काठमाडौं– राष्ट्रियसभाको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का सांसद कालिबहादुर मल्लले डा गोविन्द केसीको मागप्रति समर्थन जनाएका छन्। सांसद मल्लले डा केसीको मागमा हिजो र आजपनि आफू सहमत भएको तथा भर्खरमात्र विधेयक संसद सचिवालयमा दर्ता भएकाले भोलिका दिन पनि खबरदारी गर्नुपर्ने भएकाले अनसन तोड्न आग्रह गरे।
‘डाक्टर बिरामीका भगवान हुन्।’, उनले भने, ‘भगवान आँफै बाटोमा लम्पसार परे उनका भक्तको अवस्था के होला?’
राज्यलाई झक्झक्याउनु राम्रो कुरा भएको भन्दै उनले अहिले सदन र सरकारको ध्यानाकर्षण भएकाले अब अनसन तोड्नुपर्ने तर्क गरे।
‘विधेयक भर्खरमात्र दर्ता भएकाले भोलिका दिनमा अझै दबाव दिनुपर्ने हुन्छ, यसका लागि उहाँले अब अनसन तोड्न पर्दछ।’, उनले भने, ‘जनताको अभिमत संसदमा व्यक्त हुन्छ, जननिर्वाचित सांसदले कानुन बनाउने अधिकार स्वीकार गरि अब वार्तामा आउनु पर्दछ।’
तर डा केसीले अनसन नतोड्ने भनि गरेको घोषणा ‘नेपालगन्जमा छोडेको जुत्ता बसपार्कका खोजेझैँ’ भएको टिप्पणी उनले गरे। नेपालगन्जमा बस चढ्दा हराएको जुत्ता काठमाडौंको बसपार्कमा खोजेर नपाइने भएकाले डा केसीको अनसन अब अन्त्य हुनुपर्ने उनले टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।