निधारमा के भा’को?’
ऊ आफ्नो पार्टीलाई ऐतिहासिक जित दिलाउन गरेको ऐतिहासिक बलिदानी सम्झेर त्यसैत्यसै मुस्कुराउन थाल्छ। एक–दुई पटक बलिदानीको कथा छोरीलाई सुनाएको पनि हो, तर छोरीले बुझे–बुझे जस्तो, नबुझे–नबुझे जस्तो गरी। ‘बुझ्ने भइसकेकी छैन’ भन्ने सम्झेर ऊ आफैं चुप लाग्यो।
यत्तिकैमा भान्साबाट रुखोसुखो स्वर सुनियो। उसकी प्राणप्यारीको रहेछ। दूध र साग लिन पठाएको मान्छे छोरी खेलाएर बसेकोमा असन्तुष्टिको आवाज रहेछ। अरुबेला बूढीको चर्को रिसलाई मधुर स्वरमै भए पनि प्रतिरक्षा गर्थ्यो। तर, आज केही नबोली गयो।
साग पसलेले सधैंको भन्दा ५ रुपैयाँ बढी माग्यो। उसले प्रतिप्रश्न गर्यो– ‘किन आज बढी?’ पसलेले के जाति ‘कर’को कुरा सुनाइराथ्यो, तर उसले त्यो ‘करकर’ धेरै सुन्न चाहेन।
अरुबेला आफ्नो खल्तीमाथि आइपर्ने यस्ता संकटको प्रतिरक्षा गर्न ऊ तम्सिन्थ्यो। सरकारको प्रतिरक्षा गर्ने ऐतिहासिक अभिभारा पाएको मान्छे आज झिनामसिना कुरामा अल्झिन चाहेन।
ऊ प्रतिरक्षाको ‘मुड’सहित अफिस हिँड्यो। एक्कासी आँखा मोटरसाइकलको पेट्रोल इन्डिकेटरतिर गए। देख्यो, इन्डिकेटरको सुई त रातोतिर सोझिँदै रहेछ। बाटोछेउकै पेट्रोल पम्पतिर मोटरसाइकल सोझ्यायो।
हातमा ५ सय रुपैयाँको नोट लिएर चर्को स्वरमा भन्यो– ‘भाइ, ५ लिटर तेल राख त!’ तेल हाल्नेले उसको हातको ५ सय देखेर कन्फर्म गर्न खोज्यो– ‘दाइ ५ लिटर कि ५ सयको?’
‘५ सयको’, उसले आफ्नो आदेशलाई आग्रहमा परिणत गर्यो।
मोटरसाइकलमा पेट्रोल हालिरहँदा उसले सम्झ्यो– अस्ति भर्खर त हो उसको क्रान्तिकारी सरकारले पेट्रोलको भाउ वृद्धिमा ह्याट्रिक हानेको।
पेट्रोल हालेर फर्किंदा सरकारबारे थोरै चिन्तन गर्न भ्यायो उसले। सरकारको प्रतिरक्षा गर्ने आफ्नो ऊर्जामा केही मन्दी आएको महसुस भयो। तैपनि उसले योजना बनाइसकेको थियो– अफिस पुग्नेबित्तिकै आज पहिलो काम नै सरकारको प्रतिरक्षाका लागि डट्ने।
ऊसँग भाउको प्रतिरक्षाको हतियार त उही फेसबुक र ट्विटर न हो।
अफिस पुगेपछि उसले रिसेप्सनिस्टलाई भन्यो– ‘केही समय भेटघाटका लागि मान्छे नपठाउनू।’
रिसेप्सनिस्टले केही भन्न खोज्दै थिई, उसले सुन्न चाहेन। यसरी अलमलिँदा प्रतिरक्षा गर्न बाटोमा सोचेका केही थान ट्विट र स्टाटस बिर्सिने डर थियो। हिजै मात्र गफमा भुलेर फुरिसकेको दामी ट्विट बिर्सेकोमा उसलाई आजसम्म थकथकीे लागिरहेको छ। अहिले पनि त्यस्तै नहोस् भन्ने उसले चाहनु अस्वाभाविक होइन।
सरासर आफ्नो टेबलमा गयो र ल्यापटप खोल्यो। ऊ हतारमा थियो। कतिबेला एउटा ट्विट गरिहालूँ भन्ने हतारो उसमा थियो। धेरैबेर लगाएर खुलेको ल्यापटपमा उसले ‘गुगल क्रोम’ खोल्यो। इन्टरनेट नभएको जनाउ पायो।
उसले रिसेप्सनिस्टलाई बोलायो– ‘इन्टरनेट के भयो?’
तीन महिनाको प्याकेज हिजै मात्र (१ गते) सकिएको जानकारी रिसेप्सनिस्टले मसिनो स्वरमा गराई।
उसले झपार्ने शैली प्रयोग गर्दैै सोध्यो– ‘किन नतिरेको त?’
केही दिनअघि आफूले पूर्वजानकारी गराएको रिसेप्सनिस्टले सम्झाई।
बिर्सेको उसैले रहेछ। उसले चेक निकाल्यो र साइन गर्न लाग्दा रिसेप्सनिस्टले रोक्दै भनी– ‘सर, यसपल्ट अलि बढी तिर्नुपर्छ होला! सरकारले इन्टरनेटमा कर बढाएको छ।’ आर्थिक वर्षको अन्त्यमा हिसाब रफादफा गर्दा उसको दिमागमा यसपल्ट खर्च कटौती गरेर बचत बढाउने सुविचार पैदा भएको थियो। त्यो सुविचारको गर्भ उक्सिन नपाउँदै इन्टरनेटको बिलका कारण पतन भइसकेको थियो।
श्रद्धेय अध्यक्ष एवं देशका प्रधानमन्त्रीले प्रतिरक्षा गर्न दिएको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने क्रममा यसरी इन्टरनेट तगारो बनिदिएपछि ऊ कामविहीन भयो। प्रतिरक्षा गर्ने नै इन्टरनेटबाट हो, त्यसकै भाउ बढाएपछि कसरी प्रतिरक्षा गर्ने? उसलाई प्रधानमन्त्रीसँग अलिअलि रिस पनि उठ्यो।
उसले सरकारले आफू र आफू जस्ताहरुको मर्का बुझ्न नसकेको महसुस गर्यो। तर, यस्ता कुरामा अलमलिरहनु उसले उचित ठानेन।
दूर गाउँमा केही दिनदेखि उसका बुवा ज्वरोले थलिएका थिए। सिटामोलको जोर नचलेपछि आज जिल्ला अस्पताल लैजाने कुरा थियो। त्यसैले घरमा फोन गरेर हालखबर बुझ्ने मनसाय बनायो।
फोनको प्रतिउत्तरमा जिल्ला अस्पतालमा डाक्टर नभेटिएको भन्ने आयो। ‘तालिममा जानुभा’छ, केही दिनमा आउनुहुन्छ रे, यहाँका स्वास्थ्यकर्मीले सहरतिर लैजानु भनेका छन्’, उसको कान्छो भाइले जस्ताको त्यस्तै सुनायो।
अघिल्लो वर्ष उसकी आमाको अनुहारको एलर्जीका लागि काठमाडौं रिफर गरिएको थियो। औषधि ८ सय ५० लागेको थियो, तर आउँदा–जाँदा १६ हजारभन्दा बढी।
स्वास्थ्य उपचारबारे गम्दै गर्दा उसले सम्झ्यो, जुम्लामा अनसनरत डा गोविन्द केसी। जसले उसको महान् सरकारलाई अप्ठ्यारो पारिरहेका छन्। उसले पनि लहलहैमा लागेर हिजोसम्म केही थान गाली डा केसीमाथि पनि बर्साएको थियो। एकाएक डा केसीका माग पढ्न मन लाग्यो। उसले मोबाइलका डाटा अन गर्यो र उसले चिनेको एउटा स्वास्थ्य पत्रकारकोे इनबक्समा म्यासेज गर्यो– ‘यार, डा केसीका मागको सूची पठाइदे न!’
डा केसीका माग घोत्लिएर पढ्दा उसले ‘दुर्गमका जनताको पहुँचमा गुणस्तरीय स्वास्थ्य उपचार हुनुपर्छ, गरिब जेहेन्दार विद्यार्थीले निःशुल्क डाक्टर बन्न पाउनुपर्छ, सबै प्रदेशमा सरकारी मेडिकल कलेज खुल्नुपर्छ, डाक्टर बन्ने पढाइ गुणस्तरीय हुनुपर्छ’ जस्ता आसय भेट्यो।
उसले विश्वास गरेन। दोहोर्याएर पढ्यो। त्यो पत्रकारलाई फोनै गरेर पनि सोध्यो। त्यसपछि त ती माग डा केसीका होइन, आफ्नै जस्ता लाग्न थाले। डा केसीले भने जस्तै कुरा पहिलेदेखि नै भइदिएको भए केके हुनसक्थ्यो? जस्तो कि, डा पढ्ने रहर र क्षमता भएको ऊ अथवा कसैले डा पढ्न पाउने थिए । छिमेकी कोही सामान्य उपचार नपाएर मर्नु पर्दैनथ्यो कि, ८ सयको उपचारका लागि १६ हजार तिर्नुपर्दैनथ्यो कि? काठमाडौंमै कोहीले खराब उपचार पाएर थप समस्या झेल्नुपर्दैनथ्यो कि? उसका दिमागमा प्रश्नवाचक जिज्ञासाका हुल आएर सेलो नाच्न थाले ।
त्यसपछि एकपल्ट आफ्नो ‘कम्युनिस्ट’ सरकारबारे गम्यो। उसलाई कम्युनिस्ट बन्न प्रेरित गर्ने साथीहरुको भनाइ सम्झ्यो। आफूले पढेका केही थान सिद्धान्तका किताबका हरफ दिमागमा ल्यायो । ती आदर्शमा विश्वस्त भएर अरुलाई सुनाएका सुनौला संसारका कथा सम्झियो। यही पार्टीको चुनावताकाको वाचा सम्झ्यो। अनि सम्झ्यो, बिहानदेखि अहिलेसम्मका आफ्ना भोगाइ।
ओहो ! सबतिर गडबड पो छ त।
त्यसपछि उसलाई लाग्यो– कि यो सरकार कम्युनिस्ट होइन, कि म होइन।
फेरि उसलाई लाग्यो– दुई तिहाइ पाएको सरकारले ‘कम्युनिस्ट’ दाबी गरिरहेको छ, मैले कसरी ऊ कम्युनिस्ट सरकार होइन भन्न सक्छु? बरु मै होइन होला!
उसले मनमनै भन्यो– मेरो नाम लक्ष्मीप्रसाद मसँग प्रशस्त पैसा भएकाले राखिएको हो र? कम्युनिस्ट त पार्टीको नाम पो त!
उसले आफूले पढेका केही कम्युनिस्ट पुस्तक, अहिले छायामा परिसकेका वा मरिसकेका केही नेताको वाणी पनि सम्झियो। अनि पक्का भयो, यो सरकार त नाम मात्रैको कम्युनिस्ट रहेछ।
उसमा एउटा विचार आयो– म त्यो खालको ‘कम्युनिस्ट’ होइन भने किन कम्युनिस्ट सरकारको प्रतिरक्षा गर्ने?
अब ऊ ‘प्रतिरक्षा’बाट प्रतिपक्षतिर धकेलियो।
फेरि उसलाई लाग्न थाल्यो– प्रतिपक्षमा त अहिले कांग्रेस छ, म कसरी कांग्रेस हुन सक्छु?
उसले आफैंलाई सोध्यो– अब म के त?
उसको मनले जवाफ दियो– यो देशका सार्वभौम नागरिक। सहीलाई सही र गलतलाई गलत भन्न सक्ने सार्वभौम नागरिक।
फेरि अर्को प्रश्न आएर निहुँ खोज्न थाल्यो– त्यसो भए हिजोसम्म के थिएँ त?
उसको मनले उसैलाई कटाक्ष गरेर भन्यो– ‘हनुमान। आफ्नो शक्ति, विवेक र स्वतन्त्रता बिर्सेको एउटा पार्टीको हनुमान!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।