काठमाडौं– वन हेल्थमा सवनेशनल लिडर्सको भूमिका सम्बन्धी उच्चस्तरीय वेबिनार भएको छ। विश्वका विभिन्न देशका सांसद, मेयर, सरकारी अधिकारी, जनस्वास्थ्य विज्ञ र नागरिक समाजका एक हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी थिए।
उनीहरूले भविष्यमा जुनोटिक रोगहरूको कारणले हुने महामारी र स्वास्थ्य प्रकोपको जोखिमलाई रोक्न तथा न्यूनीकरण गर्ने विषयमा प्रतिबद्धता जनाएका छन्।
इन्डोनेसिया गणतन्त्रका उपस्वास्थ्य मन्त्री डान्टे साक्सोनो हार्बुवोनोले आफू विभिन्न क्षेत्रहरूबीचको सञ्चार, सहकार्य र समन्वयलाई सुदृढ गर्दै लैजाने विश्वास दिलाए।
उनले भने, ‘मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणमा हामी प्रभाव पार्न सक्षम हुनेछौं। ड्राइभिङ सिटमा बस्ने सफल व्यक्तिहरूले वन हेल्थमा नेतृत्व गरेमात्र कार्यान्वयन हुन सक्छ। त्यहि भएर वन हेल्थ सम्बन्धी स्पष्ट दृष्टिकोण बनाउन मेयरहरू र अन्य नेताहरूको भूमिका महत्त्वपूर्ण हुन्छ।’
यसैगरी नेपालका पूर्व स्वास्थ्यमन्त्री तथा सांसद खगराज अधिकारीले कोभिड–१९ले संकटको बेला मात्रै नभई, अन्य समयमा पनि मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण क्षेत्रमा एकीकृत रूपमा काम गर्न चेतावनी दिएको बताए। ‘मध्यम तथा न्यून आय भएका देशहरूका लागि त झन् वन हेल्थ किफायती, दीगो र व्यवहारिक तरिका हो,’ उनले भने।
एपिक्याटका वैज्ञानिक सल्लाहकार तगा ग्लोबल प्लान टू इन्ट टिबी टास्क फोरस्का अध्यक्ष पाउला फुजीवाराले मेयरहरू र अन्य नेतृत्वले वन हेल्थ सम्बन्धी स्थानीय वैधानिकता विकास गर्न सक्ने बताए। उनले थपे, ‘जसले बहुक्षेत्रीय वन हेल्थ टास्क फोर्समात्रै निर्माण गर्दैन, एक्सन प्लान बनाउँछ र त्यसबारे वकालत र सचेतना गर्न सघाउँछ।’
एपिक्याटका सह–अध्यक्ष तथा इन्डोनेशियाको बोगर सिटीका मेयर डा. बिमा आर्या भन्छन्, ‘जस्तो उपायहरू लागू गरेर जुनोटिक रोगहरूको चुनौती सामना गर्ने योजनामा छौं। क्रस–सेक्टरहरूमा वन हेल्थ अवधारणाको परिचय र सामाजिकीकरण, निगरानी सञ्चालन, क्षमता अभिवृद्धि र एन्टी रेबिज भ्याक्सिन आदि उपलब्ध गराउन लागिपरेका छौं।’
यसैगरी डब्लुएचओका साउथ दक्षिणपूर्वी एशिया क्षेत्रका क्षेत्रीय सल्लाहकार ज्ञानेन्द्र गंगोलले वन हेल्थले मान्यता पाउँदै गएको बताए। ‘यसलाई देशस्तरमा गतिविधि चलाउने कार्यमा रुपान्तरण गर्नुपर्छ,’ उनले भने।
यसैगरी द युनियन, जुनोटिक टिबी सब–सेक्सनकी अध्यक्ष फ्रेड क्वीनले जुनोटिक टिबीका १.४ प्रतिशत मानव प्रभावित रहेको बताइन्। ‘विश्वका १ लाख ४० हजारमा देखिएको छ। प्रकोप देखिएका क्षेत्रमा सही रूपमा नमुना संकलन गर्ने र प्रयोगशाला जाँच गर्ने हो भने यो दर बढी हुन सक्छ,’ उनले भनिन्।
कम्बोडियाको क्याम्पोङ चाम प्रदेशका डेपुटी गभर्नर हान कोसलले वन हेल्थ दृष्टिकोण प्रभावकारी बनाउन नीति, शासन र नवीन नेतृत्व क्षमता, जिम्मेवारी, स्रोत र सहयोग जरुरी रहेको बताए। उनले प्रभावकारिता सुनिश्चित गर्नैपर्ने र एकअर्कासँग जोड्नैपर्ने आवश्यकता रहेको पनि बताए।
वेबिनरपछि पाँच बुँदे घोषणापत्र जारी गरिएको छ। घोषणामा स्थानीय कानुन बनाउने, बहुक्षेत्रीय कार्यदल विकास गर्ने, मानव–जनावर–वातावरण अन्तरक्रियाबाट उत्पन्न हुने स्थानीय स्वास्थ्य समस्यालाई प्राथमिकता दिने, योजना बनाउने तथा कार्यान्वयन गर्ने, वन हेल्थ नीतिको स्थानीय सरकारको प्रगति राष्ट्रिय सरकारलाई देखाएर लिंक गर्ने र सिकेका पाठ तथा उत्कृष्ट अभ्यास एक–अर्कामा बाँड्ने भनिएको छ।
वन हेल्थ अवधारणाले मानव स्वास्थ्य जनावरको स्वास्थ्य र वरिपरीको वातावरणसँग निकटतम सम्बन्ध रहेको बताउँछ। डब्लुएचओ फर एनिमल हेल्थका अनुसार ६० प्रतिशत संक्रामक रोगका कारक जनावर हुन्। यीमध्ये ७२ प्रतिशत वन्यजन्तुबाट आउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।