काठमाडौं– छोरा कृष्णप्रसाद अधिकारीको हत्यारा पक्राउ गर्न माग गर्दै वीर अस्पतालमा अनसन बसेकी गोरखाको फुजेलकी गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छिन्।
कानुनमन्त्री शेरबहादुर तामाङले दोषीलाई कारबाही गर्नेसहितका ५ बुँदामा हस्ताक्षर गर्दै अक्षरशः पालना हुने प्रतिबद्धता जनाएपछि गंगामायाले अनसन स्थगन गरेकी हुन्। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उनलाई जुस खुवाएका थिए।
सर्वोच्च अदालतको आदेश अनुसार अभियुक्तमध्येका एक छविलाल पौडेलले आत्मसमर्पण गरिसकेको र अन्य अभियुक्तलाई समेत अदालत पेस गर्ने प्रतिबद्धता सरकारले गरेपछि उनी ४५ दिनपछि अनसन रोक्न तयार भएकी थिइन्।
उनले सरकारले दोषीलाई समातेर आजीवन कैद नगरेसम्म अन्न नखाने बताउँदै सरकारलाई प्रतिबद्धता पूरा गन १० दिनको समय दिएकी छिन्। उक्त अवधिमा प्रतिबद्धता पूरा नभए ११औं दिनदेखि फेरि अनसन सुरु गर्ने चेतावनी दिएकी छिन्।
२०७० सालदेखि पटकपटक अनसन बसेकी गंगामाया पछिल्लो पटक जेठ १५ गतेदेखि अनसन बसेकी थिइन्।
छोराको हत्यारालाई कानुनी कारबाही गर्न माग गर्दै नन्दप्रसाद अधिकारीले अनसन सुरु गरेपछि २०७० साउनमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। नन्दप्रसादको अनसनकै क्रममा २०७१ असोज ६ मा निधन भएको थियो।
द्वन्द्वकालमा चितवनको रत्ननगरस्थित मामाघर जाने क्रममा २०६१ जेठ २४ गते कृष्णप्रसादलाई तत्कालीन विद्रोही माओवादीले अपहरण गरी हत्या गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।