काठमाडौं– सरकारले पूर्वसरकारले गरेका राजनीतिक नियुक्तिहरु खारेज गरेसँगै पदमुक्त भएकामध्ये १३ जना उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।
सुनुवाइको मौका नदिई हटाइएको दाबी गर्दै उनीहरु सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च पुगेका हुन्।
निवेदन दिएकामध्ये सर्वोच्चले बिहीबार दुई जनाको रिटमा सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ।
सबैभन्दा पहिले कर्जा सुरक्षण कोषका कार्यकारी निर्देशक विष्णुबाबु मिश्र सर्वोच्च पुगेका थिए। सोमबार रिट दायर गरेका उनको निवेदनको पेसी भोलिपल्ट भए पनि हेर्न नभ्याउने हुँदै बिहीबार अन्तरिम आदेश जारी भएकोे छ। मिश्रपछि नियुक्ति खारेजीको निर्णय विरुद्ध पाँच पदाधिकारी सर्वोच्च पुगेका थिए।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, राष्ट्रिय सहकारी बोर्डका सह–अध्यक्ष दक्ष पौडेल, खानेपानी विकास बोर्डका महाप्रबन्धक भूपेन्द्र प्रसाद र न्यूनतम पारिश्रमिक निर्धारण आयोगका अध्यक्ष गंगाधर पराजुली पुनर्वहालीको माग गर्दै सर्वोच्च पुगेका थिए।
उनीहरुमध्ये मिश्रका साथै झाको मुद्दामा सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सरकारलाई पनि एक सातापछि छलफलमा बोलाउँदै उक्त अवधिसम्म नियुक्ति खारेजीको निर्णय कार्यान्वयन नगर्न भनेको थियो।
बिहीबार र शुक्रबार सरकारले गैरकानुनी रुपमा पदबाट हटाएको दाबी गर्दै घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नवीनकुमार झा, एकीकृत बागमती विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले रिट दायर गरेका छन्। त्यस्तै, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, खानेपानी संस्थानको सञ्चालक समितिका सदस्यहरु लिलाराम शर्मा, भोगेन्द्र मिश्र र मिना पौडेल तथा राष्ट्रिय सहकारी विकास बोर्ड मध्यमाञ्चल विकास समितिका अध्यक्ष विमलकुमार निरौला सर्वोच्च पुगेका छन्।
उनीहरुमध्ये केहीको मुद्दाको पेसी आज रहेको छ भने बाँकीको सुनुवाइ मिति आइतबारका लागि तोकिएको छ। आज गोरखापत्र संस्थानका महाप्रबन्धक उपाध्याय, सहकारी बोर्डका सह–अध्यक्ष पौडेल, एकीकृत बागमतीका बस्नेत र घरेलु तथा साना उद्योगका झाको मुद्दा सुनुवाइ भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।