काठमाडौं– शिक्षामन्त्री गिरिराजमणी पोखरेलले राष्ट्रियसभाका सांसदहरुलाई माथेमा कार्यदलको प्रतिवेदन अध्ययन गर्न सुझाव दिएका छन्। नेपाली कांग्रेसले राखेको सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागि सांसदहरुले माथेमा कार्यदलको प्रतिवेदन के हो भनि टिप्पणी गरेपछि शिक्षामन्त्री पोखरेलले अध्ययन गर्न सुझाव दिएका हुन्।
राष्ट्रियसभामा बोल्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का सांसदहरुले माथेमा आयोगको प्रतिवेदन के हो?, पालना गर्नै पर्ने किन? भनि प्रश्न गरेका थिए। (ने क पा)का सांसद रामनारायाण विडारीलगायतले कार्यदलको प्रतिवेदनमाथि प्रश्न उठाएपछि शिक्षामन्त्रीले अध्ययन गर्न सुझाएका हुन्।
मन्त्री पोखरेलले स्वास्थ्य शिक्षालाई गुणस्तरीय र विकृतिविहिन बनाउने कुरा डा केसीको मात्र विषय नभई हामी सबैको विषय भएको टिप्पणी गरे।
‘माथेमा कार्यदलले मेहनत गरेर प्रतिवेदन दिएको थियो।’, मन्त्री पोखरेलले भने, ‘यो प्रतिवेदन सबै सांसदहरुले एकपटक अध्ययन गर्नैपर्ने देखिएको छ।’
प्रतिवेदनको अध्ययनपछि मात्र यसमा टिप्पणी गर्न उपयुक्त हुने भन्दै उनले यो प्रतिवेदनमा २३ बुँदामा समस्याहरु र १६ बुँदामा सुझावहरु समेटिएको जानकारी दिए। ‘जसले वर्तमान स्वास्थ्य अवस्थालाई झल्काएको छ।’
‘माथेमा प्रतिवेदन स्वास्थ्य शिक्षामा उच्च प्रतिवेदन हो, यसले दिन खोजेका विषय सकारात्मक छन्।’, उनले भने, ‘कानुन बनाउँदा त्यही प्रतिवेदनको मूल मर्मलाई केन्द्रमा राख्दै प्रक्रिया अगाडि बढाइएको छ।’
छलफलमा एक अर्कालाई बुझाउने भन्दा राजनीतिक कोणबाट धेरै धारणाहरु आएको भन्दै मन्त्री पोखरेलले सांसदहरुमा तथ्यहरुको जानकारी नभएको टिप्पणी गरे। ‘साथीहरुलाई थाहा नभएको होइन जानकार हुनुहुन्छ तर पार्टीको राजनीतिक कोण भन्दा यसलाई सुधार गर्ने तर्फबाट बहश भएन।’, पोखरेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।