काठमाडौं– सुन तस्करीको पैसा रेस्टुरेन्टमा लगानी गरेको आशंकामा बाजेको सेकुवा सिलबन्दी गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
सो रेस्टुरेन्टका सञ्चालक चेतन भण्डारीकी श्रीमती नीतिमा भण्डारीले पेसा तथा व्यवसाय गर्न पाउने हक हनन गर्दै सरकारले शंकाको भरमा तालाबन्दी गरेकाले उक्त निर्णय खारेज हुनुपर्ने माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेकी हुन्।
उनको रिट आज सुनुवाइका लागि पेसी तोकिएको छ। न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा उक्त रिटको पेसी तोकिएको छ।
रेस्टुरेन्ट बन्द हुँदा सयौं मजदुरको गुजारामा असर परेको दाबी रिटमा गरिएको छ। संविधानले ग्यारेन्टी गरेको पेसा–व्यवसाय गर्न पाउने र सम्पत्तिको हक समेत हनन हुनेगरी बिनापुष्टि रेस्टुरेन्ट बन्द गरिएकाले अन्तरिम आदेश जारी गरी खुला गर्न निवेदनमा माग गरिएको छ।
गृह मन्त्रालयद्वारा गठित विशेष अनुसन्धान समितिले बाजेको सेकुवा रेस्टुरेन्टका सञ्चालक चेतनाथ भण्डारी (चेतन) ले सञ्चालन गरेका ५ वटा शाखामा जेठ ३० गते सिलबन्दी गरेको थियो। उक्त चेन रेस्टुरेन्टका अनामनगर, कमलपोखरी, बत्तीसपुतली, सोह्रखुट्टे र गैरीधारास्थित शाखा बन्द गराइएको थियो। ती शाखामा करिब ४ सय कर्मचारी कार्यरत रहेको रिट निवेदनमा उल्लेख गरिएको छ।
अनुसन्धान समितिले अदालतको आदेश लिएर भण्डारीको सम्पत्ति छानबिनका क्रममा उनका रेस्टुरेन्टहरुमा सिलबन्दी गरिएको दाबी गर्दै आएको छ।
अनुसन्धान समितिले भण्डारीलाई सुन तस्करीमा संलग्न रहेको आशंका गरेसँगै उनी फरार छन्। भण्डारी हाल अमेरिकामा छन्। न्युयोर्कमा शाखा खोल्न उनी त्यहाँ गएका बेला तस्करीमा उनको संलग्नता खुलेको हो।
भण्डारीले चुडामणि उप्रेती ‘गोरे’ सँग मिलेर सुन तस्करीमा लगानी गरेको खुलेको थियो। तस्करी गर्नेबारेका धेरै बैठक उनकै रेस्टुरेन्टमा हुने गरेको सुन तस्करीका अभियुक्तहरुले बयानमा बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।