अमेरिका- सोसल कमर्श प्लेटफर्म सगुनले सामाजिक कामका लागि सगुन फाउन्डेसन स्थापना गरेको छ।
सगुनका संस्थापक गोविन्द गिरीले अमेरिकामा एक कार्यक्रमबीच फाउन्डेसन स्थापनाको घोषणा गरेका हुन्। सो क्रममा गिरीले सामाजिक अभियान र कामहरुमा जोडिन फाउन्डेसन क्रियाशील हुने पनि बताए।
स्थापनासँगै फाउन्डेसनलाई सगुन कर्पोरेसनले १० लाख अमेरिकी डलर बराबरको स्वामित्व सेयर समेत छुट्याएको छ। सगुन आइपिओमा गएपछि सेयर बजारमा बिक्री गरी त्यसको प्रतिफल फाउन्डेसनले सामाजिक काममा लगाउन सक्ने गिरीले बताए।
संसारभर छरिएर रहेका नेपाली समुदाय तथा सगुनसँग नजिक रहेका समुदायलाई लक्षित गरी फाउन्डेसनले काम सुरु गर्ने जनाइएको छ। स्वास्थ्य, शिक्षा, रोजगार सिर्जना, समुदायको विकास, उद्यमशीलता विकास, प्राकृतिक विपदमा सहयोग लगायतका क्षेत्रमा फाउन्डेसनले काम गर्ने सगुनले जनाएको छ।
सगुनका सह-संस्थापक कविन्द्र सिटौलाले सगुन फाउन्डेसनको स्थापनाले आगामी दिनमा संसारभरका नेपाली समुदाय लाभान्वित हुने बताए। उनले सगुनको विस्तार हुँदै जाँदा कम्पनीको तर्फबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जाने कामलाई फाउन्डेसनले सहयोग गर्ने समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।