काठमाडौं– काठमाडौं महानगरपालिकाको पहिलो बैठकमा फोहरको विषयलाई प्राथमिकतमा राखेर मेयर बालेन शाहले ६ वटा प्रस्ताव पेश गरे। फोहरका विषयमा आफू बढी संवेदनशील रहेको दर्शाउँदै उनले यसकाे व्यवस्थापन नभएसम्म खादा र माला लगाउन नसक्ने बताए।
सुरुमा आफ्ना प्रस्ताव राख्दै उनले भने, ‘फोहर व्यवस्थापन नगरेसम्म शोकको अवस्थामा छौं। हामी कुनै न कुनै रुपमा हत्यारा भएका छौं। हामीले पाँच मिनेट फोहर व्यवस्थापनमा नछुट्याएर छिमेकी नगरपालिकालाई समस्यामा पारेका छौं। यो म मेयरका रुपमा नभइ मानवताका हिसाबले बुझ्छु।’
मेयर शाहले फोहर व्यवस्थापनका विषयमा उठाएको सवाललाई प्राय: वडाध्यक्षले गम्भीर रुपमा लिएर र व्यवस्थापनका लागि आफ्नो भूमिका सहयोगी हुने बताए।
यही क्रममा वडा २९ का अध्यक्ष कुस ढकालले भने मेयर शाहमाथि केही दबाब सिर्जना गर्ने प्रयास गरे। स्वतन्त्रबाट जितेका शाहलाई म नभनेर हामी भन्दै टिममा काम गर्न सुझाए। त्यसरी काम गर्दा आफूहरु साथ दिन तयार रहेको बताउँदै उनले घुमाउरो रुपमा दबाब सिर्जना गर्ने प्रयास गरे।
कांग्रेसबाट निर्वाचित उनले सुझाव दिँदै भने, ‘म नभनौं, हामी भनौं। म भनेर लोकप्रिय नबनौं। महानगर बनाउन साथ दिन तयार छौं।’ काठमाडौं जानी–जानी बिगारिएको भन्दै उनले बनाउन सुरु गर्नुपर्ने बताए।
उनले आमुल सुधार जरुरी भएको बताउँदै लोकप्रिय कुरा गरेर केही नहुनेसम्मका कुरा उठाए। वडा कार्यालयले २० करोड उठाउने तर १० लाख रुपैयाँका लागि समेत मेयर र प्रशासकीय प्रमुखलाई चाकडी गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे। उनले उठाएको रकमको २० देखि ४० प्रतिशत रकम वडाले नै खर्च गर्न पाउनुपर्ने समेत बताए।
ढकाललगायतलाई मेयर शाहले सकारात्मक हुन आग्रह गरे। ‘हामी केही गर्न सकिन्छ कि भनेर आएका हौं। यदि नकारात्मक सोच्थें भने म पाँच महिनाअघि नै चुनाव हारिसकेको हुन्थें। सबैले हार्छौ भन्थे,’ उनले भने, ‘जितिन्छ कि भनेर चुनाव लडेको हुँ,’ उनले भने।, ‘नकारात्मक सोच नकारात्मक हुन्छ।’
उनले वडाध्यक्षहरु र आफ्नो सोचाइमा फरक नभएको बताए। उनले आफ्ना लागि सबै बराबर भएको बताउँदै महानगर बनाउन लागिपर्ने बताए।
मेयर शाहलाई गरिएको उक्त प्रश्नको उत्तर बुझिनेगरी उपमेयर सुनिता डंगोलले दिइन्।
त्यसको उत्तर दिँदै उपमेयर डंगोलले भनिन्, ‘व्यक्ति सफल हुन आएका होइनाैं, संस्था सफल पार्न आएका हौं। काठमाडौं महानगरपालिका सफल भयो भने हामी सबै सफल हुन्छाैं।’
उनले सहमति, सहयोग र सहअस्तित्वका भावनाअनुसार अघि बढ्नुपर्ने पनि बताइन्। उनले पहिलो बैठक सफल भएको बताउँदै आगामी दिनमा अझै यसलाई थप व्यवस्थित बनाउनुपर्ने बताइन्।
प्रायः दोस्रोपल्ट वडाध्यक्ष बनेकाहरु थिए। उनीहरुले आफ्ना भनाइमा ‘अनुभवी’ रहेको बताउँदै नवनिर्वाचित मेयर र उपमेयरमाथि दबाब सिर्जना गर्ने कोशिस गरिरहे।
सौहार्द रुपमै सकिन लागेको पहिलो कार्यपालिका बैठक अन्त्यतिर भने केही तनावपूर्ण बन्याे। कार्यपालिका बैठकमा कार्यकारी अधिकृत लोकनाथ पौडेलले ‘निर्णय’ सुनाउन थालेपछि केही वडाध्यक्ष आक्रोशित भए।
विशेषगरी सरसफाइ, ढल व्यवस्थापन र कर्मचारीका बिदाका विषयमा पौडेलले सुनाएको निर्णय छलफलमा नै नआएको भन्दै काठमाडौं वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालसहितका जनप्रतिनिधि आक्रोशित भएका थिए।
त्यसपछि निर्णय नभइ आफूले प्रस्ताव राखेको भनेर पौडेलले सच्याए। शब्द नै फिर्ता लिनुपर्ने वडाध्यक्षहरुको दबाब झेल्न उनलाई मुस्किल पर्यो।
अन्त्यमा फेरि मेयर शाह नै अघि सरेर माहोल शान्त पारे। वडाध्यक्षहरुले आफूहरु कार्यपालिका सदस्य रहेको र पास नगरेसम्म अर्थ नहुने भन्दै फेरि एकपटक दबाब सिर्जना गर्ने प्रयास गरेका थिए।
केहीबेर तनावपूर्ण रहे पनि समग्रमा सकारात्मक रहेको मेयर शाहको प्रतिक्रिया थियो। उनले पहिलो बैठक सकारात्मक रहेको सबैले राम्रो कुरा राखेको उल्लेख गरे। उनले सकारात्मक हुन सबैलाई आग्रह गरे। आफूले कसैका लागि कमाइदिनुपर्ने नभएकाले त्यतातिर नलाग्ने कुरामा विश्वस्त तुल्याए। ‘मलाई कसैका लागि कमाउनुपर्ने छैन। पार्टीलाई दिनुपर्ने छैन। तपाईंको पनि त्यस्तै होस्,’ उनले थपे।
पहिलो बैठकले मतदाता र नगरबासीलाई धन्यवाद दिँदै काठमाडौं महानगरपालिकाले मेयर शाहको संयाजकत्वमा फोहर व्यवस्थापनका लागि समिति गठन गरेको छ। समितिले महानगरको फोहर व्यवस्थापन विकल्प खोज्नुका साथै उचित व्यवस्थापनका विषयमा अध्ययन गर्नेछ।
यसैगरी महानगरमा भएको शौचालयको समस्या समाधानका लागि रेस्टुरेन्ट र पेट्रोल पम्पसँग सहकार्य गर्ने निर्णय पनि गरिएको छ। त्यसका लागि सम्झौता गर्ने र बोर्ड राख्ने बताइएको छ।
यसैगरी महानगरबासीको गुनासो सुन्ने कल सेन्टर बनाउने निर्णय पनि गरिएको छ। उक्त कल सेन्टर ७ दिनभित्र बनाउने निर्णय गरिएको छ।
यसैगरी कल सेन्टरकै मातहतमा समस्या समाधानका लागि पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने पनि निर्णय गरिएको छ। सरसफाइ र ढलको समस्या समाधान गर्ने विषयमा पनि निर्णय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।