काठमाडौं– सरकारले नेपालबाट रोजगारीका लागि मलेसिया जाने युवाको श्रम स्वीकृति तथा प्रक्रिया नै गत जेठ ३ गतेदेखि नै बन्द गरेको छ। तर, मलेसियास्थित नेपाली दूतावासबाट भने नयाँ कामदारको माग प्रमाणीकरण गर्ने क्रम जारी नै रहेको छ।
नेपालबाट मलेसिया जाने कामदारको श्रम स्वीकृति जारी गर्न बन्द गरे पनि दूतावासले एक महिनाको अवधिमा १७ हजार २ सय नयाँ कामदारको माग प्रमाणीकरण गरेको जनाएको छ।
मलेसियाका रोजगारदाता कम्पनीबाट आएका नयाँ कामदारको माग प्रमाणीकरण गर्ने काम भइरहेको मलेसियाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेलले बताए।
‘परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयबाट नयाँ कामदारको नयाँ प्रमाणीकरण रोक्न आधिकारिक पत्र प्राप्त भएको छैन, त्यसैले यहाँ प्रक्रिया अनुसार प्रमाणीकरणको काम भइरहेको छ’, उनले भने।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीमा जाने कामदारमाथि आर्थिक भार थप्दै आएका बायोमेट्रिक, भिएलएन, माइग्राम्स, जिएसजी, वानस्पट सेन्टर र ओएसी बन्द गर्ने निर्णय गरेसँगै त्यहाँ जाने कामदारको प्रक्रिया समेत बन्द भएको थियो।
श्रम मन्त्रालयले मलेसियाको रोजगारी बन्द गर्नुअघि सम्पूूर्ण प्रक्रिया पूरा गरेका कामदारका लागि भने श्रम स्वीकृति केही दिन खुला गर्ने बताउँदै आएको छ। तर, उक्त प्रक्रिया कहिले खुलाउने भन्नेबारे तय गरेको छैन। जसका कारण सबै प्रक्रिया पूरा गरेका करिब ५ हजारभन्दा बढी कामदार अन्योलपूर्ण अवस्थामा छन्।
श्रम मन्त्रालयले मलेसिया सरकारसँग कूटनीतिक पहल गर्दै उताको निर्णय पर्खिएर बसेको स्रोतको भनाइ छ। नयाँ व्यवस्था नभएसम्म मलेसियाको रोजगारी नखुलाउने श्रममन्त्री गोकर्ण विष्टले सार्वजानिक कार्याक्रममा बताउँदै आएका छन्। मलेसियासँग श्रम सम्झौता गरेर मात्र कामदारलाई आर्थिक भार नपर्ने गरी पठाउने मन्त्रीले बताइरहेका छन्।
वैदेशिक रोजगार विभागको तंथ्याक अनुसार, मासिक करिब १० हजार नेपाली युवा रोजगारीका लागि मलेसिया जाने गरेका छन्। चालू आर्थिक वर्षको ११ महिनामा ९८ हजारभन्दा बढी युवा मलेसिया पुगेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।