सिओल- कोरिया सरकारले मजदुरको तलबमा १० दशमलव ९ प्रतिशतले वृद्धि गरेको छ। गएराति बसेको ज्याला निर्धारण समितिको बैठकले तलब वृद्धि गर्ने निर्णय गरेको हो।
तलब वृद्धि भएसँगै आगामी जनवरी १ देखि कोरियामा कार्यरत स्वदेशी तथा विदेशी मजदुरको न्यूनतम पारिश्रमिक प्रतिघन्टा ८ हजार ३ सय ५० कोरियन वन निर्धारण भएको छ। यसअघि प्रतिघन्टा ७ हजार ५ सय ३० वन पाउँदै आएका मजदुरले तलब वृद्धि भएसँगै अब दैनिक ८ घन्टा काम गरेपछि मासिक १७ लाख ४५ हजार १ सय ५० वन (करिब १ लाख ७० हजार नेरु) पाउनेछन्।
प्रत्येक वर्ष मजदुरको तलब वृद्धि गर्दै आएको कोरिया सरकारले मुन्जेइन राष्ट्रपतिमा नियुक्त भएपछि गत वर्ष १६ दशमलव ४ प्रतिशतले वृद्धि गरेको थियो। यो वर्ष भने तलब वृद्धि गर्न सरकारी पक्ष तयार नभएपछि मजदुर संगठनहरुले लगातार आन्दोलन गर्दै आएका थिए।
गतवर्ष सरकारले तलब वृद्धिसँगै काम गर्न पाउने समय पनि निर्धारण गरेको थियो। सो नियम अनुसार हप्तामा ५२ घन्टाभन्दा धेरै काम गर्न बन्देज लगाइएको छ। ३ सय जनाभन्दा धेरै कामदार कार्यरत कम्पनीहरुमा जुलाई १ देखि यो नियम लागू भइसकेको छ भने अन्य साना तथा मझौला कम्पनीमा सन् २०२२ सम्म लागू गर्दै जाने सरकारको तयारी छ।
न्यूनतम तलब वृद्धि भए पनि काम गर्ने समय कटौती हुँदा मासिक तलब साबिकको भन्दा कम पाउने गरेको यहाँ कार्यरत मजदुरहरुको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।